Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रमेश विकलको स्वभाव तथा रुचि ( समालोचनात्मक अन्वेशण )

रमेश विकलको स्वभाव तथा रुचि ( समालोचनात्मक अन्वेशण )

नेप्लिज डायस्पोरा

२७, आश्विन २०८०
images
रमेश विकलको स्वभाव तथा रुचि ( समालोचनात्मक अन्वेशण )

रमेश विकलको स्वभाव तथा रुचि ( समालोचनात्मक अन्वेशण )

मानिसको रुचि बाल्यावस्थाको अभिमुखीकरण, घरायसी वातावरण र सामाजिक परिवेशले निर्धारण गर्दछ । विकलको परिवार समाजमा प्रतिष्ठित र खानदानी मध्यमवर्गीय सम्भ्रान्त परिवार थियो । बुुबाको जागिरको सिलसिलामा जिल्लाहरूको रहनसहन बुुझ्ने अवसर पनि विकलले पाएका थिए । आमाको माया नपाउने बालकको स्वभाव सोको क्षतिपूर्तिको लागि हठी र उट्पट्याङ् खालको हुन्छ । डेढ वर्षमा आमा गुमाएका विकलले मातृवात्सल्य पाएका थिएनन् । घर व्यवहारमा हजुरआमा, हजुरबुुबा, जेठीआमा, दिदीबाट माया पाए पनि आमाको माया कस्तो हुन्छ भन्ने अनुुभूतिबाट वञ्चित रहे । बुुबा सरकारी जागिरे भएकाले आरुबारी काठमाडौं आउने जाने क्रमले बुुबाको अभिभावकत्व स्वाभाविक रूपमा कम थियो । यी सबै कारणले विकलको स्वभाव र रुचिलाई बाल्यावस्थादेखिनै प्रभाव पारको थियो ।

विकलको स्वभाव पछिसम्म पनि हठी थियो । उनलाई लागेको कुरा गर्नेपर्ने बानी थियो । साथी–समूहमा आफ्नो वर्चस्व स्थापना गर्न चाहन्थे । कहिलेकाही झडङ्ग रिसाउने गर्थे । जसका कारण छोराछोरी समेत उनको नजिक पर्न डराउँथे । बुुबासँग केही भन्नुपरेमा उनले मन पराउने भाइ शेखर (जसको २०२६ सालमा पौडी खेल्ने क्रममा डुवेर मृत्युभएको थियो) र कान्छी बहिनी तारालाई अघि सार्ने गरेको प्रसङ्ग उनका जेठा छोरा विजय चालिसेले एक प्रसङ्गमा उल्लेख गरेका छन् ।

घर व्यवहार सम्हाल्ने कामबाट उनी असंलग्न जस्तै थिए । सबै काम उनकी पत्नी सुशीलाको जिम्मा थियो । अभिभावकले आफ्ना छोराछोरीमा समय दिन नसक्दा÷नदिँदा त्यसबाट बालमनोविज्ञानमा प्रतिकूल प्रभाव पर्नु स्वाभाविक थियो । भनिन्छ यसै कारण जेठो छोरा विजय चालिसेमा अन्तर्मुखी स्वभाव विकास भएको हो ।

विकलको कडा स्वभावका कारण उनका छोराछोरीले कुनै कुरा माग÷चाहना राख्ने हिम्मत गर्दैनथे । छोराछोरी चावहिल विद्यालयमा पढ्न आउँदा कहिल्यै पनि पैसा दिँदैनथे, उनीहरूको खाजाको लागि पसलमा खानेकुरा व्यवस्था गरिदिन्थे । फजुल खर्चले छोराछोरीमा गलत आदत बस्ला भन्ने चिन्ता उनमा देखिन्छ । गलत आदतमा नलागून् भनेर घरभित्र पनि कडा अनुशासन थियो । यसको एउटा दृष्टान्त जेठो छोरो विजयले उल्लेख गरेका छन् ‘एक पटक तास हो वा खोपी खेलिरहेको फेला पारेपछि उहाँले दिनुभएको कठोर झापट म अहिले पनि सम्झन्छुु । त्यो चड्कन खाएपछि भने आजपर्यन्त जुवा–तास खेलेको छैन, त्यसपछि मेरा जाँगर नै रहेन ।’ घर परिवारमा मात्र होइन, गाउँमा पनि जुवा तास, रक्सीको कुलतमा कोही नपरून् भनी अनुशासनमा रहने गर्दथे ।

