रोशनबहादुर सिंह
अमेरिका
चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । वर्षा प्रभावित फाइनलमा नेपालले हङकङलाई डीएलएस मेथड अनुसार १३ रनले पराजित गरेको हो ।
मलेसियाको बायमास ओभलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनायो । यिङ चानले सर्वाधिक २९ रन जोडिन् । मरिना एन्टोनियाले १९ र यास्मिन दस्वानीले ११ रन बनाए । सानजिन साहजाद १४ र इक्रा साहर १० रनमा अविजित रहे । खुशी डंगोलले तीन, अस्मिना कर्माचार्य र कविता जोशीले एक-एक विकेट लिए ।
जवाफमा नेपालले पाँच दशमलव तीन ओभरमा एक विकेटको नोक्सानीमा ३७ रन बनाएको थियो । ओपनर काजल श्रेष्ठ शून्यमा पवेलियन फर्किएकी थिइन् । तर सीता राना मगर र इन्दू बर्माले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई अघि बढाए । इन्दू १९ र सीताले १३ रनमा क्रिजमा रहेको बेला वर्षा भयो र खेल रोकियो । खेल पुनः सुरु हुन नसकेपछि नेपाल डीएलएस मेथडमा १३ रनले च्याम्पियन बनेको हो ।
हङकङलाई लिग चरणमा पनि नेपालले ६ विकेटले हराएको थियो । नेपाली महिला सिनियर टिमले कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । यसअघि नेपालले मलेसिया र कतारसँगको दुई पक्षीय सिरिज भने जितेको थियो ।
यो प्रतियोगिता आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारीका लागि आयोजना गरिएको हो । विश्वकप छनोट भदौ १४ गतेदेखि मलेसियामा नै हुँदैछ। नेपाल रहेको समूह ए मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा हङकङ, चीन, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । फाइनल पुग्ने दुई टिमले ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि नेपालले पर्सि थाइल्यान्डसँग एक अभ्यास खेल खेल्ने तालिका छ ।
