हाम्रो परम्परामा, हाम्रा शास्त्रहरूमा, नीतिका रूपमा पनि बाबु, आमा र गुरुको विशेष महत्त्व देखाइएको छ। तिनलाई विशेष महत्त्व दिइएको छ। तिनको सबैभन्दा बढी महत्त्व हुनुको व्याख्या समेत विशेष रूपमा गरिएको छ। तिनलाई महत्तव दिनुका विविध कारणहरू पनि देखाइएका छन्। त्यस्तै कोको बाबु वा सो ससरहका हुन्? को को आमा सरहका हुन्? को को गुरु वा सो सरहका हुन्? कोको गुरु हुन्? भन्ने जस्ता कुराको पनि व्याख्या गरिएको पाइन्छ।
हुनत मतहरू फरक फरक पनि होलान् तर पनि तिनका भाव मिल्दाजुल्दा छन्। यी र यस्ता कुरालाई ध्यान दिएर हेर्दा उनीहरूलाई सम्मान गर्नुपर्ने कुरा र गर्नुपर्नाका कारण पनि फरकफरक हिसाबमा दिइएको, देखाइएको भेटिन्छ, पाइन्छ।
यसको एउटा उदाहरण “मातृदेवो भवः, पितृदेवो भवः, आचार्य देवो भवः” का रूपमा पाइन्छ। यसकै हाराहारीमा, व्याख्यामा, पुष्टिमा लेखिएका, रचिएका अनेकौं विषयवस्तु पनि भेटिन्छन्, तिनको यथार्थ बुझ्न कतिपय भनाइहरू सहायक हुन सक्छन्। त्यस्ता भनाइ विविध प्रसङ्गमा आएका छन् र विविध ठाउँमा छन्।
उदाहरणका लागि केही प्रसङ्गः
जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः
(जन्म दिने, मन्त्र दिने, विद्या दिने, पालन गर्ने, रक्षा गर्ने पाँच जना पिता वा पिता समानका हुन्।)
उपर्युक्त श्लोकमा पिताका रूपमा लिइनेहरूको बयान गरिएको छ । यो भनाइका आधारमा जन्मदिने बाहेकका अरू खास व्यक्तिलाई पनि पिता जत्तिकै मानिएको, भनिएको देखिन्छ। यद्यपि जन्म दिने, मन्त्र दिने, विद्या दिने, पालन गर्ने, रक्षा गर्ने भन्नेमा पनि आआफ्नै खालका व्याख्या हुन सक्छन्, हुन्छन्। यस्तै विषय आमाका बारेमा पनि छ, पाइन्छ । सन्तानको संरक्षण संवर्धनमा तिनको जुन त्याग, योगदान, समर्पण हुन्छ त्यसकै आधारमा उनीहरूलाई आदर सम्मान गर्ने परम्परा बसालिएको देखिन्छ।
नीति भन्छ-
यं माता पितरौ क्लेशं सहेते सम्भवे नृणाम्
न तस्य निष्कृतिः शक्या कर्तुं वर्ष शतैरपि।
(आमाबाबुले जन्माउन, पाल्न, हुर्काउन,पढाउन जुन दुःख कष्ट सहेका हुन्छन्, त्यसको मूल्य सय वर्षमा पनि चुकाउन सकिन्न।)
आमाबाबुलाई मान्नुपर्छ भन्नुका कारण विविध होलान्, यहाँ तिनको व्याख्या गर्न नसकिएला तर पनि तिनको महत्त्व भने तल माथिका थोरै उदाहरणबाट पनि बुझ्न सकिन्छ।
न च विद्यासमो बन्धुः च व्याधिसमो रिपुः
न चापत्यसमः स्नेही न च धर्मो दयापरः
(विद्या समानको बन्धु कोही पनि हुँदैन।.... सन्तान जति प्यारो कोही हुँदैन ।)
न मातुर्दैवतं परम्, (आमा भन्दा ठूलो अर्को देवता छैन।)
यस्ता भनाइले पनि माथिका कुरालाई नै पुष्टि गर्ने गरेका छन्।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुर्साक्षात्परंब्रह्म तस्मै श्रीगुरवे नमः ।
(गुरु ब्रह्मा हुन्, गुरु विष्णु हुन्, गुरु नै महेश्वर हुन्।
गुरु साक्षात्परब्रह्म हुन् ती श्रीगुरुलाई नमस्कार छ।)
आमा, बाबु र गुरु यी तीनकै विषयमा यस्तो भनाइ पनि पाइन्छ, जसले तिनको महत्त्वको पनि वर्गीकरण गरेको छ।
उपाध्यायान् दशाचार्यं आचार्याणां शतं पिता
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।
(उपाध्याय भन्दा दश गुना श्रेष्ठ आचार्य, आचार्य भन्दा सय गुना बढी श्रेष्ठ पिता हुन्छन् र पिता भन्दा हजार गुना बढी गौरवयुक्त माता हुन्छिन्।)
यद्यपि यो भनाइले गुरु, बाबु र आमाको महत्त्वको वर्गीकरण गर्दै तिनमा क्रमिक अन्तर देखाउने गरेको छ। तथापि यसका विषयमा पनि चर्चा गर्न, तर्क गर्न नसकिने होइन, सकिन्छ र अरू धेरै ठाउँमा तिनका अलग अलग महत्त्वबारे चर्चा गरिएका उदाहरण पनि दिन सकिन्छ। तिनमा बराबरीका कुरा पनि नआउने होइनन्, आउँछन्।
यसै गरी कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति, (कुपुत्र हुन सक्छ तर कुमाता हुँदैन)
पनि भन्ने गरिएको पाइन्छ ।
धेरैले यो भनाइलाई अलि फरक ढङ्गले हेरेर ‘आमा पनि त खराब हुन सक्छिन्’ भनेका छन्, भन्छन्, तर यसको अन्तर्यचाहिं आमा व्यक्तिलाई भनेको होइन, मातृत्वलाई भनेको हो भन्ने कुरा बुझ्नुपर्छ। जहाँ मातृत्वको कुरो हुन्छ त्यहाँ यसको पुष्टि हुन्छ।
त्यस्तै हिन्दी साहित्यमा गुरुको महत्त्व दर्शाउने एउटा दोहा छ-
गुरु गोविन्द दोऊ खडे काके लागौं पाय
बलिहारी गुरु आपने गोविन्द दियो बताय।
गोविन्दको महत्त्व बताउने पनि गुरु भएकाले गोविन्दको भन्दा पहिले गुरुकै वन्दना गर्ने आशय यसमा पाइन्छ ।
हुनत शास्त्रले अतिथिदेवो भवः(अतिथिलाई देवता मान्ने होऊ) भनेर अतिथिहरूको महत्त्व पनि उस्तै गरी देखाएको छ तर पनि व्यवहारमा चाहिं आमाबाबु र गुरुसँग बढी नजिकको सम्बन्ध हुने र देखिने हुनाले उनीहरूको बढी चर्चा भएको हुन सक्छ, र छ पनि।
यी सबै विषयहरूले जे जस्ता कुरा देखाउन, बताउन खोजेपनि हामीले विभिन्न घटनामा, पुस्तकहरूमा, शास्त्रहरूमा, नीतिमा र व्यवहारमा पनि आमाबाबु र गुरुका त्याग, समर्पण, स्नेह, योगदान आदि देख्न, सुन्न पढ्न र अनुभव गर्न सक्छौं। त्यसका निम्ति तमाम दृष्टान्तहरू भेट्न सकिन्छ। चाहे त्यो पूर्वीय समाजमा, शास्त्रमा होस् चाहे अन्यत्र । मात्रात्मक अन्तर भेटिएला, तर त्यसको स्वरूप चाहिं सबैतिर छ, पाइन्छ।
यिनै प्रसङ्गमा महाभारतका दुई उदाहरण यहाँ प्रस्तुत छन्-
१,द्रोणको किशोरावस्थातिर लाग्दै गरेको एउटा छोरो थियो- अश्वत्थामा । घरमा गरीबी थियो । साथीहरूसँग खेल्दै गरेको बेला साथीहरूले दूध खाएको देखेर उसलाई पनि दूध खान मन लाग्यो । घरमा आएर उसले पनि दूध खान्छु भनेर माग र जिद्दी गर्न थाल्यो । गरीबको छोरोलाई दूध कसले दिने ? उनीकहाँ गाई थिएन । सँगै आएका छिमेकका साथीहरूले उसलाई फुल्याउन पानीमा अलिकति पीठो घोलेर दिए । त्यही खाएर ऊ खुसीले नाच्न थाल्यो । छोराको यो हालत देखेर द्रोणको मन द्रबित भयो । उनी घर छोडेर सरासर आफ्ना सहपाठी राजा द्रुपदकहाँ पुगे । द्रुपदले उनलाई सहयोग त गरेनन् नै गरीबीको उपहास गरे, अपमान गरे। छोराको निम्ति त्यो अपमान ब्यहोरेका द्रोण हस्तिनापुरमा पुगे । उनको क्षमता जानेका भीष्मले उनलाई राजकुमारहरूलाई पढाउने गुरुका रूपमा नियुक्त गरे ।
छोराकैनिम्ति उनी गुरु(आचार्य)बन्न पुगे । आचार्य मात्र होइन, दरबारिया बनेर एकलव्यलाई पढाउन अस्वीकार गर्ने बने । औंला कटाएर अर्जुनलाई सर्वश्रेष्ठ बनाउनसमेत तयार भए । त्यतिले पुगेन, हरेक युद्धमा कौरवका योद्धा बने, महाभारतको युद्धमा भीष्म पछिको सेनापति समेत बने । युद्धमाछोराको निधनको खबर सुनेपछि हतियार त्याग गरेर प्राण त्याग्न तयार भए । त्यसैबेला उनी मारिए। हतियार त्याग्नु अघि उनले भने- छोरै रहेन भने मैले कसका निम्ति लड्ने ? कसका र केका निम्ति बाँच्ने ? यही कुरालाई मैले आफ्नो ‘त्रासदी’मा यसरी व्यक्त गरेको हुँ ।
छोरै श्रेष्ठ बनोस् भन्ने भित्री स्वार्थ र रागले
थोरै गुमानले धेरै छिपेको अनुरागले
पुत्रकै हित सम्झेर हस्तिनापुर छोडिनँ
उसकै निम्ति प्यारो यो आचार्य पद छोडिनँ
सबैको मूल आधार यसकै प्रेम हो, अतः
के बाँच्नु अब खै मैले अश्वत्थामा हतोहतः
एउटा बाबु सन्तानको मायाँमा केके गर्न, केके सहन सक्छ? र केके गर्न बाध्य हुन्छ? यसको एउटा उदाहरण हो यो। आमाको ममताको त कुरै नगरे हुन्छ । त्यस्ता अनेकौं उदाहरण छन्, पाइन्छन् ।
२,महाभारतको युद्ध चलिरहेको थियो । तमाम योद्धाहरू युद्धमैदानमा लडाइँमा सामेल थिए। तीमध्येका कतिपय योद्धा विशेष युद्धकलाका ज्ञाता थिए । तिनमा विचित्रको युद्ध कौशल देखिन्थ्यो । भीष्म, कृप, अश्वत्थामा,कर्ण, भीम, अर्जुन, नकुल, सहदेव, द्रुपद, सात्यकी, धृष्टद्युम्न, घटोत्कच, अलम्बुष, दुःशासन, जयद्रथ, सुशर्मा लगायतका असङ्ख्य वीरहरू युद्धमैदानमा थिए।
त्यही युद्धमैदानमा एकदिन आचार्य द्रोण र उनका आफ्नै परमप्रिय शिष्य अर्जुनका बीच घनघोर युद्ध चलिरहेको थियो। दुवैले एकअर्कालाई प्रहार गरिरहेका थिए। दुवैका अङ्गमा घावैघाउ बनिरहेका थिए। घाउबाट रगत बगिरहेका थिए। दुवैका शरीरमा जताततै घाउ र रगत मात्र भएजस्तो अवस्था थियो, तैपनि ती दुवै पर्वाह विना लडिरहेका थिए।
मैदानमा एउटा अचम्मको दृश्य देखापर्यो । एकातिर बुढा द्रोणका शरीरमा अर्जुनका तीखा वाण लागेर बनेका घाउबाट तर्तरी रगत बगिरहेका थिए । अर्कातिर जोश र उमङ्गसाथ लडिरहेका उनै द्रोणका दुवै आँखाबाट बर्बरी आँसु खसिरहेका थिए र मनमनै वाह ! अर्जुन, मेरो प्यारो शिष्य ! भन्दै आत्मगौरवको अनुभूति गरिरहेका थिए । देख्ने, सुन्नेहरूका लागि अचम्म लाग्ने दृश्य थियो त्यो।
दिन ढल्यो । युद्ध रोकियो । अर्जुनको मनमा दिउँसोको त्यो दृश्यले एक प्रकारको खुल्दुली उब्जाएको थियो। उनलाई युद्धमैदानमा गुरु द्रोणको आँखामा देखिएको त्यो आँसु एकदमै रहस्यमय लागेको थियो । उनको मनमा एकखालको जिज्ञासा थियो । शिविरतिर फर्कँदै गर्दा उनले जिज्ञासु नजरले वासुदेवतिर हेरे । बोल्न भने सकेका थिएनन् ।
उनको आशय बुझेका कृष्णले भने – पार्थ संसारमा सच्चा गुरुमा आफ्नो शिष्यको उन्नतिमा, उसबाट हुने पराजयमा जुन गौरवबोध हुन्छ, त्यो अतुलनीय हुन्छ । आफ्ना सन्तानको उन्नतिमा बाबुआमाको र शिष्यमा गुरुको सदैव गौरवबोध हुन्छ । उनीहरू आफ्ना सन्तानले, शिष्यले आफूलाई जितून् भन्ने चाहना राख्छन् । आफूहरूले उनीहरूसित हार्दा पनि गौरवबोध गर्छन्, खुसी हुन्छन् । जहिले पनि आफ्नो शिष्यले आफूलाई उछिनेको, जितेको हेर्न चाहने गुरुद्रोणको आँसुमा त्यही खुसी झल्केको थियो जुन खुसी हरेक सच्चा गुरुमा हुन्छ । त्यो उनको पीडाको आँसु होइन, त्यही शिष्यको शौर्यमा भएको गौरवबोधको आँसु हो, खुसीको आँसु हो । संसारमा आफू हार्दा पनि गौरवबोध गर्ने, खुसी हुने कोही हुन्छन्, छन् भने बाबुआमा र गुरु नै हुन् । तीबाहेक अरू कसैले पनि आफ्नो हारमा खुसीको, गौरवको अनुभूति गर्न सक्दैन । त्यसलाई सहज रूपमा लिन पनि सक्दैन ।
कृष्णका कुरा सुनेर अर्जुन केहीवेरसम्म एकदमसित भावुक बने । उनका पनि आँखा रसाए । मनमनै भने – मेरा परमप्रिय गुरु ! हजुरलाई शतशः नमन ।
यी त पुरानो समयका उदाहरण मात्र भए । आज पनि आमाबाबु र गुरुहरू आफ्ना सन्ततिको, शिष्यको उन्नति, प्रगतिमा, स्नेहमा जति खुसी हुन्छन् त्यत्ति र त्यो भन्दा बढी खुसी को हुनसक्छ? चाहे तिनको व्यवहार जस्तो होस्, तिनको उन्नतिमा, सदैव खुसी हुने यिनै हुन्छन्, त्याग र योगदान यिनैले गर्छन् । समर्पित यिनै हुन्छन् । त्यसैले यिनको स्थान पनि सबैभन्दा माथि, उच्च मानिएको हो, मानिन्छ। यही हो हाम्रो आदर र प्रेमको परम्परा जसले हामीलाई सदैव घच्घच्याइरहन्छ।