Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

वैदेशिक रोजगारीमा मलेसिया जाने क्रम घट्दो

वैदेशिक रोजगारीमा मलेसिया जाने क्रम घट्दो

images
वैदेशिक रोजगारीमा मलेसिया जाने क्रम घट्दो

चालु आर्थिक वर्ष २०८०-८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९-८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालु आवमा क्रमशः घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुलुक हुन पुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।अघिल्ला दुई वर्षमा ‘मिसन’ कै रूपमा नेपालसहितका देशबाट ठुलो सङ्ख्यामा श्रमिक आपूर्ति गरेको मलेसियाले पूरा मागको आपूर्ति सकिएपछि मात्रै खोल्ने गरी नयाँ माग रोकेको छ । त्यसको असर नेपाली श्रम बजारमा पनि देखापरेको छ । विभागका अनुसार गत आवको भदौ महिनामा मलेसियाका लागि ३५ हजार ३७२ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको भदौमा आठ हजार ३१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

 गत आवको कात्तिकमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ३० हजार ५४० जना रहेकोमा चालु आवको कात्तिकमा मलेसियाका लागि पाँच हजार ५५२ जनाले मात्रै लिएको देखिन्छ । यस्तै विभागका अनुसार चालु आवको पुसमा मलेसियाका लागि आठ हजार ९१ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको पुसमा त्यस देशका लागि २० हजार ३३९ जनाले श्रम स्वीकृति लिएर गएका थिए । 

चालु आवमा मङ्सिरमा नौ हजार ५६७ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको मङ्सिरमा २५ हजार २७० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजीव पोखरेलले सन् २०२१ देखि २०२३ को मध्यतिरबाट नै मलेसियाका रोजगारदाता कम्पनीबाट भएका पुराना मागको सबै आपूर्ति नसकिँदासम्म नयाँ नखुलाउने घोषणा गरेको र त्यसैले गर्दा मलेसिया जानेको सङ्ख्या घटेको बताए । उनले भने, “यसअघि गरेको मागबाट सबै श्रमिक आपूर्ति भइसकेपछि मलेसियाले नयाँ खुलाउने छ र अहिले घटेको मलेसियाको रोजगारी क्रमशः बढने छ ।” 

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसिया सरकारले आफ्नो नीतिका कारण पछिल्लो एक वर्षयता मलेसियामा नयाँ श्रमिकको माग नआएको बताए । उनका अनुसार अहिले आएका माग पुरानै हुन् । यिनी सकिएपछि मलेसिया सरकारले बल्ल नयाँ खुलाउनेछ । त्यसपछि बल्ल मलेसिया जानेको सङ्ख्या बढ्दै जानेछ ।

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०४:१६:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend