Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नम्रता उप्रेतीको मुक्तक सङ्ग्रह 'शस्यमञ्जरी' सार्वजनिक

नम्रता उप्रेतीको मुक्तक सङ्ग्रह 'शस्यमञ्जरी' सार्वजनिक

नेप्लिज डायस्पोरा

२२, पौष २०८०
images
नम्रता उप्रेतीको मुक्तक सङ्ग्रह 'शस्यमञ्जरी' सार्वजनिक

पाल्पा, २१ पौष । मुक्तककार नम्रता उप्रेतीद्वारा लिखित पहिलो एकल मुक्तकसङ्ग्रह 'शस्यमञ्जरी' एक समारोह बीच सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति विमोचन गरिएको हो ।

 

बरिष्ठ साहित्यकार, पत्रकार एवं मुक्तक मञ्च नेपालका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा बद्री उप्रेतीद्वारा प्रकाशित, हामी र हाम्रो कृति समूहको दशौं कृतिका रुपमा ल्याइएको मुक्तक सङ्ग्रह 'शस्यमञ्जरी' विमोचन गरिएको थियो । विमोचन समारोहका प्रमुख अतिथि बरिष्ठ साहित्यकार वियोगी बुढाथोकीले कृतिकार नम्रता उप्रेतीको यस प्रकारको सृजनाले साहित्य क्षेत्रमा एउटा अर्को इटा थपेको र यस्तै किसिमका सृजनाहरूको खडेरी आउन नदिने प्रयासको रुपमा उक्त कृति आएको धारणा व्यक्त गरेका थिए ।

हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरिप्रसाद गौतमको अध्यक्षतामा आयोजित मुक्तक सङ्ग्रह विमोचन समारोहमा लोकार्पित कृति 'शस्यमञ्जरी' मुक्तकसङग्रहको समीक्षा प्रा.डा. गोविन्दमानसिंह कार्कीले गरेका थिए । वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरेले साहित्यकार  नम्रता उप्रेतीको लेखनशैली र क्षमताको कदर गर्दै उक्त कृतिको सफलताका लागि शुभकामना दिए ।

IMG_4677.jpeg

त्यसैगरी सो अवसरमा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा के.सी.ले समेत कृति र कृतिकारका विषयमा चर्चा गर्दै विमोचित कृतिका मुक्तकहरूमध्येबाट दुई दुई वटा मुक्तक वाचन गरेका थिए । सो कार्यक्रममा मदन नेपालले हामी र हाम्रो कृति समूहको तर्फबाट कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

पुस्तक विमोचन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजिवी र साहित्य अनुरागीहरू करिब सयभन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गजलकार तथा हातेमालो साहित्य सङ्गमकी महासचिव बिमला दाहालले गर्नु भएको थियो । स्वागत मन्तव्य सुभद्रा अधिकारीको रहेको थियो ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २३:५४:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend