एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जित निकाल्दै श्रीलंका फाइनलमा पुगेको छ । श्रीलंकाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ ।
कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले बर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनायो । उसकालागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित ८६ रन बनाए ।
पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए ।
ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पाकिस्तानका ओपनर फखार जमान ४ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए ।
तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए ।
मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए ।
२ सय ५२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा जमान खानको बलमा चरिथ असंलकाले पूरा गर्दै टीमलाई फाइनलमा पुर्याए ।
श्रीलंकालाई अन्तिम १२ बलमा जितको लागि १२ रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदीले ४१ औं ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि पाकिस्तानले जितको सम्भावना देखाएको थियो ।
श्रीलंकाको जितमा नायक बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए ।
सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट भए । तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
पाकिस्तानका इफ्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । शादब खानको नाममा १ विकेट रह्यो ।
भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ।