रोजगारीका सिलसिलामा सन् २०१८ मा कतार गएका डिल्ली उप्रेती काम गर्ने सिलसिलामा सन् २०२० मा ठूलो दुर्घटनामा परे । दुर्घटनाका क्रममा प्यारालाइज भएकाले उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेको थियो । उपचारपछि पनि काम गर्नसक्ने अवस्था भएन ।
झापा गौरादह सीतापुरी निवासी डिल्ली उप्रेतीले पनि यहाँ अनेकौं पीडा भोग्नुपर्यो । उनी विदेशमा धन कमाइ परिवारलाई सुखी राखूँला भन्ने सपना बोकेर करिब ६ वर्षअघि कतार आएका थिए ।
सुरुमा कम्पनीले खानेबस्ने व्यवस्थासँगै तलब पनि दिँदैआएको थियो । तर, पछिल्लो समय कम्पनी बन्द भएपछि विगत ६ महिनादेखि उनी तलबबिना बस्न बाध्य छन् । विगत एक महिनादेखि उनलाई खानाको पनि समस्या भएको जानकारी आएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खानाको व्यवस्था गर्दै आएको थियो ।
झापाली समाज कतारले उनको यात्राका लागि चाहिने सबै डकुमेन्ट टिकट तयार गरी बुधबार बेलुका कतारी समय ५ः३० बजे कतार एयरलाइन्सको उडानबाट नेपाल पठाउन सफल छ । उनी ह्विलचेयरको सहारा लिएर नेपाल फर्किएका हुन् ।
यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीतले भनेजस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेको छ । गत वर्ष पनि एनआरएनए कतारको समन्वयमा सल्यानको कपुरकोट गाउँपालिका घर भएका छबिलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समयमा एनआरएनए कतारले समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडाको घाउमा मलम लगाउँदै आइरहेको छ । उता, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई २०६७ सालमा दिने सुविधा अहिले समयानुकूल नभएको भन्दै वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी भइरहेको छ । मृतकका सन्ततिलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ लाख ५ हजार र १६ लाख ५ हजार प्रतिवर्ष बनाउने निर्णय भएको बताइएको छ ।