Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

"छुवाछुत जातमा हुंदैन, आचरणमा हुन्छ"- श्री निवासाचार्यजी महाराज

"छुवाछुत जातमा हुंदैन, आचरणमा हुन्छ"- श्री निवासाचार्यजी महाराज

नेप्लिज डायस्पोरा

३, भाद्र २०८१
images
"छुवाछुत जातमा हुंदैन, आचरणमा हुन्छ"- श्री निवासाचार्यजी महाराज

छुवाछुत जातमा हुंदैन, आचरणमा हुन्छ

“यो ‘दलित’ भन्ने शब्द नेपालमा हामीले कहाँबाट ल्यायौँ? धर्म शास्त्रमा कहीँ पनि छैन, यो महायज्ञमा पनि सबैलाई मानेको छ, पूजा गरेको छ, सबैलाई सम्मान गरेको छ । सबैलाई आदर गरेको छ । अहिले म जुन व्यासपिठमा बसेको छु यो व्यासपिठमा म भन्दा पहिला लेख बहादुर विश्वकर्मा गुरुज्यू हुनुहुन्थ्यो । उहाँले यही व्यासपिठमा बसेर प्रबचन गर्नुभएको थियो । यही व्यासपिठमा बसेर अहिले म पनि प्रवचन गर्दै छु । लेखेर राख्नुस्, धर्ममा छुवाछुत हुन्छ । तर, के मा हुन्छ भने आचरणमा हुन्छ जातमा हुंदैन । मेरो आफ्नै परिवारको ब्यक्तिमा पनि फरक आचरण छ, फरक खानपिन छ, फरक गुण व्यबहार र बिचार छ, फरक धर्म निती नियम छ भने म त्यहाँ चाहीँ छुवाछुत गर्छु, तर कसैलाई जातकै आधारमा छुवाछुत गर्दिन । ”

यो भनाइ श्री निवासाचार्यजी महाराजको मुखराविन्दुबाट निस्केको हो । विश्वभरकै हिन्दूहरूका आस्थाकेन्द्र आरज्ञदेव पशुपतिनाथ मन्दिर परिसरमा हालै लगाइएको कोटिहोममा पवित्र व्यासपिठमा आसन गरेर प्रवचन् दिने क्रममा भन्नु भएको हो । उहाँभन्दा पहिला त्यही आसनमा दलित समुदायबाट गुरुज्यू लेख बहादुर बिकले प्रबचन दिनु भएको थियो । पछी त्यही आसनमा बसेर आफुले प्रवचन् दिदैछु भनेर निसँकोच मात्रै होइन गर्वका साथ भन्नुभयो ।

त्यही मन्चमा एक दिन पहिला दाङगका आचार्य कुष्ण दमाईले पनि आफ्नो प्रवचन् दिनु भएको थियो । “दलितले शास्त्र पढेर के गर्ने? कस्ले जजमानी स्वीकार्छन्? भन्ने जस्ता तीखा वचनहरू सुन्नु परेपनि आफ्ना गुरुज्यूहरूको निर्देशन पालना गर्दै जाँदा आज म यो स्थानमा पुग्ने सौभाग्य पाएँ । मान्छेहरू मृत्युपश्चात स्वर्ग जान पाउँ भनी प्रार्थना गर्नुहुन्छ । तर, आज मलाई आफू जिउँदै स्वर्गमा पुगेको भान भएको छ ।

“यो पावन भूमिको यस्तो भब्य महायज्ञमा हजारौँका संख्याका हजुरहरू जस्ता भक्तजनहरूका अगाडि यो पवित्र व्यासपिठमा आसिन हुँन पाएँ । यहाँबाट प्रथमत मेरा समस्त गुरूज्यूहरू, मलाई सल्लाह दिने सबै आदरणीय तथा पूजानीय ब्यक्तित्वहरू प्रति नमन गर्दछु र मलाई काविल सम्झेर यो अकल्पनीय माहोलमा आउने निमन्त्रणा दिनु हुने बाल योगेश्वोर महादेव ( विजय कृष्ण मुर्ती ) र सम्पूर्ण आयोजक टिमप्रति हार्दिक आभार ब्यक्त गर्दछु” भन्नु भयो आचार्य कृष्ण दमाईले ।

हुनत, यो महायज्ञ विशेष त थियो नै । किनकी भारतबाट आउनु भएकी भारतकै १० जना उत्कृष्ट कथा बाचक मध्यकी एकजना श्रीमद भागवत वाचक माता देवी प्रतिभा, शिवपुराण वाचक माता राधिका दाशी, बेलायतबाट आउनु भएकी रामकथा वाचिका चन्द्रकला शखी , ९ बर्षीय बालकथा वाचिका अनुराधा पाण्डे, भारतका सुप्रसिद्ध गुरु अनिरुद्राचार्यजी महाराज आदिको विशेष उपस्थिती रहेको थियो । त्यती मात्र कहाँँ हो र! वाचन सिरोमणी नारायण पोखरेलका छोरा देश बिदेशमा लेकप्रिय गुरु वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेल र अन्य आदरणीय तथा लोकप्रिय गुरुहरूको पनि उपश्थिती थियो । सबैका कथा वाचनले भक्तजनहरू मन्त्रमुग्ध देखिनु हुन्थ्यो भने मन्चमात्रै नभएर पुरै पशुपती परिसरनै कोटिहोममय बनेको थियो ।

सबै देवी तथा महाराज र गुरुज्यूको आ-आफ्नै बिशेषता थियो, बिज्ञता थियो । सबै उपस्थित भक्तजनहरूले मात्र नभएर सोसल मिडिया मार्फत विश्वभर छरिएर बसेका नेपालीहरूले प्रवचनको रसपान गरे ।

यी सबै कुराहरूले भन्दा यो महायज्ञमा आचार्य कृष्ण दमाई र गुरु लेख बहादुर बि क को मन्चासिनले बढी चर्चा पायो । कारण, विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल र भगवान बिष्णुका अवतार मानिने राजाले पनि आफ्ना दलित जनतालाई यो किसिमको माया र सम्मान कहिल्यै दिन सकेका थिएनन् । राजाहरूले चाहेका भए त गर्न सक्थे नि । पहिला मानन्धर र साह तेलीलाई अछुत मुक्त गरेकै हुन् क्यारे । अन्य जातलाई गरेनन् त । तर, यो कोटीहोमका आयोजक विजय कृष्ण मुर्ती महाराज र उहाँको टिमको दुरदर्शिता र मानवतावादी ज्ञानले अछुत मानिएका दलितलाई पनि त्यो पवित्र व्यासपीठमा राखे । यो नै छुवाछुतको अन्त्य भएको उर्दी भने होइन । तर, राम्रो मान्छे बन्न सके गैर दलित सरह नै समान व्यबहार पाइने रहेछ भन्ने शिक्षा भने पक्कै हो ।

सामाजिक बहिस्कारको डरले चाहेर पनि आफ्ना सन्तान अन्तरजातीय बैबाहिक समन्ध स्वीकार्ने आँट गरेका छैनन् । सम्बन्ध बनाई सकेकाहरू पनि ढाकछोप गरेर समाजबाट बाँच्न चाहेका छन् । माथिल्लो दर्जाका प्रतिष्ठित परिवारमा खासै असर परेको छैन । किनकी उनीहरूलाई समाजले बहिस्कार गर्न सक्दैन । तल्लो स्तरका बर्गलाई पनि खासै असर परेको देखिँदैन । तर मध्यम बर्गका परिवारमा भने निकै ठुलो असर परेको छ । अन्तरजातिय सम्बन्धमा सामाजिक बहिस्कारको ठुलो डर छ । यो महायज्ञले दलितलाई पनि समान व्यबहार गरेको देख्दा पिढितहरूका आँखाका डिल हर्षका आँसुले भत्काई दिए ।

“आफ्नो मन आँफैले बुझाउने हो मनको दवाई छैन,

रोएपनि जान्छ जीवन हासेपनि जान्छ जीवन चोला बग्ने खोला

बग्छ सलसल, हे! बग्छ सल सल

हल हल हल मन हल हल हल … “

यो गीत कृष्ण गुरुको मुखराबिन्दुबाट प्रबाह हुँदा हावाको चाल सँगै धानका बाला लहलाए झैँ सम्पूर्ण भक्तजनहरूका हात लहलएका थिए । जुन दृश्यले गुरु कृष्ण दमाईको सदियौँ देखी पिल्सिएर बसेको मन त्यो बेला प्रफुल्ल भएको सबै भक्तजनहरूले महशुस गरेर सद्भाव र भाईचारा मात्र होइन आदर भाव पनि सङ्गीतको धुनसँगै मिसाउनु भयो । जस्ले सनातनी मन मुट्रुहरू एकै साथ उमङ्गीत साथै प्रफुल्लित भए । जुन देख्दा विश्व सनातन परिवारले एकसाथ गर्व गर्ने माहोल बन्यो ।

