एनआरएनए आईसीसीका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके शर्मा)ले आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
औपचारिक रुपमा नेपालबाट अध्यक्षसहित प्यानल नै घोषणा गर्ने तयारीमा रहेका शर्माले आफ्नो कर्मभुमीबाट कतारमा आयोजित एक भव्य समारोहबाट अध्यक्षको दावी सहित उम्मेदवारी घोषणा गरेका हुन्।
लामो समयदेखि कतारमा व्यवसायिक र सामाजिक जीवन बिताईरहेका शर्मा एनआरएनएमा पनि शुरुवाती दिनदेखि नै सक्रिय छन् ।
अरु उमेद्वारहरुले नेपालमा उमेद्वारी घोषणा गरिरहेका बेला शर्माले कतार मै ५७ संस्थालाई साक्षी राखेर ०२३-०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए ।
“उहां औपचारिक रुपमा नेपालबाट अध्यक्षसहित प्यानल नै घोषणा गर्ने तयारीमा हुनुहुन्छ,” श्रोतले नेप्लिज डायस्पोरालाई भन्यो, “आफ्नो कर्मभुमीबाट अध्यक्षको दावी सहित उम्मेदवारी घोषणा गर्नुभएको छ । यो एकदम सकारात्मक सन्देश हो।”
“उहां अरबका नेपालीलाई सोधेर उठ्नु भएको छ । उहां अरबका नेपालीले भनेर उठ्नु भएको छ । यो निर्वाचनमा यसले ठूलो अर्थ राख्छ ।” श्रोतले भन्यो ।
नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा ५७ वटा संघसंस्थाको आयोजनामा भएको तीज कार्यक्रममा शर्माले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘कतारमा स्थापित सबै संघसंस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ शर्माले भने, ‘१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डासहित उम्मेदवारी घोषणा गर्नेछु ।’
उनको उम्मेदवारीले कतारका सबै सामाजिक संघसंस्थाले समर्थन जनाएका छन् । एनआरएनएको विश्व सम्मेलन अक्टोबर १७ देखि १९ सम्म हुँदैछ ।
शर्माले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै आफ्नो उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए । उनले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।