हिमालयन बाल्टिमोर युनाइटेड एफसीको आयोजनामा हुने भेट्रान फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी शनिबार र आइतबार हुने प्रतियोगिताका लागि आयोजकले आज खेल तालिका सार्वजनिक गरेको हो ।
हिमालयन बाल्टिमोर युनाइटेड एफसीको आयोजनामा हुन गइरहेको पहिलो संस्करणको प्रतियोगितामा आठ टिमका सहभागिता रहेको छ । जसमा सहभागी टीमलाई दुई समुहमा विभाजन गरिएको छ ।
आयोजकले सहभागी टिममा तीन खेलाडी ३० बर्षमाथिको र बाँकी खेलाडी ३५ बर्षको हुनुपर्ने नियम राखेको छ । यसका साथै हरेक टिममा २० खेलाडी राख्न पाउने भनिएपनि सहभागी टिमको आग्रहमा यो संख्या बढाउने बताइएको छ ।
प्रतियोगिताका लागि गोलकिपरको भने उमेर हकबन्दी तोकिएको छैन । प्रतियोगितामा आयोजक टीमसँगै पासाडेना नेप्लिज एफसी, एभरेष्ट फुटबल क्लब, नोभा भेट्रान्स, फारवेष्र्टन एफसी, बी एण्ड डी फुटबल टिम, नासो कम्युनिटी यूएसए, बाल्टिमोर एथ्लेटिक क्लबको सहभागिता रहेको छ ।
जसमा समुह ए मा आयोजक टीमसँगै पासाडेना नेप्लिज एफसी, एभरेष्ट फुटबल क्लब, नोभा भेट्रान्स रहेका छन भने समुह बी मा फारवेष्र्टन एफसी, बी एण्ड डी फुटबल टिम, नासो कम्युनिटी यूएसए, बाल्टिमोर एथ्लेटिक क्लब रहेका छन ।
लिग कप नकआउटका आधारमा हुने प्रतियोगितामा दुई समुहका शिर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन ।
प्रतियोगिताको विजेता टिमले दुई हजार पाँच सय डलर जित्नेछ भने उपविजेता टिमले एक हजार पाँच सय डलर पाउनेछ । प्रतियोगिताको आयोजनाका लागि विभिन्न प्रायोजकको साथ रहेको छ । आयोजक क्बलका अध्यक्ष नविन गुरुङले यो प्रतियोगिता आयोजना गर्नुको कारण विशेष रहेको बताए । उनले भविष्यमा युथ एकेडेमी स्थापना गर्ने लक्ष्यका साथ भेट्रान खेलाडीको प्रतियोगिता गरेर उनीहरुको बालबालिकालाई फुटबलमा आकर्षित गर्ने माध्यम बन्ने बताए । यसका साथै उनले भविष्यमा यो प्रतियोगितालाई अझ ठुलो बनाउने लक्ष्य रहेको बताए ।
आयोजकले टिमका सबै टिमलाई खेलाडी दर्ताका लागि निश्चित समयपनि दिएको छ । साथै प्रतियोगितामा सहभागि हुने खेलाडीको उमेर ठिक छ की छैन भनेर परिचयपत्रपनि जाँच गरिने बताइएको छ । दशै तिहारको उपलक्ष्यमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्न आयोजकले सबै टिमको साथ चाहिने अध्यक्ष गुरुङले बताए ।