Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साहित्यमा मुक्तकको आफ्नै स्थान मिठास छ -दुर्गाकिरण तिवारी

साहित्यमा मुक्तकको आफ्नै स्थान मिठास छ -दुर्गाकिरण तिवारी

images
साहित्यमा मुक्तकको आफ्नै स्थान मिठास छ -दुर्गाकिरण तिवारी
 
 
 मुक्तक 
 भोग्दै नियति जीवनका धेरै रहस्यमय सार खोज्नु छ
 जितेर कष्टलाई कसै काट्ने धारिलो हतियार खोज्नु छ
 भङ्गालियोस् जीवनगति, जिउँनु छ सङ्घर्षमा होमिँदै 
 भोगाइको अर्थसँगै सृष्टिको अनमोल उपहार खोज्नुछ l
 
  यो गहकिलो मुक्तक, चिरपरिचित मुक्तककार दुर्गाकिरण तिवारीको हो l उहाँ आज क्यानभासको ४६औं बैठकमा आमन्त्रित हाम्रो अतिथि हुनुहुन्छ l उहाँसँग गरिएको कुराकानी जस्ताको त्यस्तै -
 
  पोखराको राजाको चौतारा भन्ने स्थानमा वि.सं. २०२९ आश्विन ११ गते माता राधिकादेवी तिवारी, तथा पिता स्व. शिवलाल तिवारीको कोखबाट जन्मनुभएकी दुर्गाकिरण तिवारी हाल काठमाडौँमा बसोबास गर्नुहुन्छ l बाल्यकाल राजाको चौतारामै व्यतित गर्नुभएकी दुर्गाले आफ्नो पढाई पनि स्थानीय स्कूलबाट नै पूरा गर्नुभएको थियो l 
 
    स्कूले जीवनदेखि नै साहित्यतर्फ झुकाव रहेको बताउनु हुन्छ उहाँ l स्वाभिमानी र हक्की मिजासकी दुर्गा, विकृति, विसङ्गति तथा अन्याय/अत्याचार विरुद्ध सामाजिक सञ्जालमा लेखीरहनु हुन्छ । 
 
 
सर्वप्रथम यहाँलाई क्यानभासको ४६औं बैठकमा हार्दिक स्वागत छ l
  साहित्य के हो ? र साहित्यबारे अरूलाई बुझाउनुपर्दा कसरी बुझाउनुहुन्छ ?
 
सम्पूर्ण साहित्य अनुरागी मनहरूलाइ मेरो नमस्कार !
  दैनिक व्यवहारमा प्रयोग गरिने भाषाका शैली सोझो अर्थ दिने खालका हुन्छन् । कामका कुरा सामान्य मानिसले पनि बुझ्ने हुनुपर्छ । त्यहाँ घुमाउरो ढङ्गले बोलेर हुँदैन, काम चल्दैन । साहित्यमा भने सोझो ढङ्गले बोलेर हुँदैन, लेखेर हुँदैन । साहित्यमा बोल्ने भाषा घुमाउरो पार्नुपर्छ, गहकिलो हुनुपर्दछ । बोल्दा लेख्दा सधैं उनै शब्दको प्रयोग गरिने हो तर साहित्यमा तिनलाई विशेष तरिकाले मिलाएर राखिन्छ र लेखिन्छ । त्यस्तो विशिष्ट रखाइबाट अनेक आनन्ददायक अर्थ बुझाउने काव्यात्मक शैलीको निर्माण गरिन्छ । यसरी सुन्दर गहिरा शब्दको संयोजनबाट मनोहर अर्थ वा अन्य बिम्बात्मक अर्थ बुझाएर पाठक/श्रोतालाई आनन्दित पार्ने रचनालाई साहित्य भनिन्छ ।
  मनको अनुभुतिलाई काव्यत्मक ढङ्ग र बिम्बको माध्यमबाट देखिएका   दृश्य, परिवेश, घटना, परिघटना र मनोभावनालाई शब्दका माध्यमबाट उतार्नु, पस्किनु र अभिव्यञ्जना गर्नुलाई साहित्य भनिन्छ ।
  शब्द र अर्थको सुन्दर विन्यास नै साहित्य हो । साहित्य जीवनपद्धतिको   साधना हो, सृजना हो, खुसी र आनन्दको मुहान हो । यो ध्यानको एउटा पाटो पनि हो । एकै वाक्यमा भन्नुपर्दा हृदय प्रफुल्लित पार्ने शब्दार्थको प्रयोग गर्ने विशेष तरिकाबाट अलौकिक आस्वादन पस्किने कला हो साहित्य ।
 
 कहिलेदेखि लेख्न थाल्नुभयो ? पहिलो रचना कुन थियो ?  
 
  सामान्य लेखन त टाक्कटुक्क ८ कक्षा पढ्दादेखि नै लेखिन्थ्यो । एस्.एल्.सी. को परीक्षा दिएपछि मैले लामा कथा र नाटक लेखेकी थिएँ । मेरा आदरणीय नेपाली गुरु रामचन्द्र सिग्देलज्यूलाई तिनको सम्पादन गर्न दिएकी पनि थिएँ । किताब निकाल्ने भन्ने खासै थाहा थिएन । साथ र समर्थन पनि नभएकाले त्यसै रह्यो । धेरै समय यता उता गर्दा पाण्डुलिपि पनि हराए । तर, त्यो बुझेर लेखेको साहित्य थिएन, मात्र भावनामा बहकिएर केही लेखेकी थिएँ । सुरुमा लेख्दा सायरी भनेर जे जति लेखिन्थ्यो, अहिले आएर बुझियो ती त मुक्तक पो रहेछन् । मेरो पहिलो सृजना मुक्तक नै थियो अनि नाटक र कथा थिए ।
 
 तपाईं किन र के का लागि लेख्नुहुन्छ ?
 
  साहित्य साधना हो , ध्यान हो ,पुजा हो । जसले मलाई हमेसा सही र सत्यको मार्गमा जान उत्प्रेरित गर्छ । जीवन जगत सिकाउँछ प्रकृतिसँग नजिक हुन   सिकाउँछ रम्न र रमाउन सिकाउँछ, त्यसैले जीवन बुझ्नका लागि लेख्छु ।
  जीवन र जगत प्रकृतिसँग जोडिएको छ । दुवै पुरक हुन् त्यसैले प्रकृतिसँगै जीवनका ज्वारभाटाहरू उठ्छन् उम्लन्छन्, सामाजिक घटना कथा, ब्यथा बजार अनेकौं दृश्यले आफूभित्रको सुषुप्त भावनालाई जगाइदिन्छ । हो मुख्य त आफूभित्रको भाव नै हो l ती भाव उजागर गर्न र आफ्ना सन्तुष्टिका लागि   लेख्छु।
  जबजब देश दुख्छ, समाज भाडिन्छ र भद्रगोल हुन्छ, लाज र घीनले पराकाष्ठा नाघ्छ, प्रकृति हाँस्छिन, रुन्छिन्, प्रेम अंकुरण हुन्छ हृदयमा अनेक विषयवस्तु मडारिइन्छन्; यस्तै परिवेशले स्वत: मनमा उकुसमुकुस छट्पटी गराउँछ अनि हृदय र मस्तिष्कले लेख भनेर बाध्य गराउँछ र समाज र देशका लागि लेख्छु ।
 
 कुन विधा बढी मनपर्छ ? र  किन ? 
 
  लेखनमा मलाई मनपर्ने विधाहरूमध्ये मुक्तक, गीत, गद्यकविता, लघुकथा र लामा कथाहरू हुन् । उसो त कलमका पारखीहरूलाई सबै   खालका विधा मनपर्छन् नै । गजल पनि उत्तिकै मन पर्छ, भावको प्रस्तुतिमा सशक्त लाग्छ ।
 
 हाल के लेख्दै हुनुहुन्छ ? 
 
  नढाँटी भनुपर्दा त्यस्तो केही लेखेकी छैन आजकल । नवसर्जकहरूलाई लेख्न उत्प्रेरित गर्छु, डोर्याउँछु, मार्गनिर्देशन गर्छु र आफू पनि उहाँहरूबाट कतै न कतै केही सिक्ने मौका चुकाउन्न र सिक्ने गर्छु । 
  यतिबेला म कवि कृशु क्षेत्रीबाट सम्पादित कालजयी गद्य कविता सङ्ग्रह र प्रज्ञा आधुनिक नेपाली गद्य कविता सङ्ग्रहहरू र अन्य पुस्तकहरूको अध्ययन गर्दैछु त्यति हो ।
 
 
 आफ्ना सबै रचनाहरूको यकिन संख्या थाहा छ भने बताईदिनुस् न ?
 
  हजुर मेरा रचनाहरूको संख्या मैले खासै राखेकी छैन । धेरै छन् मुक्तकहरू, गीत, कविताहरू र अन्य कथा तथा मुक्त गजलहरू पनि फाट्टफुट्ट छन् । म सबै विधामा कलम चलाउन प्रयास गरिरहन्छु र आफूलाई तिनै विधाहरूमा प्रयोग गरिरहन्छु ।
 
 तपाईंले मुक्तकबारे जे बुझ्नुभएको छ, बताइदिनुस् न ?
 
  साहित्यका अनेक विधाभित्र काव्यवर्गमा सानो आयाममा गम्भीर भावलाई सहज ढङ्गले व्यक्त गर्न सकिने चोटिलो विधाका रूपमा चिनिन्छ मुक्तकलाई। विधागत हिसाबले मुक्तक काव्यको लघुतम विधाको उपविधा हो ।
  कविताका सन्दर्भमा चार पाउका श्लोकलाई नै मुक्तक मानिएको कुरामा संस्कृत साहित्यका विद्वानहरूको एकमत देखिन्छ । संस्कृतमा छन्दको नियमबाट मुक्त रचनालाई मुक्तक भनिएको कुरा मैले संस्कृतबाटै सिकेकी हुँ ।   गीताप्रेस गोरखपुरबाट प्रकाशित श्रीमद्भगवद्गीताको पुस्तकमा सुरुको पृष्ठमा   उपेन्द्रवज्रामा छन्दमा रचित एक चोटिलो चतुष्पदीय   संरचनामा रचित चार पाउको एक श्लोक यस्तो छ –
 
 त्वमेव माता च   पिता त्वमेव
 त्वमेव बन्धुश्च   सखा त्वमेव ।
 त्वमेव विद्या   द्रविणं त्वमेव 
 त्वमेव सर्वं मम   देवदेव ।। 
 
 यसो विचार गर्दा यो पनि मुक्तकै कोटिमा पर्न आउँछ जस्तो लाग्छ ।
 
 वर्तमान नेपाली साहित्यमा मुक्तक कुन स्थानमा छ र यसको भविष्य कस्तो देख्नुहुन्छ ?
 
  वर्तमान नेपाली साहित्यको प्रवाहमा मुक्तकको ठूलो नदी बगेको देख्छु म । सबैलाई मुक्तकमा मीठो चाख छ । यो नदी बगेर बिस्तारै सागरसम्म   मिसिने र सागरै भएर बस्ने आकलन गरेकी छु ।
 
 मुक्तकमा आक्षरिक मात्रा न्यूनतम/अधिकतम जरूरी छ कि छैन ? छ भने कतिकति ?
 
  हजुर, मुक्तकमा आक्षरिक मात्रा कम्तीमा पनि यति नै हुन्छ वा यही नै हुनुपर्छ भन्ने छैन । लेख्दा हल्का लामो, छोटो त हुन्छ नै तर पढ्दा मिल्नुपर्छ । आक्षरिक मात्रा मिलेको छैन भने झट्ट हेर्दा पनि मुक्तकीय रचना अशोभनीय लाग्ने मात्र हो । मलाई चाहिँ खासै फरक पर्छ जस्तो लाग्दैन ।
 
 मुक्तकमा अनुप्रास दोहोर्याउन पाइन्न तर कनिष्ठदेखि वरिष्ठसम्मका धेरैले दोहोर्याएका छन् । यसरी लेख्न पाइन्छ र ?
 
  उही अर्थ रहेको वर्णसमूह वा अक्षरको समान मात्राको पद दोहोरिनु अनुप्रास दोहोरिनु हो । यस्तो खालको अनुप्रास दोहोरिनु हुँदैन भन्ने लाग्छ मलाई पनि किनकि अर्थ वा भाव उही रहन्छ र पुनरुक्त बन्न जान्छ । कहिलेकाहीँ झुक्किएर वा आँखाले भेउ नपाएर दोहोरिनु  स्वाभाविकै होला तर जानीजानी दोहोर्याउन राम्रो मानिँदैन । देखेमा सच्याउनुपर्छ । अनुप्रास दोहोर्याएर लेख्न पाइँदैन र मिल्दैन पनि । हुन त अहिले गजलमा पनि दोहोर्याएको देख्छु   । दोहोर्याउन नहुने हो भन्ने लाग्छ मलाई ।  
 
 अचेल मुक्तकसङ्ग्रह निकाल्न एकप्रकारले होडबाजी नै चलेको देखिन्छ । यसले मुक्तक विधालाई कति फाइदा वा बेफाइदा गरेको छ ?
 
  सङ्ग्रह निकाल्नु नराम्रो होइन । किनकि सङ्ग्रह निकाल्दा एकपछि अर्को गरी आफुमा निखार ल्याउने र स्तरीय मुक्तक रचना कसरी गर्न सकिन्छ भन्ने विषयमा थप सिक्ने मौका मिल्छ । तर, साहित्य र यसका विधाको स्वरूप एवं   संरचनाबारे ज्ञान नहुनु, अध्ययन नगर्नु, सिक्न नखोज्नु, नबुझ्नु भनेको चाहिँ विडम्बना नै हो । यसमा उच्च स्तरका मुक्तकको अध्ययन तथा रचना गर्ने साधना वा अभ्यासको निरन्तरता अपेक्षित छ । मुक्तकसङ्ग्रह निकालेर   सामुदायिक स्कुल र अन्य क्षेत्रमा पुर्याउन सके राम्रै हुन्छ ।
 
  मुक्तकको लोकप्रियता त बढ्दो छ तर गजल, कविता तथा अन्य विधाहरूले पाएको जति सम्मान मुक्तकले नपाएको अनुभूति हुन्छ ? यदि हुन्छ भने यसमा दोषी को हो ? 
 
  हजुर, मुक्तकको लोकप्रियता निकै बढ्दो छ । विभिन्न कार्यक्रममा कविता, गीत वा गजल सुनाउँने स्रष्टाका लहरमा सँगै बसेका मुक्तककार पनि उत्तिकै सम्मानित बनेको र श्रोताले पनि उस्तै गरी आनन्द लिने गरेको मैले  पाएकी छु । अतः गजल र अन्य विधाको तुलनामा मुक्तकले सम्मान नपाएको भन्ने   लाग्दैन । मुक्तक मन पराउने ठुला र अग्रज कविहरू प्रशस्त हुनुहुन्छ । मुक्तकको आफ्नै स्थान छ आफ्नै खालको मिठास छ । गजलको त के कुरा   गर्नु र ?
 
हामी  आजको कुराकानीको अन्त्यमा आइपुगेका छौं; अन्त्यमा नव सर्जकहरूलाई केही सल्लाह, सुझाव छ कि ? 
 
  हाम्रा आदरणीय अग्रहहरूले सृजना गरेका सृजनालाई अध्ययन गर्दै आफ्ना   शब्दका खेती सिंञ्चित गर्ने हो । फराकिलो सोच बनाउनुहोस् । नथाक्नुहोस्, नहार्नुहोस् अनि दोस्रोको अस्तित्व स्विकार्न सक्नुपर्छ। सुन्न, मनन गर्न सक्नुपर्छ l अग्रजका सुझाव आशिर्वादलाई  अभिसिंञ्चन गरि आफुलाई नव सृजनामा निखार्नुहोस् भन्छु ।
  मेरो आफ्नो मनका कुरा राख्ने अवसर दिनुभएकोमा क्यानभास परिवारप्रति आभारी छु l 
 
उहांका केही मुक्तकहरु
 
 सोच्छु, दुनियाँमा खै कसले के कति पाएको छ,
 मानवीय मूल्यका गीत खै कसले कति गाएको छ,
 साँच्चैँ जीवनको सार खोज्दै दगुरेको छ त मान्छे ?
 देख्छु, कतै हर्षका उत्सव त कतै मृत्यु छाएको छ ।
 *****
 यहाँ जीवनबोधमा रित्तै हात रमाउनेहरू पनि छन् 
 कयौं आफ्नै वैतर्णी गर्न पानी समाउनेहरू पनि छन् 
 कैयौं बुझेर अबुझ बने, कति बुझेर बुझ पचाए पनि
 कोही आफ्नो खुसी दोस्रोलाई थमाउनेहरू पनि छन् ।
 *****
 भरीको जस्तो अस्तित्व खालीको कहाँ हुन्छ र ?
 सज्जनको झैं गुणगान जालीको कहाँ हुन्छ र ?
 सायद सौजन्य चिनेर गरिन्छ वस्तुको मूल्यबोध पनि
 सौन्दर्यमा फूलको झैं महत्त्व मालीको कहाँ हुन्छ र ?
 *****
 सुकुम्बासीको केही छैन धन के धरौटी राख्नु र खै? 
 जीवनको खेलमा हारेको मन के धरौटी राख्नु र खै? 
 मात्र छन विरहका गीतहरू चल्छ चल्दैन बजारमा! 
 अनेक ब्यथाले थलिएको तन के धरौटी राख्नु र खै ?
 *****
 कोही आउँछ र मनको गति तिब्र बनाएर जान्छ 
 गर्छ प्रवेश हृदयमा प्रेमको आभास गराएर जान्छ 
 मौनतामा पनि आधिहुरी चल्छर? भन्छन् भन्नेहरू
 सल्काउँछ आगो नदेखिने गरि मन जलाएर जान्छ l
 
(यो अन्तर्वार्ता क्यानभास – ४६औं   बैठक अन्तर्गत २०८० साल श्रावण १५ गते सोमबार फेसबुकमा पोष्ट भएको थियो । सम्पादक।)

 

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०४:३०:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend