प्रिय मनु !
तिमीले लेखेको नाटकमा अभिनय गर्दागर्दा
आफ्नो प्रकृति र चरित्र नै भुलिसकेका छन्
तिम्रो नाटकका पात्रहरूले
तिम्रो नाटकमा
सुरुमा जसलाई "उत्कृष्ट" पात्रको अभिनय गर्ने लगाइयो
तिनीहरूले "स्वर्ग" देखे
तिम्रै भजन लेखे
तिमीलाई "भगवान" माने
र, तिनका सन्तान दरसन्तानले आज पनि
त्यही भूमिका निभाउँदै छन्
तिनले पनि तिमीलाई "भगवान" मान्छन्
तिम्रो निकृष्ट रचनालाई "सर्वोत्कृष्ट " नाटक ठान्छन्
तिम्रो नाटकमा
सुरुमा जसलाई जबर्जस्ती "निकृष्ट" पात्रको भूमिका अभिनय गर्न लगाइयो
तिनीहरूले राम्ररी स्वास फेर्न पाएनन्
राम्ररी आकाश हेर्न पाएनन्
तिनले तिमीलाई "राक्षस " मान्छन्
तिम्रो दुषित विचारलाई जलाउनुपर्ने ठान्छन्
म ठान्छु
अब तिम्रो नाटक नै चल्न दिनु हुन्न
विभेदको आगो कतै बल्न दिनु हुन्न
तर, तिम्रा " उत्कृष्ट " पात्रहरूले
मलाई नयाँ नाटक लेख्न दिनु त कता हो कता
यो निकृष्ट भूमिका निभाउन्न भन्दा
जिउँदै जलाएर "नर्क" पठाउँछौँ भन्छन्
ठीक छ, यदि त्यसो हो भने
हजारौं वर्षदेखि एउटै भूमिका निभाइरहँदा
कति झ्याउ लागेको होला तिनीहरूलाई ?
हजारौं वर्षदेखि एउटै भूमिका निभाइरहनु पर्दा
"अमृत" पिएको कागझैँ उस्तै छट्पटी लागेको छ मलाई
आऊ! भूमिका फेरौँ न त!