Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मनमा कुरा खेलाउँदै जाँदा ​​-डिल्लीराज अर्याल

मनमा कुरा खेलाउँदै जाँदा ​​-डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

२, भाद्र २०८१
images
मनमा कुरा खेलाउँदै जाँदा ​​-डिल्लीराज अर्याल


शारीरिक अस्वस्थताले मनलाई र मनको अस्वस्थताले शरीरलाई कति र कस्तो असर पर्छ ? मैले किटान गरेर भन्न सक्दिनँ, तर असर गर्छ भन्ने कुराचाहिं भन्न सक्छु । मैले आफ्नै अनुभवले पनि कतिपय कुरा भन्न सक्ने भएको र भन्ने गरेको छु । केही अरूका भनाइ सुनेको छु र केही लेख रचना पनि पढेको छु ।

धेरैजसो मान्छेले मनमा विभिन्न खालका कुरा खेलाउँछन् । मनमा अनेक प्रकारका चिन्ता लिन्छन्, पीडाबोध गर्छन् । कैयौं कुरामा असन्तुष्ट हुन्छन् र त्यो असन्तुष्टि पोख्छन् पनि । पोख्ने मात्र होइन, त्यसबारे मनमा कुरा खेलाउँदा खेलाउँदै, चिन्ता गर्दा गर्दै अशक्त बन्दै गएका पनि हुन्छन् । शायद पशुपक्षिहरूले असन्तुष्ट नबन्ने, असन्तुष्टि नपोख्ने र मनमा पीडाबोध पनि खासै नगर्ने हुनाले नै तुलनात्मक रूपमा मान्छेभन्दा अस्वस्थ पनि धेरै कम हुन्छन् ।

बाँदरबारे अध्ययन गर्ने वैज्ञानिकहरूले धेरै समयको अनुसन्धानपछि भन्न थालेका छन्- “बाँदर मान्छे झैं सहजै बिरामी हुन्न । सामान्यतया यसलाई रोग लाग्दैन । यसको मुख्यकारण चाहिँ उसको खानपानको तरिका हो ।“ उनीहरूका अनुसार बाँदरले बिहान सबेरै अघाउञ्जेल खानेकुरा खान्छ, तर बेलुका भएपछि खान्न । यो नियम नै उसको स्वस्थ हुनुको प्रमुख कारण हो ।

पशु पक्षिहरू पनि अस्वस्थ हुँदै नहुने होइन, हुन्छन्, असन्तुष्ट नहुने पनि होइन, हुन्छन् तर तिनमा मान्छेमा झैं मानसिक पीडा र तनाव हुँदैन । त्यसलाई मनमा लिइरहन्नन् । तत्काल जे प्रतिक्रिया आयो आयो, पछि त्यसलाई लिइरहन्नन् । त्यसको तनाव पनि रहिरहन्न । त्यसैले पनि तिनलाई मान्छेलाई जस्तो एकोहोरिने रोग लाग्दैन । चिन्ताले, सोचले चितासम्म पुर्‍याउने अवस्था पनि प्रायः आउन्न, आएको पाइन्न ।

म आफू कतै केही त्यस्ता घटना देख्दा सुन्दा जो मार्मिक हुन्छन्, कारुणिक हुन्छन्, सम्वेदनाले द्रवित हुन्छु । कसैका घाउ देखें, कसैलाई सुई लगाएको देखें, दाँत निकाल्दै गरेको देखें वा त्यसबारे चिन्तन गर्न थालें भने मलाई चक्कर आउन थाल्छ । कपाल गह्रुङ्गो भएर आउँछ, दुख्न थाल्छ । चिटचिट पसिना आउन थाल्छ । त्यस्तै बढी चर्को आवाज, चिच्याएर बोलेको बोली, क्यासेटको चर्को आवाज, चर्को वादविवाद, झगडा आदिले पनि कपाल दुखाउँछन् । जीउ थर्र काँप्न थाल्छ ।

अहिले केही दिन भयो मलाई कपाल दुख्ने, चिटचिट पसिना आउने भएको छ । अस्वस्थ भएँ भनुँ अस्पताल जान परे जस्तो लाग्दैन । स्वस्थ छु भनुँकहिलेकहीं अलि असहज भएको अनुभव पनि, गर्दैछु । त्यसैले इच्छा हुँदाहुँदै पनि कतिपय सार्वजनिक कार्यक्रममा उपस्थित हुन पाएको,सकेको छैन । सधै उपस्थित हुने ठाउँमा समेत अनुपस्थित हुनुपरेको यो समयमा भानुलाई पनि मनले मात्र सम्झिने काम गरें, अरू कतै केही गर्न सकिनँ । 
स्वस्थ स्थितिमा पो काम गर्ने, भेटघाट गर्ने, गफगाफ गर्ने जाँगर हुन्छ र । अस्वस्थ भएपछि वा अस्वस्थ जस्तै भए पछि के काम? के भेटघाट...?  

बरू यसबीच घरै बसेर केही पुस्तक पढ्ने जमर्को गरें, पढें पनि । केही पुराना कुरा सम्झें र तिनका बारेमा विचार गरें । केही नयाँ कुरा सोचें । केही नीतिका भनाइ सम्झें र तिनका व्यावहारिक पक्षबारे चिन्तन गरें । कतिपय यस्ता कुरा पनि सम्झें, तिनका सार पनि खोजें, सोचें । अहिलेलाई-

न सा सभा यत्र न सन्ति वृद्धा: 

वृद्धाः न ते ये न वदन्ति धर्मम् 

धर्मं न तद् यत्र न सत्यमस्ति 

सत्यं न तद्यत् छलमभ्युपेतम्।

(बुढापाका नभएको सभा सभा होइन, हुँदैन । धर्मका कुरा नगर्नेहरू बुढापाका होइनन्, सत्य नभएको धर्म होइन, हुँदैन र छलकपटले ढाकिएको सत्य, सत्य नै हुँदैन, होइन ।)

उपविष्ट: सभां मध्ये यो न वक्ति स्फुटं वच:

तस्माद्दूरेण सन्त्याज्यो सभायां कीर्तयेद्धृतम् ।

(न्याय सभामा बसेर जुन मानिस सफा, सत्य कुरा बोल्दैन त्यस्तो व्यक्तिलाई टाढै राखे हुन्छ, त्यस्तो व्यक्ति सभालायक नै हुन्न ।)

मन्त्रो विहङ्गै पशुभिश्च गृह्यते
तलैश्च कुड्यैर्पटलैर्निशम्यते 
समीरणेनापि सुदूरमुह्यते 
क्वचिन्निजैराप्तजनैश्च भिद्यते ।

मन्त्र (गोप्य कुरा, सल्लाह,) हरू चराहरूले, पशुहरूले पनि लिन्छन्, लैजान्छन् । भित्ताले, छानाले, दलिनले पनि सुन्छन् । बतासले पनि टाढासम्म लैजान्छ, कतिपय आफ्नै आफन्तले पनि खोलिदिन्छन् । आदि आदि ।

यस्तै यस्तै पढें, पढेका केही सम्झिएँ र केही...। मलाई लाग्यो -अहिलेको अस्वस्थ अवस्था पनि लाभदायक भएको हो कि ! शायद जीवन भन्नु पनि यस्तै सम्झनु- बिर्सनु, अनुभव हुनु नै रहेछ कि !

हरेक कुरा, घटना, भनाइ सम्झने, बिर्सने भइरहेछ र त जीवन भएको, रहेको अनुभूति गरेको छु । अहिलेसम्म सम्झने पनि गरेको छु । बिर्सन त धेरै कुरा बिर्सिसकें । अहिलेसम्म पढेका, लेखेका, देखेका, सुनेका र भोगेका कुरा सबै सम्झेको भए कस्तो हुँदो हो? के हुँदो हो ? कल्पना गर्छु र दङ्ग पर्छु ।

हुनत त्यस्ता काम, कुरा एकसाथ कहिल्यै भएनन् र हुँदैनन् पनि तर कल्पना हुँदोरहेछ, गरिंदो रहेछ । विगतका धेरै कुरा अहिले पनि सम्झन्छु तर तिनका प्रसङ्गहरू, समयहरू, स्थलहरू यताउता हुन खोज्छन्, हुन्छन्,तैपनि सम्झनामा रहेको भान हुन्छ । केही मात्रामा सन्तोष पनि ।

कहिलेकहीं मनमा तिनै मध्येका घटनाहरू सम्झनामा आउँछन् । कतिपय घटनाले गौरवबोध गराउँछन् कतिपयले दुःखित पनि बनाउँछन् । वास्तवमाजीवनका कटु अनुभवहरू, अपमान बोधहरू जति भइरहे पनि आफूले गरेका सामाजिक कार्यहरू, उपकारका कार्यहरूले मान्छेको मनमा सन्तोषको भाव जाग्दोरहेछ । 

जसले जीवनमा कुनै धार्मिक, सामाजिक काम गरेन त्यसको मनमा त्यस्तो गौरवबोध भएको होला त ? मनमा प्रश्न उठ्छ । मैले यस्तो सोचिरहेकै बेला संसारका ती व्यक्तिहरू जो राजनीतिका, समाजसेवाका, ज्ञान विज्ञानका वा अन्य कुनै पनि क्षेत्रमा राम्रा काम गरेका हुन्छन् तिनको सम्झना हुन्छ। सम्झन कोशिस गर्छु त्यस्ता नाम कति छन् कति ! आफ्नै मुलुकमा पनि त्यो सङ्ख्या कम छैन तर त्यस्तो सङ्ख्याभित्र जब अहिलेका अनुहार सम्झन खोज्छु मलाई निराश बनाउँछ ।

सामाजिक राजनैतिक.... लगायतका हर क्षेत्रमा आउने नाम कुनै समयका धेरै र कुनै समयका एकदम कम किन आउँछन् ? भन्ने प्रश्न पनि मनमा उब्जन्छ । म आफ्ना विचारहरूका आधारमा त्यो प्रश्नको उत्तर खोज्न थाल्छु । उत्तर निश्चित गर्न, बनाउन खोज्छु तर मलाई मात्र निराशा हात लाग्छ ।

आखिर किन यस्तो हुन्छ ? किन हर युगमा रामको, कृष्णको जन्म हुन्न ? किन हरिश्चन्द्र, रन्तिदेव, दधीचिको जन्म हुन्न ? किन अत्रि, विश्वामित्र, च्यवनहरूको जन्म दोहोरिन्न ? अथवा आजका युगमा किन जन्मिन्नन् विश्वामित्रहरू, सान्दीपनिहरू, वाल्मीकि र वेदव्यासहरु ? कपिल, भरद्वाज,जडभरतहरू, ?

अत्रि अनसूयाहरू, मरीचि, दधीचिहरू, युधिष्ठिर, अर्जुनहरू, सीता,द्रौपदीहरू, सती, सावित्रीहरू किन जन्मिन्नन् आजभोलि ? गार्गी, मैत्रैयीहरू, किन जन्मिन्नन् कालिदास, वाणभट्ट, भारविहरू ? माघ, दण्डि भासहरू ? बुद्ध, अशोक, अकबरहरू, लिङ्कन, भोल्तेयरहरू, किन जन्मिंदैनन् ? किन तिनका जस्तै क्षमता, गुण र विशेषताहरू देखिन्नन् ?

यस्ता नामहरू अनगिन्ती छन् हाम्रा पुराणहरूमा, इतिहासहरूमा, मनमष्तिष्कहरूमा पनि, तर अहिलेको युगमा त्यस्ता नामको खडेरी किन पर्दै गएको होला? किन वीरता, सत्यनिष्ठता, कर्तव्यपरायणता, नम्रता, शील स्वभावमा खडेरी पर्दै गएको होला ? यस्ता कुराको विकास कसरी हुन्छ? र विनाश कसरी हुन्छ ?

सोच्दा सोच्दै मेरा मनमा सकारात्मकसित सँगसँगै अलि फरक सोचहरू सल्बलाइरहन्छन् । नामहरू भने अरू पनि थपिइरहन्छन् ।

अनि एक्कासि सम्झनामा आउँछन् मधुकैटभहरू, शुम्भनिशुम्भहरू, रावण, कुम्भकर्णहरू, घोरमुखा, शूर्पणखाहरू, कंस शिशुपालहरू, जुडासहरू, इदी अमिनहरू, हिट्लरहरू, दाउद इब्राहिमहरू ... अरू अरू । म कुनै निष्कर्षमा पुग्न सक्दिनँ, मेरा नजर सामु पुराना नामसँगै हाम्रै मुलुकका अहिलेका समाजसेवीहरू, राजा महाराजाहरू, राष्ट्रसेवकहरू, नेताहरू, गुरु- शिष्यहरू, साधुहरू, सन्त-महन्तहरू, सैनिक, प्रहरीहरूको चित्र आउँछ अनि मेरा आँखा एकदमसित बन्द हुन्छन् । सोचाइ एकदमसित बन्द हुन खोज्छ र पनि मेरा मुखबाट निस्कन्छ एउटा आवाज- युग, युग, युग, ... ...। हिंजोको युग र आजको युग । अनि भोलि आउने युग पनि ।  

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - २०:२८:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend