पाल्पा, २०८० भदौ १६ गते शनिबार । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको यही भदौ १६ गते १२७ औँ नियमित प्रविधिमैत्री शृङ्खला राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जयन्ती विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीज्यूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो ।
उपत्यकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरिएको थियो । युवाकवि मोतीराम भट्टका सिर्जना पनि वाचन गरिएको थियो ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा 'जिताली', पुरुषोत्तम सिग्देल, हरि खनाल, गङ्गा लिगल, खोलाघरे साहिँलो, दुष्यन्त भट्टराई, जगदीश्वर पोखरेल, सूर्यकुमार पण्डित, टेकबहादुर लौडारी, उत्तम भेटुवाल र गोमविक्रम हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित डा. 'जिताली'ले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नुभयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन । अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नुपर्दछ भन्नुभयो । युवाकवि मोतीरामले साहित्यमा गर्नु भएको योगदानको चर्चा गर्नु भयो ।
समीक्षक वरिष्ठकवि पुरुषोत्तम सिग्देलज्यूले सिर्जनामा भएका गुण र दोष केलाएर समीक्षा गर्नु भएको थियो । अध्यक्ष भुवनहरि सिग्देलले कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनुपर्छ भन्नुभयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेललेले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।