राधिका तामाङ (नाम परिवर्तन) को आर्थिक अवस्था कमजोर थियो । देशभित्रै रोजगारीको अवसर नपाएपछि उनले बिदेसिने सोच बनाइन् । सोही क्रममा उनले नितेन नाम गरेका एजेन्टलाई आफ्नो पासपोर्ट बुझाइन् । तर, उनलाई नितेनको ठेगाना त परको कुरा, पुरा नाम समेत थाहा छैन उनैको विश्वासमा परेर वैदेशिक रोजगारीका लागि कुवेत जाने र त्यहाँ पुगेर केही पैसा कमाएर सुन्दर भविष्य बनाउने सपनाका साथ राधिकाले पासपोर्ट जिम्मा लगाएकी थिइन् ।
तर, एजेन्टले विभिन्न बहाना बनाएर सेटिङमा ओमान पठाइदिए । ओमान पुगेपछि उनले बलात्कार जस्तो नसोचेको घटना भोग्नुपरेको छ ।
घरेलु कामदारमा जान सरकारले बन्द गरेको भए पनि उनलाई नक्कली कागजातको सहारामा दलालले संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै ओमान पुर्याएको पाइएको छ । ‘नेपालबाट कुवेतको लागि भनेर मेरो एजेन्टमार्फत प्रोसेस भएको थियो । त्यहीअनुसार नितेन भन्ने व्यक्तिलाई पासपोर्ट दिएको थिएँ’, उनले भनिन्, ‘उनी एजेन्ट हुन् र काठमाडौँमा बस्छन् भन्ने थाहा भए पनि अरू थाहा छैन ।’
नितेनलाई राजधानीकै शिव मन्दिर चोकमा भेटेर पासपोर्ट बुझाएपछि सुरुमा मेडिकल गराएको उनको भनाइ छ । ‘तर मेडिकल पछि उसले तिम्रो स्वास्थ्यमा (छातीमा दाग) समस्या छ । कुवेत नहुने भयो ओमानमा राम्रो काम छ त्यहीँ जाऊ भनेर भन्यो’, उनले भनिन्, ‘सोहीअनुसार गत कात्तिक १० गते यूएईको शारजाह हुँदै ओमान आएको हुँ ।’
दसैँ अगाडि नै ओमान जान पक्का हुन्छ भनेर भनेको थियो । सोही अनुसार टीकाको दिन बोलाएको पनि थियो तर त्यो दिन उड्न पाइएन’, उनले भनिन्, ‘तीन दिनपछि अर्थात कात्तिक १० गते उडेको हो ।’
राधिकाको भनाइअनुसार उनलाई दलालले सेटिङमा यूएई हुँदै ओमान पुर्याएको आशंका गरिएको छ । उनलाई विमानस्थलमा फरक फरक कागजात देखाउन भनिएको थियो भने खासै सोधपुछ पनि भएन । नेपालको अध्यागमनबाट अनुमति पाएसँगै उनी कात्तिक १० गते बिहान १० बजे एयर अरेबियाको फ्लाइटमार्फत शारजाह र त्यहाँबाट ओमानको मस्कट पुगिन् ।
हुन पनि राधिकाको भिसाको समयावधि जम्मा ३० दिनको देखिन्छ । त्यसमा श्रम भिसा भनिएको छ । यस्तो कार्य सेटिङ बिना हुन नसक्ने झाको भनाइ छ । विमानस्थलबाट दिनहुँ सेटिङको भरमा प्रस्थान अनुमति दिने गरिएको बेलाबेला चर्चा हुने गरेको बेला राधिकाको हकमा पनि त्यस्तै भएको उनको आशंका छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाललाई यसबारे बुझ्दा उनले अर्का कर्मचारीको नम्बर उपलब्ध गराए । ती कर्मचारीले भने आफूहरुले प्रक्रिया संगत ढंगले प्रस्थान अनुमति दिएको बताउँछन् । ‘इमिग्रसनको नेपाली पोर्ट सिस्टममा श्रम चेक गर्ने सिस्टम हुन्छ । श्रम कार्यालयबाट अप्रुभ भएको श्रम हाम्रो सिस्टममा देखिने हो’, उनले भने, ‘हाम्रो मान्यता के हुन्छ भने भ्यालिड श्रम खुल्छ भने हामीले पठाउने चलन हुन्छ ।’ प्रिन्ट गरेको श्रम स्वीकृतिको कागजमा राधिकाको नाम भए पनि क्युआर स्क्यान गर्दा अर्कै नाम आएको बारेमा प्रश्न गर्दा भने उनले आश्चर्य व्यक्त गरे । ‘त्यस्तो त नहुनुपर्ने । हाम्रो सिस्टममा श्रम चेक गर्दा ठीक भएपछि मात्रै हामीले अनुमति दिने हो । उनीहरुले कसरी श्रम स्वीकृति लिए त्यो हाम्रो सरोकारको विषय भएन, हाम्रो सिस्टममा देखिएपछि भयो ।’
तर, राधिकाका अनुसार विमानस्थलमा फरक फरक कागजात देखाउन भनिएअनुसार कागजात देखाएर प्रस्थान अनुमति मिलेको थियो । ‘एयर अरेबियाको उडानमार्फत यूएईको शारजाह विमानस्थल पुगेको हो’, उनको भनाइ छ, ‘विमानस्थलमा सामान्य केरकार भए पनि मैले दुबईमा मेरो दाइ छ भनेको थिएँ । सहजै छाडिदिए । शारजाह पुगेपछि त्यहाँबाट अर्को विमानमा मस्कट पुगेको हो ।’ उनीसँगै ओमान हिँडेका अन्य ५ जनाले पनि त्यसैगरी प्रवेश पाएका थिए ।
रातोपाटीबाट साभार