अचम्म
– युवराज मैनाली
निकै बेरपछि ऊ उठ्यो।झुम्मिएका मान्छेहरू पन्छिँदै गए। नजिकै उभिएको एक युवकले भरखरै हाेसमा आएको उसलाई सोध्यो- “दाइ ! तपाईंले धेरै रक्सी पिएर बेहोस हुनु भएको हो ?” उसको सोधाइले ऊ अवाक् बन्यो। उसले मनभित्रै साेच्याे -‘भनु त हारकाे कुरा, नभनुँ त के भनुँ ।’ साेच्दा साेच्दै उसको मुखबाट निस्क्यो -“सुगरको बिरामी भाइ हिजोसम्म उसलाई पछार्दै आएको थिएँ ,आज उसले पछारी दियो,दाउ आफ्नो आफ्नो हो भाइ । यो लछारपछार चलिरहन्छ।” चाेर ओैँलाले आकासतिर देखाउँदै भुक्लुक्क ढल्याे । कुन्नि को थियो सोध्ने मान्छे । उसैले उसलाई उठाएर हस्पिटलतर्फ लग्यो।