काठमाडौं/ काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नी श्रीमती सबिना काफ्लेमाथि प्रहरीद्वारा अनावश्यक केरकार गरेको बताएका छन् । महानगर प्रमुख शाहको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा मेयर पत्नीमाथि अनावश्यक केरकार भएको जनाएका छन् ।
शनिबार साँझ मेयरपत्नी काफ्ले महानगरको सरकारी गाडीमा स्वास्थ्य परीक्षण र अस्पतालमा उपचाररत शिशुलाई स्तनपान गराएर फर्किनेबेलामा कोटेश्वरमा प्रहरी जाँचमा परेको र उनलाई अनावश्यक सोधपुछ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिनाको शनिबार बेलुकी ७ बजे स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको र महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।
‘२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्मपत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए ।’
सवारीचालकले आफ्नो परिचयपत्र देखाएको र सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय गाडीमा नबोकेको चालकले जनाएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुखसहितको परिचय खुलाएपछि जाँचमा रहेका प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको उल्लेख छ । ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’
प्रशव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित मेयरपत्नीमाथि प्रहरीबाट गरिएको व्यवहार असभ्य र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले आपत्कालीन अवस्थाबारे जानकारी दिँदा समेत ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको विज्ञप्तिमा दाबी गरिएको छ । विज्ञप्तिमार्फत सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ रहेको र प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनुपर्छ भन्ने सुझाव दिइएको छ ।
यस्तै विज्ञप्तिमा मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार संकलन, प्रकाशन/प्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरिएको उल्लेख छ ।
मेयर शाहले फेसबुकमार्फत शनिबार राति सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । उनले महानगरको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाउने धम्कीसँगै सरकारलाई ‘चोर’को संज्ञा पनि दिएका थिए ।