रोशनबहादुर सिंह
अमेरिका
आइसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा घरेलु टोली मलेसियामाथि नेपालले ५ रनको रोमाञ्चक जित निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् ।
बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक÷एक विकेट लिए ।
८५ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाए ७९ रनमात्रै बनाउन सक्यो । नेपाली महिला टोलीले बलिङ र फिल्डिङ उत्कृष्ट गरेको थियो । मलेसियाका लागि विनफ्रेड डुरसिंगमले सर्वाधिक २८ रन बनाउँदा अनिना हमिजाले १४ रन जोडिन् ।
यस्तै मास इलियासले १० रन बनाउँदा महिराजा इस्माइल ९ रनमा पभेलियन फर्किए । नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई दुई विकेट लिँदा रुविना क्षेत्री र अस्मिना कर्माचार्यले एक एक विकेट लिए । मलेसियाका ३ खेलाडी रनआउट भएका थिए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।