भाउजु हजुरको नाम के हो?
उसले सोध्यो जसले वर्षौंदेखि हप्तैपिच्छे
मैंले बनाएको चिया पिउँथ्यो
घण्टौं गफ गर्थ्यो
त्यो रात मेरो स्वाभिमानले पनि
मेरो नाम सोध्यो
खै किन पीर पर्यो
साँच्चि मेरो नाम के हो ?
पहिचान दिने मेरो काम के हो?
नागरिकताको फोटोकपी बुझाउँदै थिए
प्रश्न तेर्सियो मल्ल ठकुरी?
मानौं श्रेष्ठ लेख्नेले ठूलो कुरा देखेंका थिए
मलाई नसोधी श्रेष्ठ लेखिदिएका थिए।
अनि, किन किन पिर पर्यो
आर्मी अफिसरको हुं एउटी छोरी
हुर्किएकी थिएं दुइटा भाईको धराले गरी
बुबाको घरबाट जग्गा सुनचाँदी केही ल्याएकी छैन
दुई छाक खान मैले दुःख नगरेको कुनै दिन छैन
माइतीबाट केवल ल्याएकी छु मल्ल थर
श्रेष्ठ किन नलेखेको भनि सोध्छ पूरा शहर ।
भाउजु त टिचर, प्रा. वि की नी मा वि?
वैकल्पिक उत्तर थियो प्रश्नमा
उत्तर नै थिएन प्रश्नमा ।
मा वि सोसल टिचर हो ।
मास्टर डिग्री पढिछ ।
बधाई छ दाई , भाउजुलाई पढाएकोमा !
बधाई उता गयो, यता फर्केंन
खै किन ? पीर पर्यो ।
एक छाक अरुले पकाएको खाएर परीक्षा दिएकी थिइन्
एउटा कलम कसैबाट उपहार पाएकी थिइन्
पढाई पढाई पढाई भन्दा
दुःख महसुस गर्न नी फुर्सद थिएन
तीजको दिन परीक्षा हुन्थियो,
सुत्केरी हुँदा आयोग खुल्थ्यो,
तीन वर्षको पढाइ पाँच वर्षमा गरें पूरा ।
आयोगको तयारी गरें, हुर्काएर दुइटा छोरा
तर नी बधाई उता जान्छ यता आउँदैन
त्यसैले झस्किईरहन्छु
सम्झेर यीनै तीन पल !
पीर परेका तीन पल !
पीर पारेका तीन पल !