राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरूलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी नपाएको भन्दै खेलाडीहरूलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल नामेबिया स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले युएईमा खेल्दा ३ लाख , नेपालले युएई पिएनजी काठमाडौँसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरूलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन । आज हामी खेलाडीहरूलाई बधाई दिँदै गर्दा डर लाग्छ कि लाग्दैन । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । खेलाडीहरूलाई दिन भनेको पैसा किन दिएको छैन त्यो दिनु पर्छ ।’