८ अक्टोवर २०२३ बाट संचालनमा आएको अमेरिकाको न्यूजर्सि राज्यमा अबस्थित बिश्व कै दोस्रो प्रसिद्ध हिन्दू मन्दिरको रुपमा मानिएको अक्षरधाम स्वामीनारायणको मन्दिरको दर्शन अबलोकन गरे पछि यसको कला कौशलता शैली र ढाचालाई हेरेर मंत्र मुग्ध र आश्चर्य चकित मात्र होईन ती बनाउने हात र दिमागहरुलाई सलाम गर्न पनि मन लाग्यो ।साथै आफुले प्राप्त गरेको सूचना बिबरण र अनुभव बाट संक्षिप्तमा भगवान स्वामी नारायणको बारेमा र मन्दिरको स्वरुपको बारेमा केहि तस्बीर सहित दुई चार शब्द शेयर गर्न पनि जाँगर चल्यो ।
अक्षरधाम स्वामीनारायण मन्दिर:
यो भब्य कलात्मक मन्दिर निर्माण गर्न १२ बर्षको समय लाग्यो, १२५०० श्रमिक स्वयंसेवकहरुले पसिना बगाए र ९६ मिलिएन अमेरिकी डलर सिद्धियो भनेपछि अनमान गरौ यो कस्तो भब्य होला र कसरी बनेको होला !
यस मन्दिर परिसरमा अक्षरधाम मन्दिर, पारंपारिक मन्दिर, स्वागत केंद्र, संग्रहालय र कार्यक्रम स्थल रहेको छ ।
यस अक्षरधाम मन्दिरको भित्र बाहिर तल माथि चारैतिरको संपुर्ण भाग पत्थरै पत्थरमा बिभिन्न कलात्मक शैलिमा बेजोड संग निर्माण गरिएको छ । भनिन्छ यो पुरै निर्माणमा १.९ मिलियन क्यूबिक फिट सेतो ढुंगा प्रयोग भएको छ । भित्र पट्टिको बिभिन्न भागमा भारतका दीब्य माहापुरुषहरुका २०० भन्दा बढि मूर्तिहरु सेतो पत्थर मै कुदिएर सजिएका छन भने २३४ नक्शीदार स्तंभहरु , ९ अलंकृत गुंबद, गजेन्द्र पिठ र ११ फिट अग्लो नारायणको प्रतिमा रहेको छ। मन्दिर भित्र तल माथि दाँया बाँया चारैतिर देखिने ति सबै कलात्मक आर्किटेक्चरल डिज़ाइनमा बिभिन्न आकार साईज र शैलिमा कुदिएका कलात्मक बस्तुहरु ,मूर्ति कलाहरु यिनी संग संबन्धित कथा ईतिहास आदि सबैको बर्णन गर्न त हज़ार जिब्राका शेष नाग नै चाहिन्छ होला । शब्दमा बर्णन गरेर सकिदैन ।यो मन्दिरको उचाई १९१ फिट रहेको छ ।

मन्दिर परिसरले ओगटेको जग्गाको क्षेत्रफल
१८३ एकड(७४.१ हेक्टर) रहेको छ। यो अक्षरधाम मन्दिर न्यूयार्क शहर बाट ९९ किलोमीटर दक्षिण मर्सर काउण्टि ,न्यूजर्सि राज्यमा पर्दछ ।
यो मन्दिर निर्माणमा आबश्यक पर्ने मार्बल, पिंक स्टोन,ग्रनाईट,लाईम स्टोन आदि बिभिन्न प्रकारका पत्थर हरु र जनशक्ति समेत बुल्गारिया,टर्की,ग्रिस, ईटाली, भारत राजस्थान आदि मुलुकबाट ल्याईएका छन ।
अमेरिकाको न्युजर्सिमा रहेको यो स्वामी नारायण अक्षरधाम मन्दिर संसार कै दोस्रो ठुलो हिन्दू मन्दिर मानिन्छ ।
भगवान बिष्णुको मूर्ति रहेको बिश्वमा सबै भन्दा ठुलो पहिलो हिन्दू मन्दिर अंकोरभाट कंबोडियामा छ। यो क़रीब ४०२ एकड क्षेत्रफलमा रहेको छ ।

आफ्नै असल कर्मले बनाएको भगवान स्वामीनारायण:
स्वामीनारायणको जन्म बाबु धर्मदेब पाण्डे र आमा प्रेमवती पाण्डेको कोखबाट सन १७८१ मा भारत उत्तर प्रदेशको अयोध्या नजिकै छपिया गाँउमा राम नवमीको दिन भएको थियो ।उनको बच्चा अबस्थाको नाम घनश्याम पाण्डे थियो ।
शिक्षामा बिलक्षण प्रतिभा भएका यिनले ५ बर्ष बाटै पढन लेख्न सुरु गरे र १० बर्षको उमेर भित्रै धेरै शास्त्रहरुको अध्ययन गरे । ११ बर्षको उमेरमा यिनका माता-पिताको देहान्त भएपछि यिनले सन्यासि बनेर पुरै देशको परिक्रमा गरे । पछि फर्केर गुजरात आए र त्यहि आफ्नो कर्मक्षेत्र बनाए ।
उनले आफ्नो देश दर्शनको दौरानमा देशमा ब्याप्त बिभिन्न अन्धविश्वास र कुरितीहरु यज्ञमा हिंसा,बलि प्रथा,सति प्रथा,कन्या हत्या,भूत बाधा जस्ता सामाजिक कुरीतिहरुलाई बन्द गराउनमा ठुलो योगदान गरे । आफ्ना शिष्यहरुलाई मासु, मदिरा,चोरी,ब्यभिचार हरुको त्याग तथा स्वधर्मको पालना गर्ने जस्ता ५ कुरामा ब्रत लिन र कठोरताका साथ पालना गर्न भने ।
आईपरेको अप्ठ्यारो र प्रकृतिक बिपदको बेला आफ्ना अनुयायी हरुलाई पुरै निष्ठा एवं बिना भेदभाव र बिना स्वार्थ सबैको सहयोग गर्न आदेश दिए । यिनले श्रमदानमा स्वयं आफै पनि खटिएर अनेकौ मन्दिरहरुको निर्माण गराए । त्यसपछि यिनको ख्याति प्रसिद्धि जताततै फैलियो र समाजमा यिनलाई सबैले भगवानको अवतार नै मान्न थाले र निलकण्ठबर्णिको नामले पुकार्न थाले ।

यिनको कृयाकलाप र प्रसिद्धिबाट प्रभावित भएर निलकंठ बर्णिलाई उनका गुरु स्वामी रामानंदले दिक्षा दिएर उनको नाम सहजानन्द स्वामी राखिदिए र त्यसको एक बर्ष पछि आफ्नो संप्रदायको आचार्य पद पनि सुम्पिए । यसरी स्वामी रामानन्द पछि सहजाननद स्वामी हिन्दू धर्मको स्वामीनारायण संप्रदायको संस्थापक बन्न पुगे ।
यसपछि गाँउ गाँउ घर घर घुमेर सबैलाई स्वामीनारायण मंत्र स्वयं आफुले पनि जप्ने र अरुलाई पनि जप्न लगाए । पछि एक सभाको आयोजना गरेर स्वामी नारायण मंत्र पढाए । यसपछि यिनै सहजानंद स्वामीलाई भगवान स्वामीनारायण को रुपमा मान्न थालियो ।
यसप्रकार एउटा साधारण घनश्याम पाण्डे बाट निलकंठबर्णि, पुरुषोतम सहजानंद स्वामी हुदै भगवान स्वामी नारायणको रुपमा मान्न र पुजिन थालियो । भनिन्छ, आफ्नो मृत्यु हुने खबर सबैलाई सुनाएर ४९ बर्षको उमेरमा सन १८३० मा यो धर्तिबाट सदाको लागि बिदा भएका थिए ।
यो सबै आफ्नै भाग्य प्रतिभा क्षमता र असल कर्मले नै माथि उठाएको एक उदाहरण पनि हो ।
बाल्टिमोर USA