Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नाटकको कलाकार भएको दिन सम्झँदा ( सँस्मरण )

नाटकको कलाकार भएको दिन सम्झँदा ( सँस्मरण )

नेप्लिज डायस्पोरा

७, भाद्र २०८१
images
नाटकको कलाकार भएको दिन सम्झँदा ( सँस्मरण )

नाटकको कलाकार भएको दिन सम्झँदा ( सँस्मरण )

१९८० सेप्टेम्बरको कुरो हो । सुकेपोखरी दार्जिलिङमा युवक सङ्गको बेनरमा छुट्टै प्रान्तको ठुलो कार्यक्रम भएको थियो। जसको परिकल्पना र प्रायोजक श्री लक्ष्मीकान्त जोशी हुनुहुन्थ्यो भने आयोजक युवक संङ सुके पोखरी । कुमार भोटे युवक संघको अद्धयक्ष थिए। गोर्खा भोजन र गोर्खा लिवासका साथ तिनदिने कार्यक्रम सम्पन्न भएको थियो।

 

श्री शिव कुमार राई लगायत खर्साङ ,दार्जिलिङ , कालेबुङ र सिलगढी का विज्ञ , ज्ञानी, पत्रकार, साहित्यकार, समाज सेवी र राजनीतिज्ञ सबै सबैको भेला थियो। यसै कार्यक्रममा छुट्टै प्रान्तको कार्यकारिणी परिशदको चयन भएको थियो । यसको साक्ष्य कलमकार पनि हो।

सुकेको कार्यक्रम सकेपछी भोली पल्ट दार्जिलिङको जी. डी .एन .एस .भवनमा छुट्टै प्रान्तको नवनिरवाचित कार्यकारिणीको प्रथम बैठक बसेको थियो । यस कार्यक्रममा कलमकार पनि बुवा ( लक्ष्मीकान्त जोशी) पछ्याउदै दार्जिलिङ पुंगेकी थिई।

यसै दिन खर्साङ बाट एक हुल गाडी सुके पुगेछ कलमकारलाई खोज्दै। सुकेबाट आमालाई भेटेर दार्जिलिङमा बुवालाई खोज्दै रहेेछन। मेरा बुवा लक्ष्मीकान्त जोशीले छेउमा आई मलाई सोध्नु भो तिमीलाई लिन आउनु भा रैछ केही थाह छ किन ? बुवाको प्रश्न सुनेर म अवाक परें , मैले डरले मुन्टो मात्र हल्लाएं बुझिन भनेर।

मनमा थरी थरीका प्रश्न खेल्न थालेका थिए, केटी मांग्न आँउदा पो यसरी आँउछन त। भालूको मन खनिउ माथी भने झैँ , कहिले बिहे गर्ने …सबैको यही प्रश्नले वाक्क भएको मनले यही सोच्न बाध्य गरायो ।

डम्मर बहादुर प्रधान मेरा धबा टाढाको साइनो हुनुहुन्थ्यो । कलेज पढदा वहाँको घर खुराकिमा बसेर पड्दै थिएं। पुर्ण गुरूङ निरूपम दाजु र वसन्त श्रीमल दाजुयहाँहरु सित परिचय थियो ! तर अरूलाई भने चिनेकी थिईन। पछि बुझ्दा जागृती परिवार खरसाङका सदश्यगणहरू रहेछन् ।

मेरा अनुहारमा थरीथरीका तरङ्गहरू आँउदै जाँदै गर्दै थियो । म अवाक थिँए । सोचमा परेँ । मैले त केही बीगार पनि गरेकी छैन। मैले जीवनमा धेरै कुरोहरू गर्नु सोचे कि पनि छ। अहिले त मेरो बी .ऐ. को परिक्षा पनि सिद्धिएको छैन।एकै क्षणमा मनमा के के कुरा खेल्यो खेल्यो नि । मेरा गालामा सबै रगत जम्मा भए झैं लाग्यो।

बुवाको प्रश्नले म झस्कें। मलाई प्रश्न थियो यहाँहरू तिमीलाई लिन आउनु भएको रैछ सुकेपोखरी पुगेका थिए रे हामी दार्जिलिङ मा थियौं तिम्रीआमाले यतै पठाई दिएछन्….मलाई झन डर लाग्यो किन भन्ने आंट सम्म आएन। मलाई डराएको देखेर बुवाले प्रश्न गर्नु भयो…“तिमी नाटकमा मुख्य भुमीकाको निर्वाह गर्न सक्छौ र?

ठुलो बेनर हो , काठमाण्डूमा मनचन हुन्छ अरे। स्कुल र कलेजमा मनचन भए जस्तो होईन नि! उहाँहरू तिमीलाई त्यसैले लिन आउनु भएको रे! अप्ठेरो परेको रहेछ वहाँहरुलाई। ओह ! बल्लपो बुझें मैले । अब ढुक्क भएँ।

मलाई नाटकमा भाग लिन अत्यन्तै मन पर्थ्यो। के खोज्छ कानो … भने झैं भो। त्यसै पनि नाटक मनचन गर्न मन पराउने म, कलेजमा पनि नाटकमा भाग लिने गर्थे । ठुलो मन्च पाउँदा त म गद गद भएँ। सबैको प्यारी थिए म । रेडियोमा प्रत्येक महिना एउटा नाटकमा भाग लिन्थे । चालीस रुपैया पनि पाउने गर्थे । रेडीयोमा पुन् प्रसारित पनि हुने गर्थ्यो । पूनप्रसारण भएमा दश रूपैयाँ पाउने चलन थियो ।

मलाई डर त आमाको थियो। वहाँले जान दिनु हुन्न भन्ने डर थियो । किनभने, सिन्दुर पुछिएको कथा थियो एउटा फौजी कि पत्नीको! बुवा पनि फौजी भएकोले यो कथामा आफ्नी छोरीले खेलिदिए हुन्थ्यो भन्ने लागेको त थियो होला । तर उहाँले “म एक्लै पठाँउदिन उसको धबा पनि साथ जानु हुनेछ” भन्नु भयो । बुवाको सो प्रस्तवलाई जागृती टोलीले सहर्ष स्विकार्नु भयो । अब म नाटकमा काम गर्न पाउने रहेछु भनेर कल्पना गर्न थाले।

तर मलाई भने आमाको डरले सताई रहेको थियो । मैले बुवाको अनुहारमा हेरें ! आमाले….बुवाले मेरो हेराईलाई बुझ्नु भएछ क्यारे “म तिम्री आमालाई मनाई हाल्छु । तिमी जाउ वहाँहरू सँग । नाम कमाएर आउनु है ? ” भन्नु भयो । म खुसी हुँदै टाउको हल्लएर हस भनेर। बुवालाई टाउको निहुराई ढोग गरें। मेरो लुगा फाटा खरसाङमा नै थियो, मेरो बी ए फाईनलको परिक्षा १९८१ को मार्चमा थियो ! पढ्न पनि पर्ने थियो । तैपनी म जागृती परिवारको टोली सँगै खर्साङ तिर लागें।

मैले पछि बुझ्दा काठमाण्डूका नेपाल फोटोग्राफर एसोसिएसनले “बन्दकी राखिएको सिन्दुर” लाई मनचन गर्न भनी प्रायोजक गर्नु भएको रहेछ। समय र तारिख पक्का भई सकेको रहेछ तर त्यसै बिच नाटक कि मुख्य नायिका बिरामी परेर अप्ठ्यारो परेका रहेछन् ।

चौध दिन पछी नाटक मनचन गर्न पर्ने रहेछ तर मुख्य नायिका बिरामी परेकी रहिछन् । त्यसैले यो काम मलाई गरिदिन आग्रह गर्नु भयो । मैले स्वीकरेँ । मैले चौध दिन रिहर्सलमा जोड तोडले लगन लगाई गर्न थाले। मुख्य भूमिका ( ठुली)को रोलका लागी म पारंगत हुने अठोट गरें । अरू सबैले त पहिला देखीनै दार्जिलिङ, खरसाङ कालेबुङ र सिलगडिमा मनचन गरी सकेका रहेछन् । म मात्रै एकदमै नयाँ । फेरी मैले यो नाटक हेरेको पनि थिइन । डायलग याद गर्नु पर्ने, नाटक गर्न पर्ने कसरी भन्ने प्रश्न मेरो मनमा नआएको होईन ,धेरै सतायो यो प्रश्नले मलाई। त्यती मात्र कहाँ हो र दिग्गज अभिनेता बसन्त श्रीमल दाजु पि अर्जुन दाजु जस्ता नाटक मण्डलीमा काम गर्नु कहाँ सानो तिनो कुरो हो र! तर पनि हिम्मत हारिन ।

सबैले मेरो काम मन पराएता पनि म मुख्य अभिनेता गौतम क्षेत्री सँग गितमा नाच्दा सबै गलल्ल… हाँसेका थिए । मैले जानिन रैछु। म धेरै बेर लजाएकि थिएँ। त्यस दिन म रिहसल छोडेर गएकी थिएँ, दुई दिन म रिहसल नै गईन। पछी सबै मलाई मनाउन आए र म खुरू खूरू जान थाले । आज ति दिनहरू सम्झिँदा लाज लागेर आउँछ, म आफैंमा मुस्काउँछु । मन तरङ्गित हुने गर्छ। यस्ता कतिपय क्षणहरू छन् संझदा रमाइलो लाग्छ।

आजकल जस्तो सजिलो कहाँ थियो र त्यस बेला । चौध दिनको कठोर परिश्रम ,कहिले कतै स्कुलको हल ,कैले कसैको घर र कहिले कतै गर्दै रिहलसलको चौध दिन सकियो ।

काँकरभिट्टा देखी हामी बसमा रात भरीको यात्रा पछी काठमांडु पुग्यौं। काठमांडुमा हामीलाई लाजिम्पाटको लाली गुराँस होटेलमा राखियो ।
आयोजकहरूले नै यो ब्यबस्था गर्नु भएको थियो।

काठमाण्डूको मेरो पहिलो भ्रमण थियो । बाटो भरी निदाइन । साँझ बसमा चढेको देखी बिहानै सम्म प्राकृतिक दृष्यमा रम्दै काठमाण्डू पुग्यौं।डाँडाकाडाँको दृष्य क्षितिजको भरखरै डुबेको घामको लालिमा अझ सकिएको थिएन, बस गुडन थाल्यो मनमा रोमन्च बढ्न थाल्यो। आकाशमा छरपुस्ट भएका बादल सुनौलो भेडा सरी देखिन्दै थियो। बिस्तारै अंध्यारिन्दै जाँदा चन्द्रमाको उजेलीमा बन जंङगको दृश्यले मनमा नौलो खुशी थपी रहेथियो। खोलाहरू नव बिवाहिताले आफूलाई सँभाल्न न सक्दा लतरिएको साडी झैं देखिन्दै थियो भने बन जङ्गल जुनेली रातमा बेग्ला बेग्लै र रङ्गले रङ्गिएका थिए। बिस्तारै भुकभुके उज्यालो पाइला पसार्न थाल्यो, झ्याँउकिरीको झ्ँयाउ-झ्ँयाउको स्वरले मनमा कस्तो कस्तो उनदमात छर्न थाल्यो। कल-कल गर्दै दौडदै गरेका खोला नाला चरा चुरूङ्गीको कलरब साँचै मनोरम थियो दृष्य। आहा कती रमाईला र रमणिय दृष्य र खुशी मनमा समेटि काठमाण्डू पुग्यौं।

म धेरै खुशी थिएँ। म सानी बालिका झै यता उता दौडी रहन्थेँ । इन्दिरा बहिनी( मुखेनी) म सँग रिसाउने गर्थिन । हामी चारजना केटिहरू थियौ, बिमला देेवान, इन्दिरा क्षेत्री, अनिता गुरूङ र म ललिता जोशी।

केटा हरू ..बसन्त श्रीमल, बसन्त बमजन, पुर्ण गुरूङ, बी बी गुरुङ, बासुदेउ थापा, के बी थापा, कुसाङ शेर्पा, एन जी लामा,प्रणाम प्रधान, लक्ष्मण गुरुङ,मोहन लामा र दावा लामा । नाटकको उदघोषणा भने गजबका स्वरका धनी पी अर्जुन दाजुले गर्नु भयो ।
अझ थुप्रै पर्दा पछाडीका कलाकारहरूको नाउ लिन सकिन क्षमा प्रार्थी छु।

हाम्रो टोलीलाई नीर शाहज्यूको गाडीमा प्रत्येक दिन काठमांडु शहर घुमाउँन र मन्दिर दर्शन गर्न लगिन्थ्यो । साँच्चै रमाईलो भएको थियो यो नाटकीय यात्रा । फोटो खिच्न भने श्याम चित्रकारज्युले जिम्मा लिनु भएको थियो । वहाँले हाम्रो थुप्रै फोटो खीच्नु भएथियो, आज जस्तो थिएन त्यस बेला नेगेटिभ पोजेटिब गर्दा समय लाग्थ्यो हाम्रोमा समय थिएन , कतिपय फोटो पाउन सकेनौ। अहिले मेरो म सँग एक दुईवटा मात्र फोटोहरू छन्।

मेरो हातमा पेमला दिदीको लागी ( नारायण गोपाल कि श्रीमती) आशा दिदी( पेमला दि कि ठुली दी)ले कोशेली पठाउनु भएको थियो ( हाम्रो घर अंगान् एउटै थियो ) स्वर सम्राट नारायण गोपाल सितको भेट पहिलो थिएन , म भेनाज्यू भन्ने गर्थे वहाँलाई। स्वर सम्राट नारापण गोपाल त्यस ताक नेपाल रेडियोमा कार्यरथ हुनुहुन्थ्यो ।वहाँलाई भेट्नै पर्ने थियो त्यो कोशेली बुझाउँनका लागि । म रेडियो खर्साङ कि कार्यकर्ता भएकोले नेपाल रेडियो स्टेसन हेर्न पाउने इच्छा पनि प्रबल नै थियो। रेडियो सँगको मेरो सम्बन्ध प्रगाढ छ । नेपालमा त्यती बेला एउटै रेडियो स्टेसन थियो । बिहान छ बजेको भजन बुवाले सुन्ने गर्नु हुन्थ्यो। सबै भन्दा पहिला नेपाल रेडियो स्टेसन ( सिंह दरवार)भेट्न गयौं म र धबा। धबा खर्साङ रेडियोका कार्यकर्ता धिए, गाउँले सभाका मसिने दाईले चिनिने व्यक्तित्व।

खोई के भयो! हाम्रो नाटकको दुईवटा गित थियो, केटी (ठुली) र केटाको स्वरमा । यो नै टाईटल गित थियो। तर त्यो दुईवटा गीत नै मेटिएछ काठमांडु पुग्दा त । अब पर्‍यो फसाद ।

कस्तो छ नाटक? तिम्रो के भुमिका छ? सबै राम्रै होला नि? अरु घरेलु कुराहरू बाहेक यि प्रश्नहरू मलाई थियो भेनाजुको। म एक क्षण त अक्कमक्काएं तर भन्न कर लाग्यो। कसैलाई न भनी मैले सुट्टुक्क भने “हाम्रो त गित सबै मेटियो के गर्ने अब ! कुन्नी के गर्छन डाइरेक्टर साबले भने। मेरो गितै भएन भने त …. । वहाँले केहि भन्नु भएन तर मात्र ओहो….भन्नु भो।

साझँ हामी लाली गुराँसको ढिस्कोमा रिहर्सल गर्ने गर्थियौं , वँहा बसि रहनु भएको थियो । अरूले यादै गरेनन् शायद चिनेनन् कि कसो, मलाई भने अप्ठेरो लाग्यो , यत्रो ठुलो गायक हामीलाई भेट्न आउनु भएछ । कसैले पनि हेरेनन् । तर म भनें पछाडी बाट लुकेर हेर्दै थिँए । अब के गर्ने भनेर म आत्तिएँ ।

जागृती परिवारले रिहसल गर्न भन्दा पहिला प्रार्थना गरेर आफु भन्दा ठुलाबडालाई ढोगी आशिर्वाद लिने गर्थे । आएर सबैले प्राथ्ना गरे अनी पुर्णदाजुले नारायण गोपाल भेनालाई पैला आफैले ढोगे र सबैलाई ढोग गर्न लागाए र चिनाए।

वहाँ खुशी हूनू भयो र सोध्नु भयो ” म तपाईंंहरूका लागी के सहयोग गर्न सक्छु” भनेर ! आँट गरेर वहाँ समक्ष कुरो राख्नु भो हाम्रा डाइरेक्टर पुर्ण दाहजुरले । हाम्रो टाईटल सोङ्ग र मुख्य अभिनेत्रीको गित मेटिएको छ। हजुरको सहयोगको दरकार छ भन्न भयो। बहाले हुन्छ नि भइ हाल्छ भन्न भयो। हामी निश्चिन्त भयौं।

हामी सबै टोली संगीतकार गोपाल योन्जन कहाँ गयौं त्यहाँ हाम्रो गित रिकर्ड भयो। केटाको स्वरमा टाईटल गीत गाईदिनु भयो स्वर सम्राट नारायण गोपालले र तारा थापाज्युले केटीको (ठुली / ललिता जोशी) गित गाई दिनु भयो ।

यो” बन्दकी राखिएको सिन्दुर ” नाटक अति नै भब्यता र भिडका साथ तिन दिन सम्म प्रज्ञा प्रतिष्ठान भवनमा काठमांडुमा सम्पन्न भो । स्वर सम्राट नारायण गोपाल र गायिका तारा थापा ज्युको स्वरले अझ सुनमा सुगन्ध थपिएको थियो।

मेरो यानी कि कलमकारको अभिनय उत्कृष्ट रह्यो। बन्दकी राखेको सिन्दुर टोलीको वाहवाही भएको थियो। पुर्ण गुरूङ्ग निरूपम दाजुले खुसी भएर एउटा पैसाले भरेको खाम पनि दिनु भएको थियो मलाई।

खर्साङ फर्के पछी राजराजेश्वरी भवनमा पनि भव्यताका साथ नाटक दुईदिन प्रदर्शन भएको थियो यहाँ पनि मलाई सबैे खर्साङ बासीले सराहेका थिए। त्यसै पनि नाटकले पहिला देखिनै प्रसिद्धी पाएकै थियो।

राजराजेस्वरी हलमा भने मेरो मनचन भएको दोस्रो नाटक थियो, प्रथम नाटकको नाँउ थियो” “चपाईएका आकाँक्षाहरु” । जुन स्व, लक्ष्मण श्रीमल द्वारा लिखित नाटक हो ।

म नाटक सकेर ग्रीन रूममा मेकअप मेटाउदै ” जिन्दगी एक नाटक है हम नाटक मे काम..” बोलको गीत गुनगुनाउँदै थिएँ । लक्ष्मण श्रीमल सर आउनु भयो र मलाई गुनगुनाएको देखेर छक्क पर्नुभयो भयो ।

अहिले सबैलाई हलमा रूवायौ सबै रूई राखेका छन् । तिमी पनि रूँदे होला भनेर फकाउन आएको त तिमी त गीत पो गाँउदै रैछौ । म मुस्काई दिए । यही त जीवन हो सर भनेँ । वहाँ छक्क पर्नु भयो । मेरो टाउकोमा गह भरी आँसुका साथ हात राख्नु भएको थियो सरले ।म सफल भएछु भन्ने लाग्यो । खुशीले गद गद भएँ । यति ठुला नाटककारले यसरी स्याबासी दिनुभयो मलाई।

बन्दकी राखिएको सिन्दुर नाटक संक्षेपमा :
१. अँध्यारो क्षितिजमा सुर्य उदाउँन न सकेको कथा।
२. युद्ध विभीषिकाले घर सल्केको कथा।
३.अवहेलित हाम्रा उत्सर्गका रक्तमय चिहानहरूमा खडेरी पारेको कथा।
४. निराधार आस्थाहरूमा उल्झँदै हिँडेकि चेलीको अनौठो मर्मस्पर्शी कथा।
५. हाम्री चेलीको सिन्दुर पुछिएको कथा , पोते चुँडिएको अश्रुभरी कथा र बन्दकी राखिएको सिन्दुर ।

यस नाटकमा मुख्य भुमिका निभाउन मलाई छानेकोमा यस योग्य सम्झेकोमा जागृती परिवारलाई हृदयबाट साधुबाद गर्न चाहन्छु । प्रयोजक नेपाल फोटोग्राफर एसोसिएसन प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु ।

-ललिता जोशी क्षेत्री
भारत

No description available.

Open photo

Open photo

 

 

 

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - ०४:०७:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend