बर्लिन म्याराथनमा नेपालबाट २ धावकले भाग लिने भएका छन् । जर्मनीको बर्लिनमा आइतबार हुने म्याराथनमा ४७ हजार ९ सय १२ धावकमध्ये २ जनाले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालबाट सहदेव व्यञ्जनकार र दिनेश व्यञ्जनकारले म्याराथनपा भाग लिंदैछन् । सहदेवले यसअघि सन् २०१७ मा अमेरिकाको न्युयोर्क म्याराथन र २०१९ मा सिकागो म्याराथनमा सहभागिता जनाइसकेका छन् । सहदेवले नेपालभित्र आयोजित अन्नपूर्ण १०० अल्ट्रा म्याराथन, स्तुपा टु स्तुपा ५४ किलोमिटर, फिसटेल म्याराथन सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
सहदेवसँग विश्वको सबैभन्दा अग्लो स्थानमा हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२२ सम्पन्न गरेको अनुभव छ ।
दिनेश व्यञ्जनकार पूर्व फुटबलर हुन् । उनीसँग पनि हाफ म्याराथन र १० किलोमिटर दौडेको अनुभव छ । दुबै धावकलाई नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले हालै बिदाइ गरेका थिए ।