बिभिन्न लालच र परीबन्धले मात्र नभएर यही बिभेद सहन नसकी अन्य धर्म सिरोधार गर्न पुगेका सनातनी परिवारका केही सदश्यहरूलाई पश्चताप लाग्न सक्छ । यस्तै कोटिहोम अन्य स्थानमा पनि यसरीनै लगाउन सकियो भने बाटो बिराएर अन्य धर्मको पोल्टामा लुट्पुटिन पुगेका सदस्यहरु बिस्तारै आफ्नै सनातनी घर फर्किने छन् ।

आफ्ना पुर्खाहरूले गर्दै आएका कुल पूजा गरी रमाउंने छन् । तीजमा आफ्नी प्यारी चेलीहरूलाई माईतिमा बोलाएर दर खुवाएर मक्ख पर्नेछन् । आफ्ना पूजानीय बुवा आमाले आशिर्वाद दिँदै कानमा सिउरिदिनु भएका पहेला जमारा र निधारमा लगाईदिनु भएका राता टिकामा सज्जिएर पिङ्ग खेल्दै दसैं मनाउने छन्, हरेक तिहारमा दिदी बहिनीले लगाइदिनु भएका सयपत्री र मखमलि फूलको माला साथै सप्तरङ्गी टिकामा सज्जिएर आफ्नी चेली सँगको नातालाई अझै प्रगाढ बनाउने छन् ।

कतै साकेला , कतै तमु ल्होसार ,कतै सोनाम ल्सोसार , कतै म्ह: पूजा, कतै घोडे जात्रा, कतै छटपूजा, कतै देउडा यस्ता पर्बहरू कती कती ? अनेक जात जाती, विविद कला, सँस्कार र संस्क्रिती समेटेको एक मात्र विशाल सनातन सभ्यता भित्र स्वतन्त्र रुपले रमाउँदै बाँच्ने छन् ।

हुनत, नेपालको मात्र के कुरा गर्नु र , भारतको पनि त्यही हालत छ । बरू नेपालमा सिक्षित र आधुनिक समाज बदलिई सकेको छ । तर भारतको स्थिती भने ज्युँका त्युँ छ । भारतका संबिधान लेखक डा. भिम राव अम्बेडकरले धेरै प्रयत्न गर्दा पनि हिन्दूका ठेकेदार भनाँउदाहरूलाई बुझाउन नसकेपछी आँफै हिन्दू धर्म त्यागेर अक्टोबर १४, १९५६ मा बुद्धिस्ट बनेका थिए । किनभने बुद्ध धर्ममा छुवाछुत हुंदैन । त्यसैले डा. अम्बेटकर सँगै रातारात करीब ४ लाख हिन्दूहरू बुद्धिस्ट बनेका थिए । “घिउ कहाँ पोखियो थालमा!” । अन्तर्राष्ट्रिय बुद्धिष्टहरूले नमाने पनि नेपाल र भारतमा बुद्धिस्ट पनि सनातन सभ्याता भित्रै पर्छन् भनिन्छ । किनकी भगवान शिवले पनि “बर्षमा एक पटक बुद्धको अवतार लिन्छन्” भन्नु हुन्छ कला र धर्म बिशेषज्ञ तथा क्लेरमन्ट युनिभर्सिटि, अमेरिकाका प्रोफेसर डा. दीपक सिम्खडा । “नवम् अवतार प्रभू बौद्ध रुप धारणाम् हिन्दू ग्रन्थमा लेखिएको छ” भन्नु हुन्छ पूर्व प्रशासक तथा वरिष्ट समालोचक युवराज मैनाली ।

यो त भन्ने कुरा मात्र न हो । बुद्धिस्टहरूको नत आहार व्यबहार मिल्छ, न त आचरण सँस्कार र संस्क्रिती नै मिल्छ हिन्दूसँग । चाहे त्यो पैत्रीक मुल घरबाट छुट्टाभिन्ना गरेका सन्तान हुन् या एउटा ठुलो देशबाट टुक्रिएर अन्य देश बनाएर सरेका नागरिक हुन् । टुक्रिनु भनेको टुक्रिनु नै हो । यस्ले आकारलाई मात्रै होइन शक्तिलाई पनि टुक्र्याउछ ।

आज त्यहा बौद्ध विश्व विद्यालय समेत खुली सकेको छ । जहाँ बर्षेनी हजारौँको संख्यामा दिक्षित हुन्छन् । हिन्दूका लागि यो ठुलो क्षति थियो र हो । त्यो क्रम अहिले पनि जारी छ । भारतले पनि नेपालको पशुपतिनाथ परिसरमा गरिएको यो कोटिहोमबाट सिक्न सके भारतमा दिनानुदिन भईरहेको हिन्दूत्वको क्षती रोक्न सम्भव हुन्थ्यो कि ?

हिन्दू भित्रको यो बिभेद अज्ञानीहरू र केही स्वार्थी धर्मगुरूहरूले आफ्नो स्वार्थका लागि चलाएको चलन रहेछ भन्ने स्पष्ट छ । यती ठुलो माहायज्ञमा आफूलाई हिन्दू धर्मका ठेकेदार ठान्नेहरूको अनुपस्थितीको मतलब नबुझ्ने को होला र ? अनुपास्थिति मात्रै होइन कोटिहोमको बिरोध नै गरे । बिज्ञले बिरोध गर्नुको सट्टा कमी कमजोरी सच्याउँन सुझाव दिएको भए कती राम्रो देखिन्थ्यो ।

दलितको पक्षमा कानुन नबनेको त कहाँ हो र ! कानुन बनाउँनेहरू नै समाजको अगाडि दलितको पक्षमा डेटर उभिएको देखिदैन । बिभिन्न सँघ सस्थाहरू यस बिषयमा कार्यरत छन् । फलस्वरुप पहिलाको भन्दा समाजको जनचेतना र सोच बदलिएको छ । तथापी पूर्ण रुपमा बदलिन सकेको छैन । कारण, यो एक गलत चलन हो भन्ने सबैलाई थाहा छ । तर पूर्ण रुपमा निर्मुल पार्न नदिन केही तत्वहरू कटिबद्ध छन् ।

ती मध्य दुइटा पक्ष प्रमुख छन् । पहिलो बिभेद गराएर आफू राजनीतिमा टिक्ने र फाईदा लिने । जस्मा बिभिन्न पार्टिका भात्री सँगठनका रुपमा दलितलाई घेरा भित्र राख्न चाहन्छन् । उनीहरूकै नेता बनाइदिएर आफ्नो स्वार्थमा प्रयोग गरी रहन्छन् । दोश्रो माथिल्लो मानिएका जातमा पनि सबै सक्षम कहाँ छन् र ! त्यहाँ पनि उच निच छ । घृणा छ, बिभेद छ । जसरी दलितहरूको बिचमा छ । आफुभन्दा हुने खानेबाट पेलिएकाहरू दलितलाई पेलेर आफू ठुलो हुँ भन्दै गम्किन्छन् । हो, अहिले पनि बिभेद निपिट्यान्नै हुन नसक्नुमा यी तत्वहरूको मुख्य भूमिका छ ।

समाजमा दण्डनीय व्यबहार छुवाछुतमा मात्रै हो । बाँकी सबै बेकारका बखेडा मात्र हुन् । दलितले भन्ने गरेका छन् की- गैर दलितको घरमा पस्न दिदैँनन् भनेर । अर्काको घरमा किन पस्नु पर्यो त ? अर्को कुरा बिहेबारी गर्न दिँदैनन् भन्छन् । उपाध्य बाहुनको छोरी जैसि, छेत्री, नेवार या अन्य गैर दलित सँग त बिहे गर्न मान्दैनन् भने दलित भनिएकालाई किन छोरी बिहे गरिदिनु पर्यो त ? आफु खुसी प्रेम विवाह त भईरहेकै छ नि । आफ्नै समुदायमा मात्रै रमाए त पुगी हाल्यो नी । किन गैरदलितकै समुदायमा जाने रहर र कोशीस गर्नु पर्यो त । रहर र कोशीस त आफ्नो बौद्धिक स्तर र आर्थिक स्तर बढाउन तिर लाग्ने हो नी ।

सक्षम ब्यक्तीको कदर कहाँ हुँदैन र ! पञ्चायती कालमा पनि हिरालाल विश्वकर्मालाई मन्त्री बनाएकै थिए, टिआर विश्वकर्मा राष्ट्रिय पञ्चायत सदश्य मनोनीत गरेकै थिए । हो, धेरै पहिलाका कुरा अली फरक थिए । तत्कालिन साशकहरूले दलितलाई शिक्षाबाट बन्चित गरेका थिए , तर आजकाल बेदका पुस्तक पसलमा किन्न पाईन्छ, गायत्रि मन्त्र युट्युबमा सुन्न पाईन्छ ।

तत्कालिन साशकहरूले दलितलाई राम्रो लगाउँन गरगहना लगाउन बन्चित गरेका थिए । तर आजकाल आँफै सुचिकार छन् जस्तो चाहे त्यस्तै सिलाएर लगाए भयो, सुनारले जस्तो गहना लगाउन मन लाग्यो त्यस्तै बनाएर लगाए भयो ।

हो समस्या गरिबिमा छ । हरेक दलितले यो कुरालाई जोड दिएर सुधार्न सक्नु पर्छ । दलित सम्बन्धी काम गर्न चाहने एन जि ओ, आई एन जि ओ तथा बिभिन्न सँघ सँस्थाहरूले उनीहरूको शिक्षामा जोड दिने हो, आर्थिक अवस्था सुधार्ने प्रयत्न गर्ने हो । अर्काको घर भित्र पस्न पाउनु पर्छ भनेर उक्साउने होइन । दलितले पनि गैर दलितलाई आफ्नो घर भित्र पस्न नदिने अधिकार छ ।

आर्थीक अवस्था सुध्रियो भने राम्रो शिक्षा दिक्षा पाउन सक्छन्, शिक्षित बनाउन सकियो भने अवसरहरूको बाटो खुल्छ । आर्थिक सम्पन्नता र सैक्षिक विद्ध्वत्ताले आत्मा विश्वास बढाउछ । सबै सँग कांधमा काँध मिलाएर हिढ्ने हिम्मत दिलाउँछ । अनी मात्र सहि अर्थमा समानता आउँछ, छुवाछुत हट्छ । आचार्य कृष्ण दमाईलाई पनि त्यसै बाटो बाट उठाएर ल्याएर त्यो मन्चमा राखिएको होइन । उहाँको विद्ध्वत्ताको कदर गरिएको हो ।

२०२० सालको नेपालको मुलुकी ऐनले जातिय छुवाछुतको अन्त्य गरिसकेको छ । बर्तमान संबिधानमा आरक्षणको ब्यबस्था गरिएको छ । नेपालको संविधानको धारा २५५ अनुसार २०५८ सालमा राष्ट्रिय दलित आयोगको गठन भएको छ । हिन्दु धर्मग्रन्थहरूमा पनि दलितलाई बिभेद गर्नुपर्छ भनेर उल्लेख गरेको छैन । हिन्दू धर्म शास्त्रमा कुनै छुवाछुत छैन भनेर सबै जसो धार्मिक गुरूहरूले खुलेर र कुर्लेर भन्ने गर्नुहुन्छ । यो कोटिहोमबाट त झनै प्रष्ट भयो ।

समयको बादलाव मात्र नभएर बिभिन्न सँघ सँस्थाको पहल र सामाजिक चेतनाका कारण पहिलाभन्दा धेरै हटीसकेको छ । असिक्षित र अविकसीत समाजमा अझै पनि रहीरहनुको मुख्य कारण समाजको डर हो । समाजलाई धर्मले बेरेको हुन्छ । धर्मले पनि र भगवानले पनि दलितलाई छुवाछुत गर्दैनन् तर त्यही धर्मका ठेकेदारहरूले गर्ने गरेको भने बेला बखतका घटनाहरूबाट थाहा हुन्छ । यिनै समुहहरूले यो महायज्ञमा पनि विरोध गरे ।

यस्को बावजुत पनि पशुपतिनाथ मन्दिर परिसरमा लगाइएको कोटिहोमको मन्चबाट बिभेदको जालोलाई च्यातीएको छ । यो कार्यक्रमबाट दलितहरूले पनि पाठ सिकेका छन् कि पढ्न सके, राम्रो काम गर्न सके बिभेद हुदो रहेनछ भनेर ।

आयोजक सँस्थाको नाम नेपाल मानव धर्म सेवा समिति र पशुपतिनाथ परिसरमा लगाइएको कोटिहोम २०८१ मा दलित समुदायका आचार्य कृष्ण दमाई र गुरू लेख विश्वकर्मालाई व्यासपिठमा राखिएको बारे दलित समुदायको ईतिहासमा सुनौला अक्षरले लेख्नेछन् ।

-राम लामा अविनाशी
अमेरिका

images
प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - २३:२९:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend