"तीजै आयो भन्छन् सबै माइत जान्छन्
मै र चेली अभागिनी कस्का माइत जाम?"
मैले तीजका गीत सुन्न थालेको साढे ६ दशक्भन्दा बढी भयो । बाल्यकालदेखि अहिलेसम्म आइपुग्दा त्यस्ता धेरै तीज गीत सुन्दै आएँ ।कति सुनेर बुझें कति कोशिस गरेर पनि अहिलेसम्म बुझ्न सकेको छैन ।तीमध्ये कति गीत सधैजसो र सबैजसो ठाउँमा सुनें भने कतिपय निश्चित ठाउँमा मात्र । धेरै ठाउँमा र सधैजसो सुनिने एउटा गीत हो यो माथिको ।
मैले सुन्दै आएका यस्ता तीज गीतहरू धेरै छन् । सुन्दै आउँदा धेरै पछि मलाई थाहा भयो- त्यसरी सुनेका मध्येका कतिपय तीजगीत त स्थानीय वा क्षेत्रीय पनि हुने रहेछन् । तिनमा प्रयोग गरिने कतिपय शब्द स्थानीय हुनेरहेछन् । अहिले बल्ल तिनको वर्गभेद हुँदै जान थालेको छ । त्यतिवेला त तिनको स्वर, अघिपछि बसेर मारेका थपडी र सुस्तरी पाइला चालेर नाचेका नाचहरू सुनिन्थ्यो, हेरिन्थ्यो । त्यस्तै त्यस्तैमा रमाइन्थ्यो । अहिले मेरो स्मृतिमा ती मध्येका धेरै गीत छैनन् तर पनि तीमध्येका कतिपय गीत समाजमा कतै न कतै गाइँदै होलान् अथवा मेरै उमेर समूहका वा त्योभन्दा अझ अघिका आमा, दिदी बहिनीहरूका स्मृतिमा होलान् भन्ने अनुमान गर्छु। मैले सानामा सुन्ने गरेका वा अलि पछि सुनेकामध्येका कतिपय गीत अचेल हम्मेसी सुन्न पाइँदैन,पाएको छैन ।
आज २०८१ सालको तीजको दर खाने दिन आइपुग्न लाग्दा म फेरि एकपटक बाल्यकालतिर फर्कन्छु । तीजको अघिल्लो दिन खाने गरेको दर सम्झन्छु । मावलबाट आमालाई लिन आएका मामा, बुबै वा अन्य कसैका साथ लागेर आमासँग मावल गएको सम्झन्छु । मावलमा पालो गरेर मामाहरूकहाँ, बुबैकहाँ खाजा खाएको सम्झन्छु ।
कान्छो बुबाको घरमा तीज, पञ्चमीको पूजा गरेको र आँगनमा गीत गाउँदै नाच्दे गरेको दृश्य मेरा सामु झल्झली देखा पर्छ। कतिपय गीत पनि सम्झनामा छन् तर एकदमै कम।
तीजको दर खाने चलन हाम्रो समाजमा कहिले देखि चलेको हो म भन्न सक्दिनँ, तर यो चलन आजसम्म पनि कुनै न कुनै रूपमा छ । दरको स्वरूपमा, परम्परामा फेरबदल आयो । त्यति वेलाको जस्तो घरकै घिउ, घरकै चामल, दूध, दही बारीकै तामा अब कहाँ पाउनु ? अनि “तीजका खाजा मिठो पोलेका तामाले नरोऊ भाञ्जी लिन आउँला भन्थे मामाले” भन्ने गीत सुन्न कहाँ पाउनु? दर खान पाइहाले पनि खाजा र पोलेका तामा कहाँ पाउनु? मामाहरू लिन आउने परम्परा, त्यो आत्मीयता त्यो स्नेह र अनुशासन कहाँ पाउनु? पाइन्न, तर पनि दरकै नाममा भोज भने चलेकै छ। हिजोको दर तीजको अघिल्लो दिन खाइन्थ्यो तर आजको दर महिनौं चल्न थालेको छ । पार्टी प्यालेस, होटेलसम्म पुगेको छ । हिंजो तीजको अवसरमा खाइने दरमा यिनी चिज खान हुँदैन भन्ने पनि थियो। यिनी चिज भए जाती हुन्छ भन्ने थियो। ती खाने कुराले तीजका गीत सिर्जना पनि गर्थे। अब खाने र नखाने भेद हराउँदै जान थालेको छ ।
समयको गतिसँगै संस्कार, संस्कृतिका रूपमा पनि केही अन्तर आउनु स्वाभाविकै हो, तर हिंजो निषेध गरिएका कुरा अपनाउँदा भने हामीले विचार गर्नु पर्ने हो । दर खानुसँग मात्र सरोकार नहुनुपर्ने हो तर त्यस्तै भएको छ । दरको नाममा भोज चल्दै गएको छ र भोज परम्पराको विकासले तीज असाध्यै खर्चिलो हुँदै गएको छ ।
घरमा एक छाक खाइने भोजको विकास भएर महिना दिनसम्म होटेल, पार्टी प्यालेसमा चल्न थालेको छ । यस्ता पर्वमा प्रयोग नगरिने गरिएका खाद्य सामग्रीको प्रयोग हुँदै जान थालेको छ। यस्तो हुनुको खास कारण हाम्रोचिन्तनमा, अनुशासनमा आएको ह्रास र नक्कल गर्ने प्रवृत्ति नै हुनुपर्छ । हामी नेपाली अर्काको नक्कल बढी गर्छौं । अर्काको कुरा बढी सुन्छौं । देखासिकी गर्ने र तडक भडकका पछि दगुर्ने प्रवृत्ति अलि बढी नै छ हामीमा । त्यसो गर्दा तिनमा राम्रा र नराम्रा पक्ष के छन्? भन्ने सोच्नेतिर लाग्दैनौं ।
यसपटकको तीजको आगमनसँगै करिब ६, साढे ६ दशक अघिदेखिका थुप्रै कुराहरू स्मृतिमा आइरहे । धेरैजसो स्मृति र अनुभूतिहरू ताजा भएर पनिआए । केही अलि धमिलो रूपमा । आजका अवस्थासँग एकाकार भएर,तुलनात्मक भएर आए, जोडिएर आए । कोही तोडिएर पनि आए होलान्,तर आए ।
त्यतिवेला पनि वर्षा बित्दा नबित्दै, वर्षामा भत्किएका बाटाघाटाहरू बन्दा नबन्दै तीज आउने गर्थ्यो, तर अहिले झैं साउनमा हरिया चुरा लाउने परम्परा थिएन । हो, जात्राहरूमा गएका आमा दिदी बहिनीहरूले चुरा किन्थे, लाउँथे । धेरैले किनेकै पसलमा लाइदिन पनि पठाउँथे । तीज जात्राका सेरोफेरोमा चुरा लिएर घरै पनि आउँथे चुरा ब्यापारीहरू । चुरा पनि आजका जस्ता पाइने कुरो थिएन । कतिपयले आफै हल्का गरी लाउन पनि सक्दैनथे । त्यसैले जोसँग किन्ने हो उसैबाट लगाइ माग्ने गरेको पाइन्थ्यो ! यस्ता चुरा फुटेको जनाउन ‘चुकेको’ शब्द प्रयोग गरिन्थ्यो ।
यसरी जात्रा हेर्दै र चुरा लाउँदै गरे पनि महिलाहरु घर गृहस्थीका काममा तल्लीन हुन्थे । उनका मनमा तीज आउन थालिसकेको हुन्थ्यो । मकै खन्ने, कोदो रोप्ने बेलातिरैबाट तीज गीतको अभ्यास भैरहेको हुन्थ्यो । त्यसरी पूर्वाभ्यास हुँदै आएको गीत र नाचको जन्माष्टमीका दिन आएर पहिलोप्रयोग हुन्थ्यो । कतिपय दिदी बहिनी, भाञ्जा भान्जीलाई लिन आएका मामाहरूसँग अष्टमीसमेतलाई हुने गरी माइत जाने अवसर पनि पाउँथे ।
हाम्रा मावलबाट पनि हरेक तीजमा बुबै (आमाकी फुपू) वा मामाहरूमध्येबाट कोही न कोही आउनुहुन्थ्यो । हाम्रो मनमा पनि त्योआगमनको चासो र पर्खाइ हुन्थ्यो । उत्सुकता र प्रतीक्षा हुन्थ्यो । बुबै आउँदा उहाँका थैलीमा मिस्री, गडीका टुक्राहरू हुन्थे । ती टुक्रा हामीलाईदिइने पाहुर हुन्थे । बुबैले तिनै टुक्रा दिएर हामीलाई नजिक्याउनु हुन्थ्यो शायद ।
मामाहरू आउँदा भने खेततिर पानी थुन्न जाँदा प्रयोग गर्ने वैशाखी टेकेर आउनुहुन्थ्यो । सबै वैशाखीका काम एउटै भए पनि तिनका आकार प्रकार अलि फरक पनि हुन्थे। तिनमा प्रयोग गरिने लठ्ठी र तलको फलामले बनेको टेक्ने वा खन्ने अलग अलग आकारका हुन्थे । आज पनि ती मध्येका कतिपय वैशाखीको रूप, आकार मेरा स्मृतिमा छन् ।
