नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।
सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो। संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो।
आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरिने आन्दोलनको पहिलो बुँदामा भनिएको छ ।
दोस्रोमा हेटौंडा अस्पतालमा भएको घटनामा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न माग गरेको छ।