गुगलले आज अर्थात् २७ सेप्टेम्बरमा आफ्नो २५ औँ जन्मदिन मनाइरहेको छ । यसको सुरुवातको कथा पनि कम चाखलाग्दो छैन । गुगललाई लञ्च गर्ने सर्गेई ब्रिन र ल्यारी पेजको पहिलो भेट जनवरी सन् १९९७ मा स्ट्यानफोर्ड युनिभर्सिटीमा भएको थियो । गुगलको अस्तित्व उनीहरूको भेटबाट सुरु भयो र यी दुई मिलेर होस्टेलको एउटा कोठामा सर्च इन्जिन बनाउन सुरु गरे । यसको एक वर्षभित्र दुवैले आफ्नो सर्च इन्जिनको पहिलो प्रोटोटाइप बनाउन सफलता हात पारे ।
एक साधारण सर्च इन्जिन प्रोटोटाइपबाट सुरु भएको कम्पनी गुगलले पछिल्लो २५ वर्षमा करिब ६ दर्जन उत्पादन लञ्च गरेको छ, जसले मानिसको जीवन पहिलेभन्दा निकै सहज बनाएको छ ।
गुगलका ७१ उत्पादनमध्ये दर्जनौँ यस्ता छन् जसलाई हामी हाम्रो दैनिक जीवनमा व्यापक प्रयोग गर्छौँ ।
आफ्नो २५ वर्षको यात्रामा गुगल इंकले गुगल क्रोम, गुगल डक्स, एन्ड्रोइड, एन्ड्रोइड टिभी, गुगल अर्थ, क्रोमकास्ट, गुगल ड्राइभ, गुगल म्याप्स, गुगल क्यालेन्डर, गुगल मीट, जीमेल, गुगल क्लाउड, गुगल प्लेस्टोर, गुगल स्टोर इत्यादि लन्च गरेको छ ।