अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फाभित्र विगतमा भुसको आगोसरी सल्किएकोमा अहिले विस्फोटमात्रै भएको रुपमा बुझ्न सकिन्छ ।
एन्फाभित्र अनेक लफडाहरु छन् ती लफडाहरु बढ्दै गएपछि अहिले बाहिर रहेकाहरुले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव नै दर्ता गरेका हुन् । एन्फाले आइतबार भर्चुअलरुपमा शाधारणसभा बोलाएको थियो ।
उक्त साधारणसभा बहिष्कार गरेपछि कोरम नै पुगेन भने आजका लागि सारिएको थियो । ए,बी र सी डिभिजन लिगका क्लबहरुले एन्फाले भर्चुअल भन्दा पनि भौतिकरुपमा साधारणसभा गराउन माग गर्दै एन्फामा यसअघि पनि ज्ञापन पत्र दिएका थिए । विगतमा कोरोना महामारीका बेला भर्चुअल साधारण सभा गरेको नजिकरलाई टेक्दै अहिले पनि त्यसै अनुसार गर्ने संस्थापन पक्षको तयारी थियो । तर, कोरोना महामारी पनि नभएको र अहिले कुनै अन्य आपतकालिन अवस्था पनि नरहेकाले क्लबहरुले भौतिक उपस्थितिमा गराउन माग गरेका हुन् ।
संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४९ सदस्यले हस्ताक्षर गरेका छन् ।
उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका हुन् । संकटा क्लबका अध्यक्ष समेत रहेका पूर्व महासचिव इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए ।
तुलाधरले अवैधानिकरुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभा रोक्ने मागलाई बेवास्ता गरिएका कारण विधान अनुसार अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
उनीहरुले विशेष साधारण सभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेकोलगायतका आरोप अध्यक्ष नेम्वाङ र महासचिव राईमाथि लगाएका छन् ।
1. एन्फा विधानको मर्मविपरित आफ्नो राजनीतिक सहुलियतका लागि भाद्र २४, २०८० का दिन अनलाइनमार्फत विशेष साधारणसभा बोलाउने अवैधानिक निर्णय । एन्फा विधान विपरीत विशेष साधारणसभा गर्न प्रयत्न गरेको तथा शहिद स्मारक लिग खेल्ने बहुमत क्लबहरूले विधानअनुसार साधारणसभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएको ।
2. नयाँ आर्थिक वर्ष (आ.व. २०८०/८१) प्रारम्भ भएको दुई महिना बितिसक्दा पनि एन्फाको विधान, आर्थिक नियामवाली तथा प्रचलित नेपाल कानूनअनुसार साधारण सभाबाट बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक कारोवार गरेको।
3. एन्फाको १६ औं साधारण सभामा विभिन्न विषयहरुमा असहमति रहँदा रहँदै अवैध तवरले विषय वस्तुहरु पारित भएको घोषणा गरिएको स्पष्ट बहुमत नपुगेमा त्यस्ता विषयवस्तुलाई मतदानद्वारा निर्णयार्थ प्रस्तुत नगरि पारित गरिएको । अनुपालन समिति, अनुशासन समितिलगायतका स्वतन्त्र समितिका सदस्यहरूको विधानबमोजिम Integrity Check नगरि स्वेच्छाचारी ढंगबाट निर्णय गरिएको ।
4. बहुमत कार्यकारी सदस्यहरुले माग गरेको बुँदाहरू कार्य समितिमा छलफल नै नगरिएको वा गर्न नदिइएको।
5. यस अधिको साधारणसभाबाट पारित गरिएको योजनाहरुलाई (जस्तै पोखारामा प्रस्ताव गरिएको टेक्निकल सेन्टर) आफू अनुकिल गराउन दुराषय राखि आपतकालीन बैठकद्वारा रद्द गर्न कार्य गरेको । साधारणसभाबाट निर्णय भइसकको विषयलाई अन्यथा हुनेगरी कार्यसमितिको आपत्कालिन समितिको बैठकबाट रद्द गरी फिफालाई एन्फाको आधिकारिक निर्णय परिवर्तन भएको जानकारी गराएको।
6. साधारणसभाबाट नियुक्त हुनुपर्ने नीतिगत विषयहरुमा कार्यसमितिबाट स्वेच्छाचारी ढंगबाट निर्णय गरिएको । विधानमा स्पष्ट रूपमा लेखापरीक्षकको नियुक्ति साधारणसभाबाट हुने भनिएपनि कार्यसमितिबाट त्यस्तो नियुक्ति गर्ने निर्णय गरिएको
7. नेपाली फुटबल तथा एन्फाको अन्तर्राष्ट्रिय छविमे दाग आउने गरी फिफा विश्वकप कतारको खेलका टिकटहरु राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसीका पदाधिकारीलाई अनाधिकृतरूपमा प्रदान गरी भ्रष्ट व्यवहारमा संलग्न भएको।
8. विधानबमोजिम वार्षिक रूपमा हुनुपर्ने साधारणसभा नगरिएको ।
9. शहिद स्मारक लिगको संरचना बिगारेको, लिगहरु सञ्चालन गर्न नसकेको र राष्ट्रिय लिग गर्न नसकेको।
10. डिभिजन क्लबहरुको मताधिकार कुण्ठित गरिएको ।
11. नेपाली फुटबललाई धारासायी बनाइएको ।
12. क्लब एकेडेमी सञ्चालनमा बेवास्ता गरेको तथा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न नसकेको
13. बुटबल, धरान, च्यासल, रौतहटमा महिला एकेडेमी सञ्चालन गर्न तदारुक्ता नदेखाएको
14. अवैधरुपमा पदाधिकारी नियुक्त गरी संस्थालाई थप आर्थिक भार पुन्याएको तथा पदाधिकारीहरूलाई सेवासुविधामा आर्थिक वृद्धि गराएको
15: खेलाडी विदेश पलायन हुनबाट रोक्न कुनै पहल नगरेको
16. एएफसीको अनुदानमा सञ्चालन गर्नुपर्ने खेलाडी रिह्याव सेन्टर सञ्चालन गर्न नसकेको
17. महिला लिग तथा प्रतियोगिता सञ्चालन गर्न नसकेको
18. जिल्लाको अनुदान दिन नसकिएको तथा प्रतियोगिता गर्न नसकिएको
19. फिफाबाट आउने पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरू आयोजनाको लागि रकमान्तर गरिएको