नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा मंसिरमा हुने महासमिति बैठक केन्द्रित हुनेछ । कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज ४ का लागि केन्द्रीय कार्यसमिति बैठक सारिएको जानकारी दिए । कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो ।
साथै केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डा तय गर्ने छ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।
कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ ।
कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४, २५ र २६ गते भव्यताका साथ बीपी साहित्य महोत्सव आयोजना गर्यो । २४ र २५ गतेको सेसन सम्पन्न भए पनि २६ गतेका लागि तय भएका सेसन रोकिएका छन् । संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि कांग्रेसले बीपी साहित्व महोत्सव असोज ३ गतेसम्मका लागि स्थगित गरेको छ । असोज २ गते अन्तिम सेसनका कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।