के आजको एनआरएनएका सदस्यहरूका हरकत सबै गैर आवासीय नेपालीको आम चरित्रको प्रतिनिधि हो त ? आउनुहोस् सुरेश दाइको चर्चा गरौँ र केही बुझौं ।
सुरेश दाइको नेपालमा पनि सबै राम्रै थियो। अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जागिर, चोकमै पाँच तले घर, पुर्ख्यौली सम्पत्ति! दाइको विदेश आउनु न बाध्यता थियो न त रहर नै।
पहिलो पटक त कस्तो रहेछ अमेरिका भनेर आएका सुरेश दाइ आएको केही महिनामा नै अमेरिकाको एक्लोपन र निरस जीवन देखेर वाक्क भई नेपाल फर्किएका पनि थिए। तर नेपालका आफन्त र छिमेकीहरूले "सुनौलो अवसर" गुमाएको, टिक्न नसकेको, भागेको देखी निकालिएको सम्मका गाइँगुइँ गर्न थाले पछि आफ्नै देश पराइ जस्तो भएर फेरी केही महिनामा अमेरिका नै फर्किए।
प्राविधिकदेखी अनेकौँ सिप भएका सुरेश दाइलाई अमेरिकामा राम्रो काम पाउन समय लागेन। हुन त विदेशमा कामलाई नेपालमा जस्तो 'ठुलो' 'सानो' मानिन्न तापनि सबैले रेस्टुरेन्ट या ग्यास स्टेसनमा नै दिनरात काम गर्छन् भन्ने बुझाई हेपाहा र आह्रिसे प्रवृत्तिको उपज हो।
सुरेश दाइले मिहिनेत र इमानदारीको साथ काम त गर्छन् नै सँग-सँगै काम-आराम-मनोरञ्जन बिच सन्तुलन पनि राखेका छन्।
देशको राजनीति प्रति असन्तुष्टि भए पनि भाले नबास्दै, चिप्रा नपुछ्दै प्रवासबाट नेपालका नेतालाई गाली गर्ने फुर्सद दाइलाई छैन। न त प्रवासमा आएर त्यही "फोहोरी" राजनीति दोहोर्याउने चाहना नै !
बिहानै काममा जान्छन्, दिउसो करेसाबारी र घरको सानोतिनो रिपेर गर्छन्। लुना भाउजू पनि कामबाट फर्केपछि बुढाबुढी चिया-खाजा खाँदै आफ्नो दिनभरिका देखी छोराको भविष्यका कुरा गर्छन्। बेलुका सुरेश दाइ समाचार र विश्व घटना हेर्छन् !
सप्ताह अन्तमा दाइ घुम्न नगए अरू आसपासका नेपाली दाजुभाइहरूलाई घरमा बोलाइ योमरी, गुन्द्रुकको अचार पस्कँदै तास खेल्छन्। दाइका नयाँ-नयाँ मोडलका हाइब्रिड या विद्युतीय कारमा कहिलेकाहीँ हामी जस्ता सेकेन्ड ह्यान्ड कार चढ्ने विद्यार्थीलाई पनि चढ्ने मौका मिल्छ। हामी जस्ता विद्यार्थीहरूको लागी सुरेश दाइ-लुना दिदी अभिभावक नै हुन्। दाइको ठुलो टिभीमा फुटबल, क्रिकेट र नेपाली पुराना चलचित्र हेर्न हामी सधैँ लालायित हुन्छौँ।
दाइको ठुलो टिभीमा फुटबल, क्रिकेट र नेपाली पुराना चलचित्र हेर्न हामी सधैँ लालायित हुन्छौँ। एसिया कप होस् होस् या विश्वकप सुरेश दाइको ठुलो टिभीमा हेर्न गज्जब रमाइलो हुन्छ!
म त सुरेश दाइको ठुलो टिभीको फ्यान नै हुँ।
दाइको स्क्रिन यति ठुलो छ कि १५० किमीप्रति घण्टाको गतिमा पाकिस्तानी बलरले फालेको बल सुरेश दाइको ठुलो टिभीमा ब्याट्सम्यानसम्म पुग्न १० सेकेन्ड लाग्छ। सुरेश दाइको ठुलो टिभीमा रोनाल्डोले हानेको पेनाल्टी गोल पोस्टसम्म पुग्न १५ सेकेन्ड लाग्छ। राजेश हमालले कुदेर करिश्मा मानन्धरलाई अँगालो हाल्न जाँदा सुरेश दाइको ठुलो टिभीको एक कुनाबाट मध्यसम्म पुग्न २० सेकेन्ड लाग्छ।
हामीले गैर आवासीय सम्मेलन निर्वाचनमा देखेका हर्कत हेरेर सबै गैर आवासीय नेपाली त्यस्तै होलान् भन्ने धारणा बनाउनु भूल हुने छ। आज नेपाली सातै समुन्द्र पारी छन्। गैर आवासीय नेपालीहरूको सागरमा एनआरएनएमा सम्बद्ध नेता सदस्यहरू त बगरका कंकर मात्र हुन्। सुरेशदाइ जस्ता मोती भेट्न अलि गहिराइ सम्मै पुग्नु पर्छ।
सुरेश दाइको काठमाडौँ र अमेरिकामा ठुलो घर छ, ठुला ठुला गाडी छन्, टिभीको स्क्रिन औसत नेपालीहरूको भन्दा धेरै ठुलो छ तर सबै भन्दा ठुलो सुरेश दाइको हृदय छ । जसमा नेपाल र नेपालीप्रतिको माया भरिएको छ !
एनआरएनएका केही सदस्यहरूका गैर जिम्मेवार हरकत र अराजक अभिव्यक्तिहरूले गर्दा विगत एक दशकमा यो संस्थाको साख गिर्दो छ। प्रवासमा बसेर देशको लागी एकजुट भई राष्ट्र विकाश र विपद् व्यवस्थापनमा एनआरएनएबाट विगतमा भएका प्रयासहरू आज चरम राजनीति, गुटबन्दीले गर्दा ओझेलमा परेका छन्।
नेपालका राजनैतिक दलका कार्यकर्ताहरूकै शैलीको राजनीति र नेताहरूको चाकरी जस्ता गतिविधिले गर्दा यो संस्थाप्रति युवाहरू माझ नेपालमा र प्रवासमा वितृष्णा बढ्दो छ।
धेरैको यस संस्थामा सक्रिय गैर आवासीय नेपालीहरू प्राय "नेपालमा हुँदा गर्न नसकेको" राजनीति प्रवासमा गरी आफ्नो अहङ्कार तुष्टी गर्न मात्र लागेका हुन् भन्ने भन्ने बुझाई पनि छ।