क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।
जिल्ला अदालतमा जारी सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा नगएपछि अर्को पेशी तोकिएको छ । अर्को पेसी भदौ २६ गतेलाई तोकिएको छ ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलाशमा रहेको पेसीमा जाहेरीकर्ता गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप कागजात झिकाउन आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।
सुनुवाइको अन्त्यमा प्रतिवादीका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्ममिति विवाद किनारा लगाउन उनको पुरानो ठेगाना काठमाडौंको शंकरापुर गाविसको सम्वन्धित वडाबाट जन्ममिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गरे । त्यसलाई स्वीकार्दै न्यायाधीश कार्कीले आदेश गरेकी छन् ।
यसअघि भदौ १० गते नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।