बाँकेको शमशेरगन्जस्थित जंगलमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । रोकिराखेको ट्रकसँग ठोकिएर भएको दुर्घटनामा परेर सख्त घाइते हुनेहरु ३० जना छन् । उनीहरु मध्ये केहिको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
बिग्रिएर मर्मतका लागि रोकिएको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले नियन्त्रण बाहिर भएर ठक्कर दिएको थियो । राति ९ बजेतिर भएको सो दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएको पुलिसले जनाएको छ । बसमा चालकसहित ४१ जना सवार थिए ।
दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन ।
बर्दियाको ठाकुरद्वाराको बेतनी सामुदायिक वन उपभोक्ता समितिका ब्यक्तिहरु बस रिजर्भ गरेर दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा सो दुर्घटना भएको हो ।