(जापानमा पढ्दै गर्दा लेखेको, पुरानो भएको छैन जस्तै लागेर यहाँ साझा गरे । यो, त्यो बेलाको हालखबर थियो । अक्सर विदेशमा रहनुहुने नेपालीको हालखबर यस्तै हुन्छ होला ! -कवि ।)
"हालखबर"
म ठिक छु
तर परदेशमा देश दुख्दो रहेछ
विश्व मानचित्रमा
जब मेरो देश
गरिबी र बेरोजगारीको ग्राफले
अध्यारो पोतिएको देख्छु
म लज्जित हुन्छु
जब देख्छु
हावा भन्दा द्रुत गतीमा कुध्ने रेल
तब सम्झन्छु
मुग्लिनको पहिरोमा फसेको बिरामी एम्बुलेन्स
पाप र धर्मको लेखाजोखा गरिरहेको आर्त जिन्दगी
सोच्छु के हो यसको बुनियाद
जहाँ अस्पताल आफै उपचारमा भौतारिरहन्छ
विश्वविद्यालय अराजक अध्ययन केन्द्र बनिदिन्छ
अभावले जर्जर गरिबी
दासत्वको सम्झौताले शिर उठाउन सक्दैन
आभावको राहदानी बोकेर
विमानस्थलमा जहाज कुरीरहेछ कमरेडको छोरा
लाग्छ मेरो देश मानव मुद्रण गर्ने कारखाना हो
देख्छु देशले लिलाम गरेका युवाहरु
जो परदेशमा गगनचुम्बी महल ठड्याउन त अभ्यस्त छन्
तर उक्लन कठिन छ उनीहरुलाई
आत्मासम्मानको एक खुड्किला उचाई
के मेरो देश रेमिट्यानस चुहिने
बलेँसी मात्र हो ?
घनघोर जिज्ञासाहरु छन्
जस्तो
गलत संस्कारको हाम्रो बन्चरेडाँडाँ
कैले बन्ला गोदावरी ?
कैले बुझाउन सकिएला
विकास त
कर्मशील जनता
सुसंस्कृत समाजको फ्युजन हो
कैले रोकिएला
सडकमा हुने दलको विरोधजुलुस
अथवा गुड्दै गरेको सवारीमा आगजनी
कैले बन्द होला
चोकमा चिया र चुरोट पिउदै
कोही कसैमाथी गरिने
निकोटिन भन्दा घातक टिप्पणी
सवालको जवाफ खोज्दै
निर्निमेष टोलाइरहेछु
तापनि म ठिक छु
र सोच्छु
बदल्नै पर्छ यो वर्वर वर्तमान
हुर्काउनै पर्छ एक बोधिवृक्ष
जहाँ बाट आरब्ध गर्न सकियोस्
चेतनाको बुलेट ट्रेन
यस्तै छ मेरो हालखबर
गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'