कार्यालयको काममा बढी ध्यान दिने तर घर परिवारलाई समय नदिने बानी पनि विकलमा देखिन्छ । यसै कारण छोराछोरीले उचित पितृवात्सल्य पाएनन् । छोराछोरीहरूकहिले त तीन दिनसम्म पनि बुुबाको भेट पाउँदैनथे । उनी कुुनै कुरामा पनि हतारिदैनथे । काठमार्डौबाट आरुवारी हिँडेर आउन जानपथ्र्यो तर आठ नौ बजेसम्म काठमाडौंमै साहित्यिक–राजनैतिक क्रियाकलाप गरेर बस्थे, घर जान ढिला भयो भनेर साथीले भन्नुुपथ्र्यो ।

विकलमा आफूले छोरा छोरीलाई बाल्यकालमा समय नदिएको पश्चात्ताप भएको देखिन्छ । उनले लेखेका बाल साहित्य त्यसैको क्षतिपूर्तिका लागि पनि हो भन्ने गरिन्छ । छोराहरूले गरेको सिर्जनाको पाठक (अझ प्रथम पाठक) बनेर प्रेरणा दिने काम पनि उनबाट भएन । उनका छोरा विजय चालिसे बुुबाको बिँडो थाम्न साहित्यका विविध विधामा हात हाल्दै थिए तर विकलबाट खासै प्रोत्साहन र मार्गदर्शन भएको देखिदैन । बालसाहित्य लेखेपछि भने आफूूले काम गरेको संस्थामा छापिदिने, अन्यत्र छपाइदिने गर्दथे । यसले छोराहरू आफै आफ्नो अभियानमा लाग्न सक्षम होऊन् भन्ने भावना रहेको देखिन्छ ।

उनको व्यवहारमा विरोधाभास पनि देखिन्थ्यो । मानवीय पीडा र संवेदनामा द्रवित हुने तर आफ्ना विचार र निष्ठाबाट कत्ति पनि पछि नहट्ने स्वभाव थियो । उनले अपनाएको वृत्तिको परिवर्तनका शृङ्खलाले पनि यसैका परिणाम थिए भन्न सकिन्छ । साहित्य तथा राजनीतिमा राखेको अडानमा पनि यो स्वभाव देखिन्छ । त्यही कठोरपनका कारण उनी सिद्धान्त र निष्ठामा अडिग रहन सकेका थिए ।

अम्मलका रूपमा चुरोट तमाखु लिने गर्थे । २००५ सालमा अमेरिकाबाट फर्केपछि चुरोट सेवन छाडेपछि बिँडीतर्फ लत लगाए भने तमाखुको लत निरन्तर नै थियो । उनको अम्मलका लागि चावहिल गणेशस्थानबाट नियमित रूपमा तमाखु लानुु पथ्र्यो । तमाखुमा त यति लत थियो कि राति कोही उठेको थाहा पाए भने एक चिलिम तमाखुु बनाउन अराइहाल्थे ।

मीठो खाना, मासु र आलुको कबाफ पनि उनको सोख थियो । कहलेकाहीँ आफै खाना बनाउन अगिसर्थे पनि उनको बानी थियो । बर्फी र पेडा उनका प्रिय वस्तु थिए । उनको जागिर स्थल जनक शिक्षा सामग्री केन्द्र बबरमहलबाट सानोठिमी सरेपछि कार्यालयबाट फर्कदा जेठो छोरो विजय चालिसेले शहरको पेडा लगिदिने गर्थे । पेडा र बर्फी यति मन पराउँथे कि बिमारी हुँदा समेत परिवारको आँखा छलेर लुकिछिपी खान पछि पर्दैनथे ।

उनका केही अनौठा रुचि थिए, धेरै चाहनाहरू थिए, जुन आजको पुस्ताले त्यति व्यावहारिक नमान्न सक्छ । एउटा चाहनालाई उदाहरणमा लिऔं, आफ्ना चाहनालाई छोराछोरीले पनि निरन्तरता दिए हुन्थ्यो भन्ने भावना उनीमा थियो । जेठो छोरो विजयको साहित्यिक सिर्जनाबाट खुसी थिए । छोरीहरूले सङ्गीत सिकून् र प्रवीण होऊन् भन्ने चाहना थियो । बुुबाको चाहनाले आफूले भ्याइनभ्याई सितार सिक्न गएको तर सफलता हात नपारेकोले बुुबाको सपना पूरा गर्न नसकेको कुरा विकलकी माहिली छोरी अम्बिका पोखरेलले बताएकी छन् । नाति आशिषले पनि सङ्गीत सिकोस् भन्ने चाहना उनको थियो । अर्को नाति आलोकले कला सिर्जना गरोस् भन्ने चाहना राखेका थिए ।

उनका केही चाख र रुचिका कुराहरू उल्लेख गरौं । साहसिक र खतराजनक खेलहरूमा उनको रुचि थियो । अमेरिका गएर फर्केपछि पौडी खेल्ने र मोटरसाइकल चढ्ने शोख लिएको देखिन्छ । उनले तत्कालीन सोभियत सङ्घमा बनेको मोटर साइकल झिकाएका थिए । अमेरिकामा रहँदा प्रशान्त महासागरमा खुवै पौडिएको प्रसङ्ग पनि उनी र उनका परिवारको भनाइबाट थाहा हुन्छ । उनको अर्को रुचि भ्रमणमा पनि थियो । भ्रमणमा प्राकृतिक सुन्दरताको आस्वाद लिने, जनजीवन बुुझ्ने, संस्कृति र सम्पदा अन्वेषण गर्ने बानीका कारण नै सात सूूर्य एक फन्को (इन सर्च अफ साङ्ग्रिला) र नीलगिरिको छायाँमा जस्ता कृति नेपाली साहित्यले पाएको छ ।

उनमा वाद्यवादनको पनि शोख थियो । हुनत गीत गाउने सोख पनि थियो भन्ने सुनिन्छ, तर गीत गाएको रेकर्ड भेटिदैन । गीत गायनकै सोखका कारण रेडियो नेपालको स्वर परीक्षामा सहभागी भएका थिए तर सफल हुन सकेन छन् तर फुर्सदमा भ्वाइलिन, हार्मोनियम, सितार, तवला र बाँसुरी बजाउन गर्थे । बाँसुरी त उनको जीवनको साथी नै थियो, उनीसँग जहिले पनि बाँसुरी हुन्थ्यो । राति अवेलासम्म काठमाडौंमा रही राति आरुवारी आउँदा उनी मुरली बजाउदै आउँथे । रातिको साथी मुरली भएको साथीहरूलाई रमाइलो ढङ्गले बताउथेँ । मुरलीको आवाजले उनी आउँदै गरेको यतायताका मानिसहरूले थाहा पाउथे रे । घरमा आएपछि आँगनको पर्खालमा उभिएर केही मिनेट मुरली बजाएपछि मात्र घरभित्र पस्नु उनको नित्यकर्मको भाग नै थियो । मुरलीको आवाजले छोराछोरीको निद्रामा बाधा पुु¥याउँछ भन्ने कुनै चिन्ता उनमा थिएन । कतिपयहरू बाँसुरीको आधारमा नै उनलाई चिन्थे । त्यसैले बाँसुरीसँग उनको अनौठो प्रेम थियो ।

ललितकला चित्रकारितामा पनि उनको रुचि थियो । उनी रवि चालिसेका नामबाट चित्रकारी गर्दथे । बाटोमा हिड्दा हिड्दै कसैको दुरुस्त आकृति कोर्ने क्षमता थियो । उनमा कलाकारितामा कतिसम्म शोख थियो भन्ने कुरा कलाकार चन्द्रमान मास्केबाट प्रशिक्षण लिएबाट नै थाहा हुन्छ । उनले घर, विभिन्न व्यक्ति तथा वस्तुुको तेलचित्र उतारेका छन् । उनका कलाकारितामा प्रकृति स्पष्टसंग अभिव्यक्त हुन्छ । यस अर्थमा उनका कथाकारितामा पाइने यथार्थवादी सामाजिकतालाई उनका कलाले पनि पछ्याइरहेका छन् । उनले सिर्जना गरेका चित्रहरू रमेश विकल प्रतिष्ठानका भित्ताभरि सजाइएका छन् ।

उनको मूर्तिकलामा पनि औधी शोख थियो तर त्यस्ता मूर्तिहरू त्यति उपलब्ध छैनन् । प्रा.गोविन्दनारायण ज्यापू (उनका ललितकला, मूर्तिकलाका प्रशिक्षक) का अनुसार विकल मनोवैज्ञानिक तरिकाले विभिन्न वस्तुको रूप तथा आकार चित्र तथा मूर्तिहरूमा उतार्थे । मूर्ति बनाउन ठिमीको कुमालेकहाँबाट चिम्ट्याहा माटो मगाउने गर्थे र माटो मुछ्ने क्रममा माटोसँंग खेल्ने गर्थे । विकलले एकजना युवतीको अनुहार दुरुस्त आउने गरी माटोको मूर्ति बनाएका थिए, ती युवती उनले मन पराएकी नेवार्नी थिइन्, जसलाई उनले केही समय कान्छी श्रीमतीकीरूपमा अपनाएका थिए । सल्ला र उतिसका नरम काठमा बुट्टा हाल्ने शोख पनि उनमा थियो । आफूले बनाएको साँचो (डाइ) मा कार्ल माक्र्स र लियो टाल्सटायको मूर्ति पनि बनाएका थिए ।

विकलमा फोटोग्राफीको सोख पनि थियो । उनले खिचेका फोटोहरूको प्रदर्शनी नै भएको थियो । उनले खिचेका फोटोहरू कुनै व्यावसायिक फोटोग्राफरका भन्दा कत्तिपनि नराम्रा थिएनन् । पहिलेदेखि फोटो खिच्दै आएका विकलले अमेरिका अध्ययनबाट फर्किदा त्यतिबेलाको राम्रो क्यामेरा पनि लिएर आएका रहेछन् । पछि उनले कान्छो छोरो महेन्द्रबाट पेन्टाक्स क्यामेरा मगाएका थिए । यसबाट उनको सोख र रुचिका बहुविधा थिए भन्ने प्रष्ट हुन्छ ।

रमेश विकल निकै रसिक स्वभावका थिए भन्ने कुरा उनका साथी र समकालीनबाट थाहा हुन्छ । विकल कार्यालयमा आउजाउ गर्दा अमेरिकाबाट ल्याएको १७५ सि सि को होण्डा मोटरसाइकलबाट गर्दा रहेछन् । ‘आवत जावत गर्दा बाटामा राम्री तरुनी देखिए रामदाइ ह्याण्डिल छाडेर सर्टको बाहुला र टाउकोको केश मुसार्न थाल्थे’(रमेश विकल, बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३६०) भन्ने उनको मोटरसाइकालमा लिफ्ट लिएर अफिस आउजाउ गर्ने मनोजबाबु मिश्रले बताएका छन् । मिश्र उनको व्यक्तित्वलाई फिजिकल र मोटाफिजिकल, ह्यूमन पर्सनालिटी र क्रिएटिभ पर्सनालिटीका रूपमा बताउछन् ।

हठी र जिद्दीपन पनि उनको स्वभावको विशेषताथियो, आफूलाई लागेको कुरा अरूले जे भनेपनि पूरा गर्दथे, त्यो प्रत्युत्पादक नै भएपनि । अमिर थापाले एउटा प्रसङ्गमा उल्लेख गरेअनुसार नक्साल भगवती मन्दिर पश्चिममा एउटा होटेलमा एउटी ठिटी साहुनी बस्थिन् । विकल उनलाई नियाली–नियाली हेर्दै घण्टौसम्म होटेलमा बस्ने गर्दथे । त्यस केटीलाई घरमा लैजाने सोच छ के गरुँ भनेर सोधे छन् तर अमिर थापाले नलैजाने सल्लाह दिँदा हप्काउन समेत पछि परेनछन् । पछि त्यस केटीलाई घरमा लगेरै छाडेछन् । गर्छु भनेपछि गरिछाड्ने उनको अचम्मको बानी थियो, अरूले के भन्लान् भन्नेमा खासै वास्ता गर्दैनथे ।

आफूले गरेको व्यवहार, बोलेको बोलीबाट अरूलाई आघात परेका महसुुस भएमा त्यसको प्रायश्चित्त गर्ने उनको स्वभाव थियो । यसले उनी समाज र साथी सङ्गाति सबैका प्रिय थिए । यस्ता धेरै प्रसङ्गहरू भएका कुरा उनका शुुभचिन्तकहरू बताउँछन् । साथै उनी उच्च आकाङ्क्षी व्यक्ति थिए, उनका आकाङ्क्षा कति पूरा भए वा भएनन् भन्न त सकिँदैन, तर उनमा रहेको दृढ सङ्कल्प र कठोर परिश्रमका कारण सामाजिक–साहित्यिक उपलब्धि भने उच्च रूपमै हासिल गरेका थिए । उनमा उग्र राष्ट्रप्रेम थियो, देशको स्थिति र विकासप्रति असन्तोष थियो ।

साहित्यिक अध्ययन र लेखन त उनको मुख्य आदत र प्रवृत्ति नै थियो । विश्वका महान् महिलाहरूको जीवनी चित्रात्मक ढाँचामा उतार्ने पनि उनको इच्छा भएको कुरा स्रष्टा र साहित्यका लागि उत्तम कुँवरसँगको वार्तामा उल्लेख गरेका थिए । प्रज्ञा प्रतिष्ठानको कार्यावधि सकिएपछि भने उनले विश्वका उत्कृष्ट कृतिहरूको अनुवाद गर्ने इच्छामा थिए । लेख्दा लेख्दै मृत्युवरण गर्ने उनको इच्छा थियो । लेखाइ र सिर्जनालाई नै उनले आफ्नो जीवन सम्झेका थिए । अस्पतालको शय्यामा पर्नु तीनघण्टा ४५ मिनेट अघिसम्म उनी आफ्नो संस्मरण लेख्दैथिए ।

-गोपी मैनाली

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०२:४०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend