Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चलचित्र “ओपनहाईमर” ठुलो पर्दामा हेरेपछि -लक्ष्मण ज्ञवाली

चलचित्र “ओपनहाईमर” ठुलो पर्दामा हेरेपछि -लक्ष्मण ज्ञवाली

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८०
images
चलचित्र “ओपनहाईमर” ठुलो पर्दामा हेरेपछि -लक्ष्मण ज्ञवाली

 

एटोमिक बमका पिता
पढथे सधै भागवत गीता ।

संसार भर “ एटोमिक बमका पिता “ भनेर चिनिने , अमेरिकामा सर्बप्रथम क्वाण्टम फ़िज़िक्स भित्र्याउने, अमेरिकालाई एटोमिक बम बनाउने पहिलो राष्ट्रमा उभ्याउने , दोस्रो बिश्वयुद्धलाई निर्णायक बनाउने , भबिष्यमा संसारलाई नै निल्न सक्ने अनुमान गरिएको “ब्ल्याक होल“ बारे पहिलो कनसेप्ट ल्याउने,‘ संस्कृत भाषा मै भागवत गीतालाई पढ़ने बुझने र ब्यबहारमा ल्याउने, अझ आईनस्टाईन कै शब्दमा भन्ने हो भने ‘ बहुआयामिक शिक्षा र प्रतिभा भएका अस्वाभाविक रुपमा क्षमतावान ब्यक्ति ।

यस्ता बहुप्रतिभाका धनि रबर्ट ओपनहाईमर जस्ता माहान बैज्ञानिकको जीवनीमा आधारित र संसारभर नै एकैसाथ चलिरहेको चलचित्र “ ओपनहाईमर “ हालसालै ठुलो पर्दामा हेरेपछि आफुले बुझेको केहि कुरा शेयर गर्न मन लाग्यो

एक संपन्न यहुदि परिवारमा सन १९०४ मा अमेरिकाको न्यूयोर्कमा जन्मेका ओपनहाईमरको सानै उमेर देखि नै बिज्ञानमा रुचि थियो । हुने बिरुवाको चिल्लो पात भने झै अत्यन्त तेज र ति़क्ष्ण बुद्धिका ओपनहाईमरले बिद्यालयमा कक्षा जम्प गर्दै पढेका थिए । र १२ बर्ष कै उमेरमा Mineralogy बिषयमा पेपर प्रिजेण्टेसन गरेका थिए । एक्लै हिडन बस्न मन पराउने र एकान्त प्रेमी थिए । यिनको भिजन थियो माहान बैज्ञानिक हुने ।

उच्च शिक्षा अध्ययन अध्यापन:

हवार्ड बिश्वबिद्यालयको अध्ययन पछि ओपनहाईमर क्याम्ब्रिज तिर हानिए । आफ्नो रिसर्च पेपर लिएर सिधै प्रख्यात प्रोफ़ेसर रदरफ़ोर्डको सामिप्यमा रहेर काम गर्न अनुरोध गरे । तर ल्याबको काम पुरा नभएकोले रदरफ़ोर्डले लिन मानेनन बरु जेजे थोमसन संग काम गर्न भने । त्यसपछि उनि जेजे थोमसन संग ल्याबमा काम गर्न थाले । त्यहाँ पनि उनले चाहेको खोजेको बिषय संग पटक्कै मेल खाएन । किनभने ओपनहाईमरको काम थियो एलेक्ट्रोनको पोजिट्रोनमा काम गर्नु । यो सिक्ने अबस्था त्यहाँ थिएन । आफै सिक्दै गए हिम्मत हारेनन । यस्तो प्रेरणा उनले भागवत गीताको १८ अध्यायको ४७ श्लोकमा पाएका थिए ।

यिनलाई ईच्छा अनुसारको शिक्षा पाउन परिवारबाट ठुलो सहयोग मिल्यो । ओपनहाईमरले हावार्ड, क्यामब्रिज हुदै नील बोरको सल्लाह अनुसार विश्व कै प्रसिद्ध University of Gottingen जर्मनीबाट फ़िज़िक्समा पि एच डि सम्मको पढाई पुरा गरेपछि क्वान्टम फ़िज़िक्स बोकेर उनि अमेरिका फर्के ।

अमेरिका फर्केपछि यूनिवर्सिटी अफ क्यलिफोर्नियामा सहायक प्राध्यापक भई क्वाण्टम फ़िज़िक्स पढाउन सुरु गरे ।
त्यहाँ उनको मानसिक समस्या बढदो क्रममा देखा पर्न थाल्यो । पढाउने क्रममा पनि एककोहोरो ब्लैकबोर्डमा हेरिरहने , समय लंबाउने तथा बिषयबस्तुबाट बाहिर जाने गर्नाले बिद्यार्थिहरुले क्लास छोडनुको साथै उनि प्रति नजरअन्दाज गर्न थाले । उनको यो समस्या क्याम्ब्रिज देखि नै थियो ।

क्याम्ब्रिजमा स्वयं रदरफ़ोर्डले पनि पढ़ाई पुरा नभएको भनेर उनलाई गरेको रिजेक्सन र जे जे थोमसन संग ल्याबमा काम गर्दा आफुले चाहे अनुसारको परिक्षण अध्ययन गर्न नपाएको आदि सबै कारणले ओपनहाईमरलाई मानसिक तथा मनोवैज्ञानिक असर देखा पर्न थालेको थियो । अबस्था यति सम्म बिग्रियो कि उनको अबस्था देखेर चिन्तित बनेको उनको दोस्त फरगुसनले ध्यान अन्तै मोडन राम्रै कुरा गर्दा पनि उल्टै उनको घाँटि अठ्याउन पुगेका थिए ।


प्रोफ़ेसर

प्रायः गरेर प्रतिभाशाली ट्यालेण्ट र उच्च भिजन भएका ब्यक्तिहरुमा धेरै जान्ने सिक्ने अभिलाषा अति उच्च हुने गर्छ । यसमा उनिहरुले रोजे खोजे जस्तो बाताबरण मिलेन भने तुरुन्तै यसको असर मानसिक रुपमा देखिने गर्छ । ह्वेल माँछाका भुरा अक्वेरियममा बढदैनन समुद्र नै चाहिन्छ । ओपनहाईमर पनि समुद्रकै खोजिमा थिए ।अर्थात् आफुले रोजेको खोजेको विद्वान् प्रोफ़ेसरहरु मिलोस भन्ने अभिप्राय हुन्थ्यो ।

भागवत गीतासंग भेट

यहाँ उनलाई बिज्ञानले प्रगति गरायो सबै कुरा दियो तर खुसि र शान्ती दिन सकेन । मनको दुख मेटिएन । अब यस्तो खुसि र शान्ती दिने मिष्टिकल क्रिप्टिकल चिजहरुको खोजि गर्दै गर्दा हिन्दू मिथोलजी भागवत गीतामा ठोक्किन पुगे । जब उनि गीतामा जोडिन पुगे तब संहालिए भागवत गीतालाई संस्कृतमा नै राम्रो संग
बुझ्नको लागि यिनले सन १९३३ मा
वर्कलिमा विद्वान् संस्कृत प्रोफ़ेसर अर्थर डब्लु राईडर संग जोडिन पुगे । त्यहाँ यिनले गीता मात्रै नभएर माहाकबि कालिदासको काब्य मेघदूत पनि राईडर संग पढे। वास्तवमा हावार्ड देखि नै यिनले अंग्रेज़ीमा गीता पढन सुरु गरेका थिए ।

आफनो भाईलाई चिठीमा लेखेका थिए “ Gita was very easy and quite marvelous and is called the most beautiful philosophical song existing in any known tongue “
एकपटक डेविड हकीन्स समेतको
छलफलमा प्राचीन ग्रीस साहित्यको बढाईचढाई कुरा हुदा ओपनहाईमरले भनेका थिए I have read the Greeks but I find Hindus deeper. ग्रिक भन्दा पनि हिन्दू अझ धेरै गहिरो छ भनेका थिए ।

ओपनहाईमरलाई संस्कृत भाषा मन पर्थ्यो । र यो पढन कत्तिपनि कठिन लागेन कारण सानै देखि नै यिनले कठिन र गाह्रो कुरालाई मन पराउथे र आफ्नो प्राथमिकतामा राख्ने गर्थे । यिनले कतै पढेका थिए “ We must embrace pain and burn it as fuel for our journey “

भगवत गीताको प्रसंशा गर्ने ओपनहाईमर मात्रै थिएनन । डेविड थरोले आफु “ भागवत गीताको अदभूत ब्रह्माण्डीय दर्शनमा लीन भएको “ चर्चा गर्दै आधुनिक संसार र यसको साहित्य निर्बल र अपर्याप्त भएको टिप्पणी गरेका थिए । त्यस्तै ओपनहाईमरले आदर्श मान्ने दुई कबिहरु डब्लु बि वेट्स र टि एस ईलिएट्सले माहाभारतको पुरै अध्ययन गरेका थिए ।
चेर्निसल् भनेका थिए भागवत गीतालाई पढ्नु र मन पराउनुको अर्थ यिनी कुनै पनि धर्मको खोजिमा थिएनन, कुनै मन्दिरमा भगवान भनेर प्रार्थना गर्न गएनन,कुनै अध्यात्मिक क्षेत्रतिर पलायन हुन खोजेका थिएनन मात्र मानसिक शान्ति खोजेका थिए । त्यहि भेट्टाए ।यस्ता सचेत ब्यक्तिको लागि गीता उत्तम दर्शन बन्न पुग्यो ।

बहु प्रतिभाका धनि ओपनहाईमर एकै साथ बैज्ञानिक,चिन्तक,कबि ,चित्रकार सबै थिए उनले दुख र एकलोपनलाई बिषय बनाएर कबिता पनि लेखेका थिए ।
यिनको पहिलो प्रेमिका जीन ट्याटलकले आत्म हत्या गरेपछि दोस्रो बिबाह मेडिकल रिसर्चर क्याथरिन संग गरे र २ सन्तान पनि भए ।

ओपनहाईमर पनि कम्युनिस्ट बिचारधाराका थिए । तर जब रसियामा स्टालिनको तानाशाही ब्यबहार देखे तब उनको कम्युनिस्ट प्रतिको मोह टुटेको थियो । तर यसमा बिश्वास जित्न सकेनन । बरु स्पेनिस रिभोल्युसनरीलाई सपोर्ट गरेको र कम्युनिस्ट संग संबन्धित संस्थाहरु संग जोडिएको आदि जस्ता कारण देखाएर उनलाई कम्युनिस्ट भएको आरोप लागेकै थियो ।

म्यानहाटन प्रोजेक्ट र एटोमिक बम निर्माण

जर्मनीमा बैज्ञानिकहरुले यूरेनियमलाई टुक्राएर अणुबम बनाउन सक्ने र हिटलरको हातमा एटोमिक बम पर्यो भने संपूर्ण बिश्व नै ख़तरामा पार्न सक्ने चेतावनि दिदै केहि बैज्ञानिकहरुले आईनस्टाईन मार्फ़त राष्ट्रपति रुजवेल्टलाई चिठी लेखेका थिए ।

यसैको आधारमा “म्यानहाटन प्रोजेक्ट” सृजना गरिएको थियो ।यो प्रोजेक्टमा आईनस्टाईन,एनरिको फर्मि, ईडवार्ड टेलर, रिचार्ड फिनमेन आदि जस्ता १५ जना बैज्ञानिकहरुको टिम थियो । त्यसमा १२ जना यहुदि थिए । तर लेफ़्टिनेंट जनरल लिसली ग्रुभ्सले म्यानहाटन प्रोजेक्टको नामबाट संचालन हुने गरी त्यसको डाइरेक्टर वा टीम लिडर ओपनहाईमरलाई बनाए ।

प्रोजेक्ट स्विकार गर्ने कि नगर्ने भनेर एकपटक त यिनि द्विविधामा पनि परे । तर हिटलरको बढदो प्रभाव रोक्न सहमति जनाए । यो प्रोजेक्ट ओपनहाईमरको लागि चुनौती र अवसर दुबै थियो । न्युमेक्सिकोको एलामस भन्ने स्थानमा यो प्रोजेक्टको मुकाम पनि तोकियो ।

वास्तवमा हिटलरले पोलैण्डमा आक्रमण गरेर दोस्रो बिश्वयुद्धको सुरुवात गर्नुले नै ओपनहाईमरलाई एटोमिक बम निर्माण गर्न पर्ने बाध्यता तिर धकल्यो ।यो पनि सत्य होकि यदि हिटलरले दोस्रो बिश्वयुद्धमा बिध्वंसको बाटो नरोजेको भए यि आणविक उर्जाहरुको प्रयोग बमको सट्टा शक्ति उत्पादनको लागि गरिन्थ्यो ।बिडम्बना ईतिहासले अर्को मोड लियो ।

एटोमिक बम बनाउने संदर्भमा एडवार्ड टेलरको सैद्धांतिक प्रस्तावलाई नै ओपनहाईमरले उपयुक्त ठमाए । आईनस्टाईन समेत अरु बैज्ञानिकहरुको ब्यापक छलफल र निष्कर्ष पछि न्यूक्लियर फिसन हुदा चेन रियाक्सनबाट संसारै ध्वस्त हुन सक्ने अबस्थालाई जिरोमा झारेर बम बनाउन सुरु भयो । साथै १९४५ जुलाई १६ मा परिक्षण टेष्ट पनि गराईयो । र ओपनहाईमरले यो टेष्टको नाम “ ट्रिनिटि टेष्ट “ राखेका थिए ।

बिष्फोट यति भयंकर थियो कि ओपनहाईमरको मुखबाट आफसेआफ भागवत गीताको ११ रौ अध्यायको ३२ सौ श्लोक “ म संसार ध्वस्त पार्ने काल हुँ “ I am become the death and destroy of the world. भन्ने शब्दहरु आईरहेको थियो । साथै ११ रौ अध्यायको १२ श्लोकमा उल्लेख गरिएको हज्जारौ सुर्य एकसाथ चंकिदा देखिने जाज्वल्लेमान प्रकाशलाई पनि प्रत्यक्ष रुपमा तुलनात्मक अध्ययन गरेका थिए ।
वास्तवमा उनको पछिल्ला दिनहरुमा भागवत गीताले हरेक कुरालाई बहुआयामिक कोणबाट हेर्न सोच्न र बुझ्न सिकाएको थियो ।

ठीक यहि समयमा दोस्रो बिश्वयुद्ध चलिरहेको थियो । बिष्फोट परिक्षण लगत्तै अरु एटोमिक बमहरु पनि तयार गरियो । अगस्त ६ मा जापानको हिरोशिमा र नागासाकीमा अमेरिका द्वारा त्यहि एटोमिक बम खसालियो । ठुलो नरसंहार भयो । ओपनहाईमरलाई ठुलो पिडा महसुस भयो । आईनस्टाईन समेत दुबैजनाले यसको निन्दा गरे ।उनिहरुको बिचारमा यो आबश्यक्ता थिएन किनभने जर्मनी र जापानले आत्मसमर्पण गर्ने कुरा ब्यबहारमा देखाईसकेका थिए ।

त्यसपछिका दिनहरुमा ओपनहाईमर खुसि देखिएनन । उनलाई जापानमा बम खसाल्न आबश्यक्ता नै थिएन भन्ने थियो । आफ्नो हातमा ती मान्छेको रगत लागेको कुरा राष्ट्रपति रुजवेल्ट लगाएत सबै ठाँउमा बताउने पनि गरेका थिए । रुजवेल्टले त यिनलाई क्राईबेबी भनेर कोठाबाट बाहिर जान भनेका थिए ।तर यिनि बिचलित भएनन।

बरु उनलाई आगामि दिनहरुमा पनि म नै सबैको काल बन्ने भएँ भन्ने चिन्ताले पिरोल्न थाल्यो । फेरी भागवत गीतामा कृष्णले अर्जुनलाई भनेको वाक्य संझदै मैले त आफ्नो कर्म मात्रै गरेको हुँ परिणाम मेरो हातमा छैन भनेर आफैलाई संहाल्न पुग्थे ।

आख़िर मान्छे न हो जति संहालिन्छु भन्दा पनि उनिमा बिरोधाभाषले सताई रहन्थ्यो । कहिले सोच्दथे मेरै कारणले त्यतिका मान्छे अनाहकमा ज्यान गयो लगत्तै फेरी सोच्दथे आफुले बम नबनाएको भए हिटलरले बनाउने थियो र त्यो भन्दा कैयौ बढि ३२ मिलिएन मान्छेहरुको ज्यान जाने थियो त्यसैले मैले गरेको ठिक थियो । यस्तो कुराले उनलाई बारम्बार सताई रहन्थ्यो ।

कल्पना गरौ , यदि ओपनहाईमर भन्दा पहिले हिटलरका बैज्ञानिकहरुले एटोमिक बम बनाउन सफल भएको भए संसारको अबस्था कस्तो हुने थियो होला । अमेरिका, रुस, ब्रिटेन आदि कोहि पनि हिटलरको सामु टिक्ने थिएनन । साथै संसार मै नाजि जर्मनीको शासन हुने थियो र संसारको ईतिहास नै बेग्लै हुने थियो ।

हिटलर र नाजि शासनको अन्त्य गराउनुमा ओपनहाईमरको नै प्रमुख भूमिका थियो ।त्यसैले उनलाई “ एटम बमका पिता “ भनेर सम्मान पनि गरियो र संसारकै ठुला मान्छे बने ।

हाईड्रोजन बमको प्रस्ताव

दोस्रो बिश्वयुद्ध पछि जब रुसले पनि एटोमिक बमको सफल परीक्षण गर्यो । तब अमेरिका झस्कियो । कतै अब रसियाले हाइड्रोजन बम पनि बनाउने होकि भन्ने बिषयमा राष्ट्रपति रुजवेल्टलाई चिन्ता लाग्यो । साथै ओपनहाईमर रसिया संग मिलेको संका हुन थाल्यो ।

अब अमेरिकाले हाईड्रोजन बम बनाउने योजना बनायो साथै यसको लागि एउटा एटोमिक कमिसन पनि गठन गर्यो । ओपनहाईमरलाई यसको सदश्य बनाईयो ।फेरी यहि बेला रुस अमेरिकाको शीत-युद्ध पनि चुलिदै थियो । त्यसैले ओपनहाईमरलाई हाईड्रोजन बम बनाउन पर्ने प्रस्ताव र दबाव आयो । यस प्रति उनले पटक्कै चासो देखाएनन बरु उनले न्युक्लियर बम बनाउन उचित हुदैन हामीले बनायौ भने अरुले पनि बनाउन थाल्छन भनेर सार्वजनिक रुपमा बक्तब्य नै दिए ।

न्यूक्लियर बम प्रतिको सोचाईमा किन परिवर्तन भयो भन्ने एक प्रश्नको जबाफमा ओपनहाईमरले भनेका थिए मलाई महसुस भयो अमेरिकाले आफ्नो जितको लागि जुनसुकै हतियार पनि प्रयोग गर्न सक्छ । यो सर्बथा उचित हुदैन ।

कम्युनिस्टको आरोप र अदालति फैसला

अमेरिका रुस संगको शीत युद्धको अबस्थाले गर्दा उनको यो स्पीच बिबादास्पद बन्यो । ओपनहाईमर कम्युनिष्ट भएको र शोभियत युनिएन संग जोडिएको छ भन्ने चर्चा चलेको बेला उनको यो भनाईले संका गर्न थप बल पुग्यो ।
बिगतमा बामपन्थिहरु संगको उनको संबंधलाई लिएर प्रश्न गर्दै राष्ट्रीय सुरक्षाका लागि जोखिमका रुपमा प्रस्तुत गरिए पछि उनले सरकारी समिति समक्ष पनि बयान दिन परेको थियो ।
ओपनहाईमरलाई कम्युनिस्टको संग मिलेको ट्याग लगाएर अदालतमा मुद्या चलाईयो र बहस चल्दै गयो । त्यतिबेला कम्युनिस्ट हुनेलाई देखि सहिन्नथ्यो र अराष्ट्रीय बनाईन्थ्यो । उनले म अमेरिकाको माया गर्ने मान्छे हुँ भनेर जतिसुकै छाति खोलेर देखाए पनि उनको कुरा सुनिएन । अन्तिममा अदालतबाट ओपनहाईमरलाई कम्युनिस्ट भएको फ़ैसला सुनाएर उनको सेक्युरिटी खारेज गराईयो । जसले गर्दा उनको राजनैतिक प्रभाव पनि गुम्यो।

हाईड्रोजन बमको बिरोध गर्दा ओपनहाईमरले धेरै राजनीतिक शत्रुहरु कमाएका थिए । त्यसमा केहि बैज्ञानिकहरु पनि थिए । यिनलाई अझ पनि यो अबस्था सम्म पुर्याउनमा लेविसको सुरु देखि नै प्रमुख भूमिका थियो । तर पाप धुरीबाट कराउछ भने झै यसको पोल खुल्यो र आफै घरायसी बन्यो ।

वास्तवमा एउटा ईमानदार देशभक्त मान्छेलाई अराष्ट्रीय बनाईनु यो ईतिहास मै दुखद घटना थियो ।
यसरी ओपनहाईमरले बरु जुनसुकै आरोप पनि खप्न तैयार भए तर हाईड्रोजन बम बनाउनमा सहमति जनाएनन । र आफ्नो नैतिक आचरणलाई राजनीतिज्ञ संग सौदाबाजी पनि गरेनन । सहमति जनाएको भए भबिष्यमा यिनले ठुलठुला मान सम्मान, पुरस्कारहरु र मनग्य पैसा पाउन सक्थे बरु यि सबैलाई तिलांजलि दिए र आफ्नो भविष्यको सबै क्यारिएर गुमाउन तयार भए । किनभने यिनको दिमागमा आधुनिक बिज्ञान थियो भने मुटुमा भागवत गीता पनि थियो ।
यसरी आफु ईमानदार बफादार हुदा हुदै पनि मनगढ़न्ते आरोप र फैसलाले ओपनहाईमर अत्यन्त गंभीर बने ।यसको असर उनको स्वास्थ्यमा पर्यो । अझ बढि चुरोट पिउन थाले र यसैको कारण घाँटिको क्यान्सर बाट ६२ बर्षको अल्पायु मै यो संसारलाई छोडे।

ओपनहाईमर बाट सिक्ने पाठ :

* मनको शान्ती बिज्ञानले दिदैन अध्यात्मबाट आफैमा फर्किनु पर्छ ।
* सबै भन्दा कठिन कामलाई पहिलो प्राथमिकता अर्थात् फलामको चिउरा चपाउन रोज्ने ।
* कुनै पनि कामलाई सुरु गरेपछि फत्ते गरिछाडने ।
* नतिजामा होईन कर्ममा रमाउने
* कठिन काम र समस्यालाई अवसरको रुपमा लिने ।
* मनलाई होईन मुटुलाई सोधेर सधै काम गर्ने

चलचित्र संक्षेपमा

प्रख्यात निर्देशक क्रिस्टोफ़र नलोन द्वारा निर्देशित र चर्चित अभिनेता सिलिअन मर्फि द्वारा अभिनीत चलचित्र “ ओपनहाईमर” अणुबमका पिता रबर्ट ओपनहाईमरको ३० बर्षको जीवनीमा
आधारित छ ।

यो चलचित्रलाई मुख्य ३ भागमा देखाईएको छ ।पहिलोमा ओपनहाईमरको अध्ययन अध्यापन दोस्रो भागमा यिनले कसरी म्यानह्याटन प्रोजेक्टको नेतृत्व गर्दै सन १९४० को दशकमा एटम बमका पिता बन्न सफल भए भन्ने कुरा र तेस्रो भागमा उनलाई लागेका आरोप र अदालति बहस फ़ैसला आदि छन । साथै यो चलचित्रमा रोमान्स र मनोरंजन पटक्कै छैन बरु सूचनामुलक छ र धेरै कुरा जानिन्छ ।

सिलिअन मर्फिको भूमिका ज्वलन्त र बेजोड छ । उनको भित्र के भईरहेको छ, के अनुभव गरिरहेको छ भन्ने कुरा उनको अनुहार आँखा वा बडि ल्यांग्वयजले प्रष्ट देखाउछ । उनको आँखा गहिरो समुद्र जस्तै हुन्छ र यसले बर्तमान र संसारकै भबिष्यलाई पनि संकेत गर्छ ।

ओपनहाईमरले प्रेमिका जीन ट्याटलक संग शंभोग गरे लगत्तै भागवत गीता पढेको बिषयलाई लिएर भागवत गीताको अपमान गरेको भनेर भारत भर बिरोध भएको थियो तर त्यो हेराई होल टु पार्ट नभएर पार्ट टु होल भएको जस्तो लाग्यो ।

यस चलचित्रका अरु कलाकारहरु : एमलि ब्लण्ट,म्याट डामोन, रबर्ट डाउने, फ़्लोरेंस पअ, बेनि सेफडाई, माईकल एंगरानो आदि सबै कलाकार हरुको प्रस्तुति जीवन्त छ ।
यो चलचित्रमा आंईनस्टाईनलाई प्रमुख भूमिका दिईएको छैन बरु सिनियर ब्यक्तिको रुपमा सरसल्लाह र आदर गरिएको छ । यसको कारण थाहा भएन ।

घटनाहरु आधुनिक आईम्याक्स क्यामेराको प्रयोगबाट कुनै तोडमोड नगरिकन जस्ताको तस्तै देखाईएको छ । बच्चाहरुलाई निषेध गरेको यो चलचित्र ३ घण्टा समय बितेको पत्तै हुदैन ।


बाल्टिमोर
५ सेप्टेम्बर २०२३

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १७:२२:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend