Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कहिलेसम्म खेलाडीले पूर्वाधारकालागि आग्रह गर्ने !

कहिलेसम्म खेलाडीले पूर्वाधारकालागि आग्रह गर्ने !

रोशनबहादुर सिंह

२१, भाद्र २०८०
images
कहिलेसम्म खेलाडीले पूर्वाधारकालागि आग्रह गर्ने !

जब जब नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय स्तरमा कुनै ठूलो प्रतियोगिता खेल्छ वा कुनै उपाधि जित्छ, जहिलेपनि चर्चा हुनेगर्छ पूर्वाधारको । प्रतियोगिता खेलेर फकिएरपछि सधै नै क्रिकेट टिमका खेलाडीले एउटै गुनासो गर्छ अब त पूर्वाधारमा जोड दिने बेला आयो । तर उनीहरुको त्यो आग्रहको चर्चा केहि दिन हुन्छ, तर केहि दिनपछि सरोकारवाला निकाय काममा तेल हालेर बस्छ । नेपाल सरकार खेलाडीले सफलता हात पार्दा हतार हतारमा पुरस्कारको घोषणा गर्छ । तर त्यो पुरस्कार दिनका लागि पनि महिनौं लगाउछ । यतिबेला एसिया कपमा सहभागिता जनाएर फर्किएको नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले बिमानस्थलमा पत्रकारसँग कुरा गर्दा फेरी एकपटक पूर्वाधार निर्माणमा जोड दिनका लागि आग्रह गरे ।

यो शब्दबाट खेलाडीहरु वाक्क नै भइसकेका छन । नेपालमा क्रिकेटका मात्र होइन, कुनैपनि खेलका पूर्वाधार अन्तराष्ट्रिय स्तरका छैनन् । फुटबलमा दशरथ रंगशालालाई अन्तराष्ट्रिय स्तरको भनिएको छ भने क्रिकेटमा कीर्तिपुर क्रिकेट मैदानलाई । दशरथ रंगशालालाई राष्ट्रिय खेलकुद परिषद्ले हेर्ने गरेको भएपनि कीर्तिपुर मैदान टियू विश्वविध्यालयको मातहतमा छ । यसको प्रयोग गरे बाफल नेपाल क्रिकेट संघले मासिक भाडा तिर्ने गरेको छ भने सम्झौता नविकरण गर्दै गएको छ ।

एसिया कप, विश्वकप खेलिसकेको नेपालमा फ्लर्डलाईसहितको क्रिकेट मैदान छैन भन्दा अचम्म लाग्नसक्छ, तर अवस्था यहि छ । अघिल्लो बर्ष भएको नेपाल टी २० लिगमा कीर्तिपुर मैदानमा फ्लर्डलाई जोड्ने भनेर ठूलै चर्चा भएको थियो । त्यो बेला लाग्थ्यो की भोली नै कीर्तिपुर मैदान रातीको समयमा झिलिमिली हुन्छ भनेर । तर अहिलेसम्म अवस्था काग कराउँदै गर्छ पिना सुक्दै गर्छ जस्तो भएको छ ।

नेपाली क्रिकेट टिमका सफल कप्तान मानिने पारस खड्काले आफ्नो करियर सुरु गर्ने बेला मुलपानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बन्छ भनेर सुनेका थिए रे । तर उनले डेढ दशक भन्दा बढि समय क्रिकेट खेलेर, सन्यास लिएर अहिले क्रिकेटकै जिम्मेवार पदमा आइसक्दा पनि मुलपानी मैदान कहिले निर्माण सम्पन्न हुन्छ कसैलाई थाहा छैन ।

देशभर क्रिकेटका पूर्वाधार नभएको होइन, तर कतिपय मैदानहरु छ भन्नका लागि मात्र छन । पूर्वको मेची देखि सुदुरपश्चिमको बैतडीसम्म करिव करिव एक दर्जन क्रिकेट मैदानहरु छन । जसको काम सम्पन्न हुन्छ, हुन्छ भनेको पनि बर्षौ भइसक्यो । काठमाडौं कै बुढानिलकण्ठमा करिव आठ बर्ष अगाडी अर्को क्रिकेट मैदान बनाउने भनेर चर्चित नेता गगन थापाले नै शुबर्ण शमशेरको नाममा मैदानको सिलन्यास पनि गरेका थिए । तर त्यसपछि त्यो ठाँउमा बालुवाको थुप्रो बाहेक केहि छैन ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बहुचर्चित परियोजना गौतमबुद्ध क्रिकेट रंगशाला तीन बर्षमा सम्पन्न गर्ने भनेर चम्किए र काम पनि सुरु गरे । तर एक बर्ष अगाडी आर्थिक अभाव भन्दै त्यो कामपनि ठप्प भयो । अहिले भरतपुर महानगरले त्यो रंगशाला बनाउने भनेर जिम्मा लिएको छ । त्यो पनि कहिले बनेर सक्ने हो थाहा छैन ।

खेलाडीले राम्रो गरेको बेला नेताहरु पनि बिभिन्न शिर्षकमा खेलकुदका पूर्वाधारका बारेमा बोल्ने तर, त्यो चर्चा सकिएपछि सुतेर बस्ने चलन नेपालमा बर्षौ देखि चलिरहेको छ । सरकारले खेलकुद पूर्वाधार भनेर कहिलेपनि एकमुष्ट रकम छुट्याउन सकेको छैन । यतिमात्र होइन, युवा तथा खेलकुद मन्त्रालयको भागमा कुल बजेटको एक प्रतिशत पनि पर्दैन, अनि कहाँबाट पूर्वाधार बन्छन ।

भुकम्पपछि दशरथ रंगशाला पुर्ननिर्माण गर्दापनि चीनको अनुदानमा बनेको थियो । नेपाल सरकार आफैले सुरु गरेका खेलकुद पुर्वाधार योजनाहरु अहिलेसम्म कुनैपनि सम्पन्न भएका छैनन् । खेलाडीले खेल्दा बधाई र सम्मानको ओइरो लाग्छ भने हार्दा उनीहरु जतिको नराम्रो कोहि हुँदैन । यो मानसिकताले पनि नेपाली खेलकुद अगाडी बढ्न सकेको छैन । खेलाडी, प्रशिक्षकहरु जति कराएपनि सुन्य निकाय सुतेर बसेपछि कसको के लाग्छ ।

अहिले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सबैको चासो क्रिकेटमा नै थियो । एककिसिमले भन्ने हो भने नेपाल क्रिकेटमय भएको थियो । जसको मुखमा पनि क्रिकेट र खेलाडीको नाम नै थियो । कहिले क्रिकेट नहेर्ने मानिसले पनि भारत र पाकिस्तानसँगको खेल एक पटक हेरौं न त भनेर छुटाएका थिएनन् ।नेपालमा जुन तरिकाको क्रिकेटको क्रेज छ, त्यसलाई क्यास गर्नका लागि मुख्य कुरा पूर्वाधार नै हो ।

खाडी देश यूएईको क्रिकेट टिम राम्रो छैन, तर त्यो देशले क्रिकेटबाट लाखौं डलर कमाउछ । कारण दुई देशको न्यूट्रल भेन्यु बनेर । यदि भारत र पाकिस्तानले तेस्रो मुलुकमा खेल्नुपर्यो भने पहिलो रोजाई यूएई हुन्छ । किनकी त्यहाँ पुर्वाधार र सुविधा राम्रो छ । जसको फाइदा यूएईले लिइरहेको छ । यदि नेपालमा पनि पूर्वाधार राम्रो भएको खण्डमा नेपालपनि न्यूट्रल भेन्यु हुने पक्का छ । यो कुरालाई नेपाल सरकारले बुझेको हुनुपर्छ । तर आखिर किन पुर्वाधार बिकाशमा ढिलाई भइरहेको छ, यो प्रश्नको उत्तर पाउन कठिन छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०४:१६:३६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend