वसन्तमा रेडियो खरसाङ
१९७७ को कुरो हो । वसन्त ऋतुको समय थियो । म खर्साङ "पि यु सी" मा भर्ना लिन पुगेकी थिए। मलाई भने पहिला देखिनै रेडियो सुन्न असाध्य मन पर्थ्यो ।
सायद म चार / पाँच वर्ष कि थिँए होला , बुवा चाईनाको युद्धमा जानु भएको थियो । हामी सुबाथु ( 14 GTC Shimla Hills)मा थिँयौ। आज सम्झदा १९६२ को कुरा रहेछ। बुवाले फौजजीहरूलाई पढाउँनु हुन्थ्यो । सिपाहिहरूलाई मात्र होइन बडा शाव र अन्तिम भाईस रोय लोर्ड माउन्ट वेटनलाई पनि बुवाले नेपाली भाषा पढाउंनु भएको हो।
हाम्रो घरमा फिलीप्स रेडियो थियो। अली टाढा कसैको रेडियोमा "सुनो सजना ..." मिठो हिन्दी गीत बजिरहेको थियो । आमालाई त्यही गीत हाम्रो रेडियोमा पनि बजाई दिनुस भनेँ । आमाले त्यो गित हाम्रो रेडियोमा खोज्द खोज्दै गित सकियो । म डाँको छोडेर रोए । आमाले मलाई मिठाई दिएर फकाउनु भयो ।
प्राय म बुवा नजिकै बसेर रेडियो सुन्ने गर्थेँ । बुवा फौजबाट सेवानिवृत भए पछी आफु जन्मेको ठाउँ सुके पोखरीमा हामी सबैलाई लिएर जानु भयो । जुन हाम्रो पुर्ख्यौली घर (किप्पट) हो ।
हाम्रो वस्ति परमागडिमा ठुलो अलैची, आलु र मकै आदिको खेति गरिन्थ्यो । जङ्गलमा काठ काटेर कोईला बनाईन्थ्यो । हामी सुकेको पुर्ख्यौली बस्थ्यौँ । करिव पाच कि मी जति तल रंगितको छेउमा वस्ती थियो । त्यहाँ परमागडी सुकेपोखरी थियो । जुन अहिले पनि छ । तर, वस्ती भने उजाड छ, बांदर र बनेलको जगजगी छ । सबै लछारेर, उधिनेर बाझो पारेको छ प्राय:बस्तिहरू । हाम्रो वस्तीमा पहिला मकै झन्डै सय मन जस्तो फल्थ्यो । खेताला लगाएर मकै बस्तिबाट सुके सम्म ओसारेर ल्याउँथे । आमाले भारमा राख्न लाउनु हुन्थ्यो। झुत्ता झुत्ता झुन्डाईन्थ्यो । अनी सुके पछी फेरी खेतालालाई बोलाई मकै छोडाईन्थ्यो ।
हामी पनि सँगै बसेर मकै छोडांउथ्यौ । मकै छोडाउंदा बुवाले हामी सबैलाई कैले रामायण पढेर सुनाउनु हुन्थ्यो त कहिले रेडियो बजाउनु हुन्थ्यो । मलाई भने रेडियो सुन्नु असाध्य मन पर्थ्यो । त्यही क्रममा एक दिन विविद भारतीमा उदघोषणा गर्ने युवतीको स्वर अत्यन्तै मिठो लाग्यो मलाई। कति दिन सम्म त्यो स्वर मेरो कानमा प्रतिध्वनि भई रह्यो । त्यो स्वर मेरो मानसपटलमा आज सम्म पनि ताजै छ । तर, त्यो स्वर कस्को हो भनेर आज सम्मा पनि थाहा छैन ।
एक दिन । " ए दिपक...दिपक..." भनेर मैले बोलांए ! उसले "के चर्कीलो सोर हो तेरो त" भन्यो । "रेडियो सगैं टाँस्सिएर बस्छेस् । बरू रेडीयोमा बोल्न जा हो तँ त ! मेरो कान त सन्चो हुन्छ" भन्यो । दिपक पनि सुकेपोखरीको एकै गाउँले, एउटै स्कुले , सगैं डिपगोली,अमलकुटी खेल्ने मेरो साथी । कैले झगडा गर्थ्यौँ त कैले सगैं मिलेर खेल्थ्यौँ । कैले कैले भने दाजुले झै हक जमाउन खोज्थ्यो ।
त्यो दिन भने के लागेछ उस्लाई किन्नी ! रेडियोमा बोल्न जा भन्यो । दिपकले मेरो मनको कुरा कसरी बुझेको होला भन्ने लाग्यो । यस्को यो बोली मेरा लागि आशिर्वादनै भई दिए हुन्थ्यो जस्तो लाग्यो ।
यसरी दिन बित्दै गयो। मैले दसौं कक्षा पास गरें। हामी चारजना केटीहरू पास भयौ। कलेज जाने बेला मेरो कान्छी औंला काटियो जङ्गलमा जादां। आमाबुबाको आँखा छली दाउरा काट्न गएका औंला काटियो र म कलेज जान पाइन त्यो वर्ष। अर्को वर्ष सबै माथील्लो कक्षा पुगी सकेका थिए , मलाई उनिहरू भन्दा सानो कक्षामा पढन मन परेन र म अब पढ्दिन भने।
खर्साङबाट अन्तरी फुपु र परिवार आउनु भएको थियो दशै मान्न। बुवाले "लिलीले (अर्थात् कलमकार) पढन मानेकि छैन । कलेज जान्न भन्छे" भनेर पोल हाल्नु भयो फुपूफुपा सँग । विनोद दादा ( फुपुका ठुला छोरा) र फुपूले मलाई फकाए र खर्साङ पढन भनी लिएर आउनु भयो। फुपूको तिन छोरा भएकाले छोरीको चाहना पनि मेटाउन चाहनु भएको होला शायद। मलाई पनि खर्साङ जान त मन थियो, कारण त्याँहा त रेडियो स्टेसन छ। जे होस यता आएकै एक दुई दिन पछी विनोद दादालाई फकाउन थाले, मलाई रेडियो स्टेसन देखाउन लैजानोस भनेर। वहाँले मलाई रेडियो स्टेसन घुमाउने बाचा मार्नु भयो। दादाले मलाई खुबै माया गर्नु हुन्थ्यो र आज सम्म पनि त्यत्तिकै माया गर्नु हुन्छ ।
१९७७ को अप्रेल महिना ,बसंन्तले खर्साङलाई बेहुली झैं रंग बिरंगी फुलले सजाई सकेको थियो । त्यसै पनि सुनाखरी फुलको शहर खर्साङ। म मेरो सपनाको महल सजांउदै थिएँ, एक पल्ट रेडियो स्टेसन जान त पाँउ भन्दै थिँए। भगवानले "तं चिता म पुराई दिन्छु भन्छन्" भन्थे । सांच्चो पो लाग्यो मलाई।
एक दिन दादाले ल छिट्टो तयार हुनू म रेडियो स्टेसन लैजान्छु भन्नु मात्र के भएको थियो, म हतार हतार सेतो साडी आफैले बत्तु लगाई फुल बुट्टा भरेको साडी लगाई यसो गाजल लगाई चिट्टिक भईहालेँ । बाङदिल बाट ओरालो झरयौं दुई दाजु बहिनी । स्टेट बेकंमा आई पुग्यौं तल हेरें रेडियो स्टेसन मेरो आँखा अगाडि देखेँ । त्यसै त सुनाखरीको शहर भन्छन् खर्साङलाई त्यसमाथि वसन्तमा फुल्ने हरेक फुलै फुलले सजिएको थियो । खर्साङ रेडियो स्टेसन, अझ आरूबखाडाको रूखमा हल्का बैगुनी रङ्गले टम्म भरिएको फुलले सुनमा सुगन्ध थपेको थियो ! मेरो सपनाको ठाँउ त कती रमाईलो रङ्गिन ! म रोमाञ्चित बने। सबै फुलहरूले मलाई स्वागत गरे झैं लाग्यो। आज जस्तो पर्खाल थिएन त्यहाँ मात्र कांडे तार थियो।
जे होस म खर्साङ रेडियो स्टेसनमा प्रवेश गरें । मेरो सपना साकार भएको भान हुदैं थियो । सारा आकाशमा आफ्नो स्वरको तरङ्गले तरङ्गित पर्ने मेरो इच्छा अब पुर्ण हुँदैछ भन्ने अनुभूति गरेँ ।आहा ! बयानै गर्न न सक्ने ऊमङ...! विनोद दा प्रती मनमनै आभार व्यक्त गर्दै थिएँ । दादाको साथीहरू रेडियोमा इन्जिनियरिङ क्षेत्रमा काम गर्नु हुन्थ्यो । त्यसैले मलाई त्यहाँ सम्म पुराउन दादालाई दु:ख भएन ।
मैले स्टुडियोको बिभिन्न फाँटहरू घुम्ने मौका पाँए । निकै रमाइलो लाग्यो । मेरो खुशीको ठेगाना थिएन । म गद गद थिएँ। सानो कोठीमा एउटा ग्रामो, एउटा म्युजिक , एउटा टक स्टुडियो र एउटा डबिङ्ग कमरा मात्र थियो त्यस ताका । आज जस्तो ठुलो थिएन। तर कार्यक्रम भने स्तरिय हुने गर्थ्यो ।
म रमाई रहेको बेला एक जना काले काले बान्कि परेको राम्रो मान्छे मेरो छेउमा आई मलाई "तिम्रो नाम के हो "? भन्दै सोध्नु भयो । म अवाक भएँ , दादा तिर हेरें । दादा साथीहरू सित व्यस्त हुनुहुन्थ्यो । म दादा तिर हेर्दै डराँउदै उत्तर दिएं "मेरो नाम ललिता जोशी हो" ! "तिम्रो सोर त मलाई मन पर्यो" भने उनले! ला..म अलिक डराएं । के गंरू गंरू जस्तो भयो मलाई । सोध्नु हुदै रैछ । म झस्केँ ।
"तिमी रेडीयोमा काम गर्छौ ?" निशब्द बने विश्वासै भएन । "रेडियोमा काम गर्छौ"? फेरी उनले प्रश्न गरे ! मन मनमा सोचे के खोज्स अन्धा आँखो भने झैं भान भो ! मैले मुन्टो हल्लाएँ गर्छु भनेर , मुखबाट वाक्य फुटेन। वहाँले आफ्नो परिचय दिनु भयो मलाई ! "म रविदाश ,म युवबाणी हेर्छु, भोली मलाई मन पन परेका गितको कार्यक्रम तयार पार्नु पर्छ आउनु" भन्नु भयो । मेरो भुंइमा खुट्टा रहेन !
अनी एक हप्ता काम सिकेर युवाबाणि सन्चालन गर्नु भने । मैले सोझै चौध दिनको कनट्रक्ट पाँए । एक दिनको चालिस रूपया गरी दुई सय चौरानब्बे रूपयाको चेक चौध दिन पछी हात पर्यो। मेरो पहिलो कमाई थियो।
मेरो जीवन रेडियो सित जोडिन पुग्यो त्यसदिन देखी मेरो रेडियो सितको स्वरणिम यात्रा आरम्भ भो !!!!. नजिकैको टक स्टुडियोमा कपाल लामो भएको स्वर मिठो भएको केटो केही रिकोर्ङ गर्दै थिए! मलाई छड्के आँखाले हेर्दै पनि थिए । त्यो हेराईमा के जादु थियो कुन्नी म मन्त्रमुग्ध बन्दै गईरहेथें। त्यो मिठो स्वर म भित्र भित्र पस्दै थियो। थाहा छैन कस्तो जादु थियो त्यो स्वरमा ! मिठो मिठो कुन्नी कस्तो कस्तो भान भई रहेको थियो मलाई ।
पछी वहाँले मलाई काम सिकाउनु भयो। वहाँको नाम युगेन्द्र कुमार क्षेत्री रहेछ, तर सबैको प्यारो Y k को नाउले चिनिने व्यक्ति थिए उनी।। १९७७ को जुन महिनामा वहाँ " ए आई आर दिल्ली इ एस डीमा" मा कार्यरथी भई दिल्ली जानु भयो। १९८१ मा मेरो बिहे वहाँ सित भयो र म पनि दिल्लीमा उदघोषिका , नाटक कलाकारको रूपमा जोडिन पुगें।
YKज्युले बिहे भई सके पछी एक दिन हामी मेक्सीकोको बाह्र तल्ले क्रुजमा (Golden Glory Cruise) घुम्न गएका थियौं। चिसो चिसो समुन्द्रको हावामा साँझ पख चिया पिउँदै मलाई हेरी मुसुक्क मुस्कुराउँदै ,हावाले उडाइको मेरो केश मुखबाट हटाउदै उहाँले भन्नु भयो " तिमीलाई थाहा छ ? तिमीलाई पहिलो पल्ट खर्सँग रेडियो स्टेसनमा सेतो साडीमा देख्दा नै मन पराइ सकेको थिएँ ( Love at first side) ।"भन्दै अँगालोमा कस्नु भएको थियो ।
वहाँले मलाई असाध्य माया गर्नु हुन्थ्यो । धेरै गहिरो मायाको लम्बाई छोटो हुँदो रहेछ । यो छोटो लम्बाईको तन्काई अटुट हुँदो रहेछ । उहाँले सुम्पेर गएको अगाध माया मरणोप्रान्त सम्हालेर राख्ने छु । उहाँको प्रतिरुप कहिले छोरा छोरीमा देख्छु जस्का नशामा उहाँको रगत बगेको छ त कहिले खर्साङ रेडियोमा देख्छु जहाँ बाट हाम्रो दाम्पत्य जीवनको सुरुवात भएको थियो ।
कलमकारको जीवनमा खर्साङ रेडियोले ल्याइदिएको बसन्तको वासना AIR Nepali ESD सम्म बसाउन पुग्यो। आज पनि त्यो वासना यथावत् छ । स्व० रविदाश सर र श्री विनोद जोशी प्रति हार्दिक आभार व्यक्त गर्दछु । साधुबाद छ खर्साङ रेडियोलाई ।
हाल: भारत