Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हरेक बर्ष ठूलो बन्दैछ साथी कप क्रिकेट

हरेक बर्ष ठूलो बन्दैछ साथी कप क्रिकेट

नेप्लिज डायस्पोरा

८, भाद्र २०८०
images
हरेक बर्ष ठूलो बन्दैछ साथी कप क्रिकेट

रोशनबहादुर सिंह

अमेरिका


‘
साथी’ शब्दले आफैमा ठूलो महत्व बोकेको छ । मानिसको जीवनमा साथीको महत्व निकै धेरै छ । जुन बर्णन गरेर सायद अपुरो नै होला । अमेरिकाको बाल्टिमोरमा पनि 'साथी' नामक एक संस्था छ । जसले बाल्टिमोरमा रहेका नेपालीहरुलाई विभिन्न तरिकाले सहयोग गरिरहेको हुन्छ । चाहे त्यो सानै किन नहोस !

स्थापना भएदेखि नै बाल्टिमोरमा रहेका नेपालीहरुलाई विभिन्न तरिकाले सहयोग गरिरहेको साथी संस्था समयसँगै आफुलाई बृहत बनाउँदै अगाडी बढिरहेको छ । यहि संस्थाले बाल्टिमोरमा खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट गराउने उद्देश्यले तीन बर्ष अगाडी साथी कप क्रिकेट प्रतियोगिताको सुरुवात गरेको थियो ।

हुन त अमेरिकामा विभिन्न संस्थाले बिभिन्न खेलकुदका गतिविधीहरु गरिरहेका हुन्छन । जसको आफ्नै महत्व रहेको छ । तर साथी संस्थाले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले बाल्टिमोरमा नेपाली युवाहरुमाझ केहि फरकपन ल्याएको छ ।

तीन बर्ष अगाडी सुरु भएको साथी कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण अर्को महिनाको सुरुवातमा हुँदैछ । श्रम दिवसको मौका पारेर हुने गरेको यो प्रतियोगिता तेस्रो संस्करणसम्म पुग्दा धेरै किसिमले परिवर्तन भएको छ । चाहे त्यो पुरस्कार राशी होस या सहभागिता जनाउने टिमको संख्याका हिसावले।

नेपालमा क्रिकेटको क्रेज पछिल्लो पटक निकै बढिरहेका बेला क्रिकेटमा चासो राख्ने युवाहरुका लागि यो प्रतियोगिताले ठूलो महत्व राखेको छ । साथी संस्थामा आबद्ध भएका युवाहरु बाल्टिमोरमा हुने कार्यक्रम भएको खण्डमा संयमसेवक भएर सहयोग गर्ने मात्र होइन, सहयोगका लागि तयार हुने गरेका छन ।

साथी बाल्टिमोरले क्रिकेट प्रतियोगिताको आयोजना गरेपछि सो स्थानमा खेलकुदका गतिविधीहरु बढेको भन्दा कम नहोला । पहिलो संस्करणको क्रिकेट प्रतियोगिता गर्दा यसलाई सफल पार्नका लागि धेरै हातहरु अगाडी आएका थिए । सो संस्करणमा मात्र ६ टिमको सहभागिता रहेको प्रतियोगिताको पुरस्कार राशी पनि पहिलो हुनेलाई २५ सय र दोस्रो हुनेलाई १५ सय रुपैयाँ थियो । पहिलो संस्करणको प्रतियोगिता नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेटमा पुर्याएको योगदानमा समर्पण गरेको थियो । 

साथीले आफ्नो दोस्रो संस्करण क्रिकेट प्रेमी भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी रुप कार्कीको सम्झनामा समर्पण गरेको थियो । लामो समय अमेरिकामा बसेर एनआरएनएमा सक्रिय रुप कार्कीको नेपाल गएका बेला निधन भएको थियो। उनको नाम राखेर रुप स्मृती भनेर आयोजना गरेको थियो । जसको पुरस्कार राशी पहिलो संस्करणको भन्दा बढाएर पहिलो हुनेले ३५ सय र दोस्रो हुनेले दुई हजार बनाइएको थियो । जसमा टिमको संख्या पनि बढाएर आठ पुर्याइएको थियो। सो संस्करणमा यो प्रतियोगिताको पहिलो पुरस्कारका लागि घिमिरे होम्सले प्रायोजन गरेको थियो ।

यसैबीच साथीले आगामी सेप्टेम्बर दुई, तीन र चार तारिखमा तेस्रो संस्करणको खेल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा सहभागि सबै टिमहरु तयारीमा जुटेका छन । यो पटक टिम दर्ताका लागि साथी बाल्टिमोर क्रिकेट क्लबले आवेदन खुल्ला गरेको दुई घण्टामा नै पुरा भएको साथी बाल्टिमोर क्रिकेट क्लबका म्यानेजर उत्सव सिग्देलले जानकारी दिए ।

यो पटक प्रतियोगिताको पहिलो पुरस्कार पाँच हजार डलर रहेको छ भने दोस्रो पुरस्कार तीन हजार डलर रहेको छ । जसमा यो पटक पहिलो पुरस्कारको प्रायोजन अनेस्ट रियल स्टेट र यस्टिम बिल्डर्सले गरेका छन । यस्तै गोल्ड प्रायोजकमा लुसिड टाइटल रहेको छ । यस्तै विभिन्न शिर्षकमा प्रायोजनहरु पनि भित्रिएको आयोजकले बताएका छन ।

यो प्रतियोगिताका लागि सहभागि १२ वटै टिमले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन भने आयोजक टिमको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

खर्चका हिसाबले पनि यो प्रतियोगिता पहिलो संस्करण भन्दा अहिले तेब्बर नै भएको छ । यो पटक प्रतियोगिता आयोजनाका लागि खर्च करिव २० हजार डलर अनुमान गरिएको छ ।

१२ टिमले भाग लिने प्रतियोगितामा सहभागिलाई तीन समुहमा विभाजन गरिएको छ । जसमा हरेक समुहबाट एक टिम सेमिफाइनलमा प्रवेश गर्नेछन । प्रतियोगितामा अमेरिकाका विभिन्न क्षेत्रका टिमले प्रतिस्पर्धा गर्नेछ । यसअघिका दुई संस्करणमा दुबै पटक एभरेष्ट लायन्स टिम विजेता बनेको इतिहास छ ।

साथी बाल्टिमोरले क्रिकेटका माध्यमबाट बाल्टिमोरमा नै एउटा राम्रो क्रिकेट मैदानको अवधारणा अगाडी बढाएको छ । जसका लागि काउन्टिले अघिल्लो बर्ष साढे दुई लाख अमेरिकी डलर बजेट छुट्याएको थियो भने यो पटक पनि सो शिर्षकमा बजेट पारित गरेको छ । तर सो मैदानका लागि काम अगाडी बढाउन भने अझै केहि समय लाग्ने देखिएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - ०६:०८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend