बिहान झिसमिसेबाट
सुरु भएको यो बेनाम दैनिकी
बेलुकी गहिरो रात हुँदासम्म चलिरहन्छ परदेशमा
जसरी पानीलाई नरोकिएर बगिरहनु छ खोलामा।
न त ढुक्कसँग तातो दुई छाक निल्न पाउँने समय
न मीठो नमिठो छान्ने फुर्सद
हतारमै उदाउँछ बिहान सूर्य
भागदौडमा डुब्छ साँझ
न सोचेजस्तो लबज
न सम्झेजस्तो यथार्थ
बढेमानको पहाड पनि
सजिलै बोकिहिँड्नुपर्ने परदेशमा
अक्करको साँघुरो बाटोमा
मधेस बोकेर स्याँ स्याँ गर्दै
पहाड उक्लिदै हिंड्ने खच्चरका हुलझैँ
जिम्मेवारीको गर्हो भारी नबिसाई चल्छ दैनिकी ।
भर्खरै खेल्न सिक्दैगरेको खेलाडीले
भलिबलमा पम्प भरेझैँ
सानो टिफिनबक्सभित्र
दिनभरिको तागत भरेर
निस्किनु छ हरेक बिहान
दुई चार चम्चा प्राण धान्ने जिनिस बोकेर
फर्किनु छ आफैँलाई नचिन्ने रात हुर्किएपछि
र कुरिबस्नु छ भोलिको लागि
मोबाइलको आल्राम घण्टी जागै बसेर।
दौडनु छ हरेक दिन सपनाका फूल टिप्नलाई
यसरी खटिनु छ रहर किन्ने मेसोमा कि,
मेसिनसँग आफैँ मेसिन झैँ बनेर परदेशमा
जो दु:खको गाडा रङ
देश हुँदा सपनामा समेत सोचिएन।
थोरै रुपैयाँसँग धेरै पसिना साटेर
जोहो गर्नुछ उता परिवारको खुशी
थप्नु छ आशाको छत
र बाल्नु छ पुरानो छानोमुनि
आँखाआँखामा उज्यालो।
अब दुईचार साल दु:ख गरौंला
कसो दिन नफर्केला-
यही होड्मा दौडिएर कैयौँ दुईचार बर्षहरु बिते
अब फेरि कति कति त्यस्तै दुईचार बर्षहरु
बित्ने हो आफैँलाई थाहा छैन
बत्तीमा बर्तन थप्ने मेसोमा
आफैँभित्रको बर्तन घटेको थाहा नपाएझै गरेर।
थकान लाग्दा थकाई लाग्यो भन्ने फुर्सद नहुने
दुखेको मन बिसाउँ लाग्दा
विसाउने चौतारी नभेट्ने
पैताला पोल्दा शीतल दिने प्रेमको हिमाल उतै
टाउको दुख्दा नरम हातले निधार छाम्ने
मायालु औलाहरु पनि उतै
चिसो छ न्यानो लगाउ भनेर न्यानो दिने
खुलेको आकाशजस्तो
सफा र फराकिलो मन भएकी
मेरी आमा उतै
दिनदिनै घामभन्दा छिटो दौडिनु
दानापानी जुटाउनु
दोहोर्याइरहनु छ उहीँ दिनचर्या परदेशमा।
आज थकानले विसन्चोले
बिस्तारामा छु सिकिस्त भएर
घरबाट फोन आउँछ
आमाले सोध्नुहुन्छ-
नानी!कसो छ?
सजिलोसँग उत्तर दिन्छु-राम्रै छ
सोध्नुहुन्छ-काम कस्तो छ?
उत्तर दिन्छु-सजिलै छ
सोध्नुहुन्छ-सन्चै छौ नि?
उत्तर दिन्छु-आराम छु।
आफ्नो ख्याल गर्नूहोला।
गीतकार सतीश चापागाईको शब्दमा परदेशी २ मा रहेको गीत
हिजो काम आज काम काम विदेशमा..