नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना भएको आज १७ बर्ष पुगेको छ ।
नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो ।
नेपालमा रहँदा पत्रकारिता पेसाको सामिप्यतामा रहनुभएका उत्तर अमेरिका खासगरी अमेरिका र क्यानडामा बसोबास गर्ने अग्रज पत्रकारहरूले स्थापना गरेका हुन् ।
अप्रिल २१ र २२, २००७ मा भर्जिनिया राज्यको आर्लिङटनमा सहरमा भएको पहिलो अधिवेशनमार्फत उत्तर अमेरिकी नेपाली डायस्पोराभित्रका पत्रकारहरू उत्तर अमेरिकन नर्थ अमेरिकन जर्नालिस्ट एसोसिएसन अफ नेपालिज (पछि गएर नेपाल अमेरिका जर्नालिस्ट एसोसिएसन) मार्फत गोलबन्द हुनुभएको थियो ।
नेजाका अध्यक्ष सुरज भण्डारीद्वारा जारी शुभकामना सन्देश ।
नेजा स्थापनाको दिवसको शुभकामना !
नेपालमा रहँदा पत्रकारिता पेसाको सामिप्यतामा रहनुभएका उत्तर अमेरिका खासगरी अमेरिका र क्यानडामा बसोबास गर्नुहुने अग्रज पत्रकारहरूले स्थापना गर्नुभएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहिलो अधिवेशन १७ वर्षअघि आजकै मितिमा भएको थियो । अप्रिल २१ र २२, २००७ मा भर्जिनिया राज्यको आर्लिङटनमा सहरमा भएको पहिलो अधिवेशनमार्फत उत्तर अमेरिकी नेपाली डायस्पोराभित्रका पत्रकारहरू उत्तर अमेरिकन नर्थ अमेरिकन जर्नालिस्ट एसोसिएसन अफ नेपालिज (पछि गएर नेपाल अमेरिका जर्नालिस्ट एसोसिएसन) मार्फत गोलबन्द हुनुभएको थियो । संस्था स्थापना हुनुअघिदेखि नै उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूको सक्रियता र सञ्चारमाध्यमहरूको उपस्थिति रहेको भए पनि संगठित रुपमा अघि बढ्नुपर्ने आवश्यकता बोधले संस्था स्थापना भएको देखिन्छ । संघको पहिलो अधिवेशन हुनुअघि अनौपचारिक ढंगका बैठक र छलफल भए पनि संस्थागत रुपमा अधिवेशनमार्फत कार्यसमिति निर्माण गरिएको वैधानिक कार्यक्रमलाई आधार मान्दै पहिलो अधिवेशन भएको वर्षको मिति अप्रिल २१ लाई आधार मानी नेजा स्थापना दिवस मनाउने निर्णय भएको छ ।
यही अप्रिल २१ लाई केन्द्रमा राख्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विभिन्न कार्यक्रम गरी नेजा दिवस मनाइरहेको छ । यस अवसरमा संस्थापक अध्यक्ष एवं संस्थापकहरूलाई सम्झँदै सम्मान व्यक्त गर्दछु । पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वकार्यसमिति सदस्यज्यूहरुको योगदानप्रति उच्च सम्मान छ । नेजाका सम्पूर्ण सदस्यहरूको सक्रियता, योगदान र संस्थाप्रतिको सद्भाव अनि मायाका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । यहाँहरू सबैबाट सहयोग, सद्भाव, सक्रियता र मायाको सदैव खाँचो रहन्छ । मेरो नेतृत्वको वर्तमान कार्यसमितिमा रहनुहुने सबै पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पनि हार्दिक धन्यवाद छ । स्थापनाको समयमा अग्रजहरूले लिनुभएको उद्देश्यलाई मर्न नदिई समयसापेक्षताका आधारमा संघमार्फत गर्नुपर्ने कामहरूलाई समेत प्राथमिकताको सूचीमा राखेर कार्यक्षेत्र निर्माण गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको छ । १७ वर्षको यो अवधिमा उत्तर अमेरिकी नेपाली डायस्पोराका लागि नेजा स्थापित संस्था बनिसकेको छ । समग्र नेपाली डायस्पोरा अनि नेपालमा समेत नेजाले प्रभावकारी उपस्थिति र भूमिका देखाउन सफल भएको छ, यो हामी सबैको सामूहिक योगदानका कारण सम्भव भएको हो । स्थापनादेखि अहिलेसम्म नेपाली डायस्पोरा धेरै फराकिलो बन्दै गएको छ । नेपाली डायस्पोरासमेत बिस्तारै बलियो बन्दै गएको छ । टिक्नका लागि संघर्ष गर्नुपर्ने समयदेखि अब नेपाली डायस्पोरासमेत बिस्तारै संगठित र तङ्ग्रिएको शक्ति बन्ने क्रममा रहेको छ ।
उत्तर अमेरिकाको नेपाली डायस्पोराभित्र दोस्रो र तेस्रो पुस्ताको उपस्थिति बढ्दै गइरहेको छ । गैरआवासीय नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूको संख्या पनि सोहीअनुसार बढ्दै गएको छ । यहाँ हुर्किरहेको दोस्रो र तेस्रो पुस्तालाई समेत पत्रकारितामा प्रवेश गराउन र जोड्नका लागि पनि हामीले ध्यान दिनुपर्नेछ । नेपालमा पत्रकारिताको विकास र प्रवर्धनका लागि हामीले गर्दै आएको योगदान, सहयोग र सहभागितालाई निरन्तरता दिँदै नेपालको पत्रकारिताको गुणात्मक विकासका लागि योजना बनाएर काम गर्नुपर्नेछ । उत्तर अमेरिकामा रहेका पत्रकारहरूलाई पनि केन्द्रमा राखेर काम गर्नुपर्नेछ, सामुदायिक पत्रकारिताको अझ गुणात्मक विकासका योजनाबद्व कार्य गर्नुपर्नेछ, यहाँको मूलधारको पत्रकारितामा नेपाली डायस्पोराको उत्पादनलाई समावेश गर्नका लागि काम गर्नुपर्नेछ । गैरआवासीय नेपाली समुदायलाई एकताबद्व बनाउने, भाषा र संस्कृतिमार्फत गैरआवासीय नेपालीलाई जोड्ने, नेपालको समृद्दि र विकासका लागि गैरआवासीय नेपालीको लगानी, सीप, अनुभव र दक्षतालाई नेपालसम्म पुर्याउन सेतुको काम गर्ने अनि आमनेपाली र गैरआवासीय नेपालीको निम्ति योगदान दिने अभियानमा हाम्रो सहभागिता हुनु जरुरी छ ।
नेजा हामी सबैको हो । धेरै ठूला चिजहरू गर्न नसकिए पनि हामी मिलेर अघि बढ्न सक्दा नेपाली डायस्पोरा, आमपत्रकार र सञ्चार जगतका लागि केही देखिने र प्रभाव छाड्न सक्ने गरी काम गर्न सक्छौं । अब बिस्तारै उत्तर अमेरिकामा रहेका व्यावसायिक पत्रकारहरूका संस्थासँग पनि हाम्रो सम्पर्क र सहकार्य स्थापित गर्नुपर्ने हुन्छ । नेपालमा रहेका पत्रकार र यहाँ हामी नेजामा आबद्व रहेका पत्रकारहरूका लागि पनि केही कामहरू विगतदेखि नै भइरहेका छन्, अझ थप केही गर्नुपर्नेछ र त्यसको सुरुवात पनि भइसकेको छ । हामील हाम्रो छाता संस्थामा रहेर हाम्रा पेसागत मुद्दाहरूमा बहस गर्न एवं पेसागत कठिनाइको अवस्था सिर्जना भएका बखत संस्थामार्फत सहजता प्राप्त गर्न सक्ने संस्थाको रूपमा नेजालाई विस्तार गर्नु अहिलेको आवश्यकता हो । यसका लागि हामी सबैको सहभागिता महत्त्वपूर्ण ठानी हातेमालो गरी अगाडी बढ्नेतर्फ सबैले मनन गर्नुपर्दछ । अत: म यस विशेष अवसरमा विभिन्न कारणले नेजाभन्दा बाहिर रहनुभएका सबै पत्रकारहरूलाई नेजामा आउनका लागि अपिल गर्न चाहन्छु ।
हामीले गरेको र हामीलाई चिन्ने हाम्रो पत्रकारको परिचयलाई गोलबन्द गर्ने संस्था उत्तर अमेरिकामा नेजा छ । र, यो नेजा यहाँसम्म आउनुमा तपाईं सबैको योगदान छ । संघको मायालाई सर्वोपरी ठानी संस्थामा आई योगदान गर्न पनि म सम्बन्धित सबैमा आग्रह गर्न चाहन्छु । केही वर्षयता उत्तर अमेरिकामा आउनुभएका नेपालमा रहँदा पत्रकारितामा सक्रिय व्यक्तित्वहरूलाई पनि नेजामा आई योगदान गर्न हार्दिक आग्रह गर्दछु । अग्रज तथा संस्थापकहरू, तपाईं सबैको सहभागिता, सक्रियता र मार्गदर्शनले नेजाले अबको फराकिलो बाटो तय गर्न सक्नेछ, त्यसका लागि पनि भूमिका निभाउन म अनुरोध गर्न चाहन्छु । र, अन्त्यमा, नेजालाई माया र सहकार्य गर्ने सबै व्यक्तित्व र संघ-संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेजासम्बद्ध तपाईं-हामी सबैलाई नेजा स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
……………………..
सुरज भण्डारी
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ(नेजा) ।