अमेरिकाले र वेस्टइन्डिजले संयुक्तरुपमा आयोजना गर्ने टी- २० विश्वकप क्रिकेटका खेलहरु न्युयोर्कमा पनि हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो खेल न्युयोर्क शहरबाट ३० माइल टाढा रहेको रंगशालामा आयोजना गर्न सहमत भएको छ । यो रंगशालामा ३० हजार मानिस अट्ने क्षमता रहेको छ । क्रिकेट वेबसाइट क्रिक बजका अनुसार विश्वकपको पहिलो खेल अमेरिकाको ब्रोंक्सको भान कोर्टल्याण्ड पार्कमा आयोजना गर्ने योजना थियो। पार्क वरपर बस्ने स्थानीयले क्रिकेट खेल्न विरोध गरिरहेका छन् । त्यसपछि अमेरिकी क्रिकेट बोर्डका अधिकारीहरूले खेललाई त्यहाँबाट न्यूयोर्क सार्ने योजना बनाउनुपरेको थियो।
अब आईसीसीले पनि सहमति दिएको छ । अमेरिकाका ३ शहरमा विश्वकप क्रिकेटका खेलहरु हुने छन् । न्युयोर्कका साथै फलोरिडा र डालसमा हुने छन् ।
२०२४ को टी-२० विश्वकपमा २० टोलीले भाग लिनेछन्। घरेलु टोली अमेरिका र वेस्ट इन्डिजसहित गत टी-२० विश्वकपमा शीर्ष ८ मा रहेका टोली यसअघि नै छनोट भइसकेका छन् । अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भएका छन् । यस हप्ता, आयरल्याण्ड, स्कटल्याण्ड र पपुवा न्यु गिनी (PNG) क्षेत्रीय छनोट मार्फत प्रतियोगितामा प्रवेश गरे।
आयरल्यान्ड र स्कटल्याण्ड युरोप क्षेत्र छनोटको शीर्ष स्थानमा छन्, जबकि पीएनजी एशिया-प्रशान्त छनोटमा शीर्ष स्थानमा छन्। प्रतियोगितामा थप ५ टोली छनोट हुनेछन् । जसमध्ये १ अमेरिकी क्वालिफायर, २ अफ्रिका र २ एसिया क्षेत्रबाट आउनेछन् । एसिया छनोटमा नेपालले पनि खेल्दै छ ।
२० टोलीलाई ५ देशको ४ समूहमा विभाजन गरिनेछ। समूह चरणमा ४० खेल हुनेछन् । सबै समूहका शीर्ष २-२ टोली सुपर-८ चरणमा पुग्नेछन्, यस चरणमा १२ खेल हुनेछन् । सुपर-८ का शीर्ष २ टोली पनि सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल ३० जुन २०२४ मा सेमिफाइनलका विजेता टोलीहरूबीच खेलाइनेछ। प्रतियोगितामा २७ दिनभित्र २ सेमिफाइनल, १ फाइनल र समूह चरणका ५२ खेल गरी कुल ५५ खेल हुनेछन् ।
सन् २०२१ र २०२२ मा भएको पछिल्लो टी-२० विश्वकपमा १६-१६ टोली थिए । ८ मध्ये ४ टोलीले क्वालिफायर खेले र सुपर १२ चरणमा प्रवेश गरेका थिए । दुवै प्रतियोगितामा ४५-४५ खेल भएका थिए । सन् २००७ मा सुरु भएको प्रतियोगितामा अब पहिलो पटक २० टोली सहभागी हुनेछन् भने पहिलो पटक हुने प्रतियोगितामा ५० भन्दा बढी खेल हुनेछन् । सन् २००७ मा भारतले पहिलो उपाधि जितेको थियो भने २०२२ मा इङ्ल्यान्ड टोली अन्तिम पटक च्याम्पियन बनेको थियो ।