जी-२० शिखर सम्मेलनमा जारी गरिने घोषणापत्रमा सबै सदस्य मुलुक सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० बुँदे ‘नयाँदिल्ली घोषणापत्र’ मा सहमति बनेको जानकारी दिएका हुन् ।
घोषणापत्रमा मजबूत, दिगो, सन्तुलित तथा समावेशी विकास, दिगो विकास लक्ष्यमा तीव्र प्रगति, दिगो विकासका लागि हरित विकास सम्झौता रहेको छ ।
यस्तै २१ औं शताब्दिका लागि बहुपक्षीय संस्था, प्रविधि परिवर्तन र डिजिटल सार्वजनिक पूर्वाधार र लैगिक समानता, महिला तथा बालिकाको सशक्तीकरण गरिने उल्लेख छ ।
साथै, वित्तिय क्षेत्रका मुद्धा, आतंकवाद र सम्पत्ति शुद्धीकरणको सामना गर्ने र समावेशी विश्व निर्माणको विषयमा पनि सदस्य मुलुक सहमत भएका छन् ।
यसअघि गत वर्ष इन्डोनेसियामा भएको सम्मेलनमा युक्रेनमाथि रुसी आक्रमणको विषयमा नेताहरुबीच मतभेद हुँदा घोषणापत्र जारी हुन सकेको थिएन । शनिबार उद्घाटनपछि ‘एक पृथ्वी’ विषयमा पहिलो सत्र र ‘एक परिवार’ विषयमा दोस्रो सत्र आयोजना गरिएको थियो ।
मोदीले हरित ग्यास उत्सर्जन घटाउने लक्ष्य लिन र विपन्न मुलुकहरुलाई सहायता प्रदान गर्न पनि विकसित देशहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसँग जुध्न वित्तीय, प्राविधिक र पूर्वाधारमा जोड दिन पनि भारतले आग्रह गरेको छ ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु सहभागी छन् ।
शनिबारैदेखि अफ्रिकी युनियन समेत जी-ट्वेन्टीको स्थायी सदस्यका रुपमा भित्रिएको छ । तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी छैनन् ।
सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए ।