नेपाली राष्ट्रिय क्रिकेट टोलीको नियमित सदस्य सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन प्रस्थान गरेका छन् । अदालतमा विचाराधिन मुद्दाका कारण उनी नेपाली टोलीसँगै जान पाएका थिएनन् ।
अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा १७ पटक मुद्दाको पेसी सरेपछि तनावमा परेका सन्दीप एसियन गेम्स खेल्न नजाने मनस्थिीति बनाएका थिए ।
तर, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको भेटपछि उनी चीन जान राजी भएका थिए । सुरुमा तीन जना र पछि पारस र सन्दीपबिच छुट्टै छलफल भएको थियो । त्यसपछि उनी चीन जान सहमत भएका थिए । सन्दीप आजै चीन प्रस्थान गरिसकेका छन् ।
सन्दीपसँग अर्का खेलाडी सागर ढकाल पनि गएका छन् । उनी ललित राजवंशीको स्थानमा टिममा समावेश भएका हुन् । ललित घाइते भएपछि सागरले रिप्लेस गरेका छन् । नेपालले एसियन गेम्समा समूह चरणमा मंगोलिया र जापानसँग खेल्ने छ । नेपालको खेल भोलि मंगोलियासँग रहेको छ ।