Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ईराकमै बिलिन भयो कुमारीको शब

ईराकमै बिलिन भयो कुमारीको शब

नेप्लिज डायस्पोरा

१३, मंसिर २०८०
images
ईराकमै बिलिन भयो कुमारीको शब

गैरकानुनी रूपमा इराक पुगेर आफ्नै कोठामा आत्महत्या गरेकी ठुलपाखर फेटा–२ सिन्धुपाल्चोक घर भएकी कुमारी लामाको इराकमै अन्तिम दाहसंस्कार गरिएको छ । गत १७ अक्टोबरका दिन आफ्नै डेरा कुर्दिस्तान अर्बिलमा मृत्यु रोजेकी लामाको मृतककै परिवारको अनुरोधमा इराकमै अन्तिम दाहसंस्कार गरिएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले गत आइतबार अर्बिलस्थित गोयर भन्ने स्थानमा मृतक लामाको प्रार्थिव शरीरलाई अन्तिम दाहसंस्कार गरिएको बताए । उनको अन्तिम दाहसंस्कार गर्न मिक्मार तामाङ, कुवेतस्थित नेपाली दूतावास, कुर्दिस्तान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख र कन्सुलर सेवाकी रूपा तामाङले सहयोग गरेको उनले बताए । १० वर्षअघि इराक पुगेकी उनी सो अवधिमा एकपटक मात्रै नेपाल आएकी थिइन् ।

‘यहाँ गैरकानुनी रूपमा आएको भए पनि उनी पछि कानुनी रूपमै बसेकी रहिछन्,’ श्रेष्ठले भने । नेपाल सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुग्ने नेपाली महिला कामदारलाई बिरामी भएको अवस्थामा औषधि उपचारको पनि समस्या हुने गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरूलाई भने फाइदा नै हुने गरेको छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । एनआरएनएले बग्दाद आसपास क्षेत्रमा घरेलु कामदारका रूपमा आउँदा धेरै विचार गरेर आउन पनि अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - ०८:५३:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend