लुच्चा भए सबै देऊ मलाई भोट माग्दछु
जनता देशको सेवा गर्न सत्य म लाग्दछु
पाए पद जहाँ जेजे पर्छ त्यो काम गर्दछु
भन्नेको चालले भन्छ-सत्य छिप्दैन क्यै गरी
बाठा,सिपालु ती भोट माग्न मीठा कुरा गरी
जितेपछि उही उस्तै गर्जन्छन् बाघ झैं गरी
भयो के काम गर्जेर? समात्यो देशले धुरी?
भुक्ने कुकुर टोक्दैन- सत्य छिप्दैन क्यै गरी
नजाने धाक लाएर कति कस्ता कहाँ पुगे
मिल्दछन् भोटकानिम्ति हेप्छन् नराम्ररी जिते
देखाई डर वा धाक काम हुन्छ र के गरी
स्वभावले भनेकै छ- सत्य छिप्दैन क्यै गरी
बनेर कहिले मान्छे स्वभाव बन्छ मानवी
लुटेर खान पल्कन्छन् एकफेरा जितेपछि
लाग्दछन् पद, कुर्सीमा बिग्रिएर नराम्ररी
कुरा जाने बुझैकै हो- सत्य छिप्दैन क्यै गरी
सबै पेशा लिने कर्मी कवि लेखक जो पनि
आडमा धन खोज्ने हुन् देखिंदामा ठुलै उनी
धर्म, वाद र सिद्धान्त अधिकार थरी थरी
भए ठग्ने बहानामा-सत्य छिप्दैन क्यै गरी
(रचनाकाल २०३७ माध २१)