भदौ १५ पाल्पा । दोलखा जन्म भई पैयु-२ पर्वत कर्मघर भएकी हाल लामाचौर पोखरा बस्दै आएकी साहित्यकार शर्मिला कार्की ‘शरु' को मुक्तकसंग्रह ‘पर्वतकिन्नरी’को एक भव्य कार्यक्रमका बीच लोकार्पण भएको छ । मनोहरा साहित्य समाजको ८० औं काव्य शृंखलाको अवसरमा गएको शनिबार ‘पर्वतकिन्नरी’ लोकार्पण गरिएको हो ।
वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक तथा कवि कृष्ण प्रधान, मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल लगायतले "पर्वतकिन्नरी" कृतिको संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो ।
कूल १७५ वटा मुक्तकहरू समावेश भएको "पर्वतकिन्नरी" मा मानवीय संवेदनाका विविध पक्षका मुक्तकहरू समेटिएका छन् । सामाजिक बेथिति, प्रेम प्रणयपरक तथा देशभक्तिको भावनाजस्ता प्रमुख विषय समेटिएका मुक्तकले समकालीन समाजको यथार्थ र सजीव चित्रण गर्ने समालोचक प्रधानले बताउनु भएको थियो ।
आज साँझ चरी आए, सम्मेलन गरे
आफ्नै भाषा चिर्बिरीमा सम्बोधन गरे
यिनलाई पनि चुनावकै रङ्ग लाग्या हो कि ?
गूटगत विवादजस्तो लाग्यो भनाभन गरे !
०००
गत चुनावको घोषणापत्र के भयो नेताज्यू ?
धेरै धेरै योजना थिए यत्रतत्र के भयो नेताज्यू ?
खोला, नदी उँभै फर्काउने दामी आश्वासन बिर्सिनु भो ?
पुष्टि गर्नुभयो कि आठ दुना सत्र के भयो नेताज्यू ?
०००
आफ्नै लुगा कहिले खुकुलो कहिले टिमिक्क लाग्छ
मौसम पनि कहिले प्रतिकूल कहिले ठिक्क लाग्छ
पाँच वर्षमा बल्ल गाउँमा आएका छन् नेताहरू
यिनको विगत र वर्तमान सम्झिल्याउँदा दिक्क लाग्छ ।
मुक्तककार कार्कीलाई विशिष्टिकृत हुन सुझाव दिँदै प्रधानले उहाँको सिर्जनामा साधना र समाजप्रतिको बुझाई अब्बल रहेको झल्किने धारणा राख्नुभयो ।
गजलकार ज्ञानुवाकर पौडेलले सर्जक शर्मिला कार्कीले पारिवारिक जिम्मेवारी काँधमा बोकिरहँदा पनि बाँकी समय लगाएको साहित्य सिर्जनाले नेपाली साहित्यको मुक्तक विधालाई समृद्ध बनाउन योगदान पुर्याइरहेको धारणा राख्नुभएको थियो । कार्कीलाई ‘आम नेपालीको साझा कथा र व्यथा पोख्न माहिर मुक्तककार' भनी वरिष्ठ कवयित्री उषा शेरचनले भनेको प्रसङ्ग उल्लेख गर्दै त्यसमा आफ्नो पनि सहमति रहेको उहाँको भनाइ थियो ।
मुक्तककार कार्कीले कार्यक्रमका निम्ति मनोहरा साहित्य समाज, समाजका सदस्यहरू तथा सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै आफूले सिर्जना गरे पनि अग्रज र गुरुहरूको प्रेरणाबिना यो सम्भव नरहेको धारणा रााख्नु भएको थियो ।
कार्यक्रममा ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की, ज्येष्ठ नागरिक समाजका अध्यक्ष वसन्तराज कार्की, गीतकार रमेश कार्की र पत्रकार दामोदर न्यौपाने र कृष्ण मर्सानीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सभाध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्यको साथै एक श्लोक कविता वाचनबाट उदघाटन गरिएको रचना वाचनमा रचना दाहाल, भोजराज मुखाले, रवीन्द्र आशीष, पार्वती भट्ट, शम्भु गजुरेल, निर्मलरमण पराजुली, टी.एन. भट्ट विश्वामित्र, रुद्र अधिकारी, गणेश खतिवडा, बुद्धिसागर पौडेल, रत्ननिधि रेग्मी, भुवन शिवाकोटी चौघरे, लीलाराज दाहाल, मधुसूदन लामिछाने, अप्सरा पोख्रेल, दिल पौडेल, नूरदेव खनाल, रमेश कार्की लगायतले रचना वाचन गर्नु भएको थियो ।