५\६ कक्षामा पढ्ने उमेरसम्म त्यसरी मावलबाट बुबै, मामाहरू लिन आउँदा आमाको साथ लागेर म पनि मावल जान पाउँथें, जान्थें । त्यसका लागि कहिलेकहीं जिद्दी गरेर, रोएरै पनि घरकालाई मनाउनुपर्थ्यो । स्कूलमा बिदाका लागि निवेदन पठाउनुपर्थ्यो । जेजे गर्नुपरे पनि गरेर मावल गइन्थ्यो ।
तीज नजिकिएसँगै मलाई त्यसरी मावल जाने, लगिने गरेका दिनहरूको सम्झना ताजा भएर आउने गरेको छ । आज यसो सम्झेर, विचार गरेर हेर्छु । कति रमाइला थिए ती दिनहरू ! कति उमङ्गका थिए ती क्षणहरू ! कति स्नेहपूर्ण थिए ती सम्बन्धहरू ? कति रमाइला थिए ती चाडपर्व मनाउने तरिकाहरू ? कति आकर्षक र मिठासपूर्ण लाग्थे ती पुराना गीत र नाचहरू ! कति स्वाभिमान थियो ती चाडपर्व मनाउनेहरूमा ? कसैसँग कुनै कुराको लागि हात पसार्नु नपर्ने त्यो समयको सादगी र हात पसारेर देश चलाउनु पर्ने, हर चिज किनेर खानुपर्ने हुँदा पनि आजका मान्छेहरूको तडक भडकदेखेर म सधै दङ्ग पर्ने गरेको छु ।
त्यति बेला गाइने हाम्रा गीतहरूले हाम्रो परम्परा, सम्बन्ध र स्थानहरूलाई कसरी चिनाउँथे, सङ्केत गर्थे ? हाम्रा दिदीबहिनीहरू, आमा, बुढीआमाहरू कसरी कलात्मक तरिकाले पोख्थे आफ्ना अनुभूतिहरू ! पीर ब्यथाहरू, आपसी प्रेम र स्नेहका अनुभूतिहरू, भक्तिभावहरू? कसरी सुरक्षित राख्थे आपसी सम्बन्धहरू ! कसरी राख्थे- माया प्रेम, तिरस्कार र अर्घेलीहरूलाई आफ्ना स्मृतिमा, ती पर्व गीतहरूमा ! अनि कसरी एकताको सूत्रमा बाँधिएर रहने गरेका थिए घर परिवार र समाजमा तिनीहरू ? अहिले तिनको स्मृति हुन्छ ! र म तिनको मूल्याङ्कन गर्छु ।
मनमनै आजका गीत, नाच र दर खाने तरिकालाई हिंजोको तरिकासँग जोडेर हेर्छु, तुलना गर्न थाल्छु । सोच्छु- युग कति बदलिएछ ! समाज कति बदलिएछ ! म कति बदलिएँछु ! म मात्र किन ? तीज, तीजका गीतहरू, नाचहरू, मान्छेका अनुभूतिहरू, भोगाइहरू ! प्रकट गर्ने तौर तरिकाहरू ! सँगसँगै दर खाने परम्परा र दिनहरू बदलिएछन् । हाम्रा सम्बन्धहरू,आपसी स्नेह, सद्भावहरू र एकताका सूत्रहरू पनि त ...! खै त आजका हाम्रा बालबालिकाहरूमा त्यो चासो ? त्यो उत्सुकता ! त्यो पर्खाइ ! आजका मामा माइजूहरूमा त्यो सद्भाव र ममत्व ! खै त आजका मामाहरू लिन आएका ? दाजुभाइहरू बोलाउन, लिन आएका ?
म तीज गीतकै पुरानो समयको एउटा टुक्रो सम्झन्छु- ‘किन आउँथे हाम्रा मामा माइजू छोडेर ?’ यसमा पनि त त्यही निराशा छ नि, तर यो निराशा त एउटा तीजमा लिन आएनन् भन्नेमा सीमित छ । अरू धेरै कुरा बाँकी छन् तर अहिलेको हाम्रो वातावरणमा त निराशा जगाउने खालका कुरा मात्र देखिने गरेको छ । भएका सबै कुरा गुम्ने गुमाउनेतिर लाग्नु नै अहिलेको यथार्थ बन्न पुगेको जस्तो अवस्था छ । कतै यो गीत पनि त्यसकै पूर्व सङ्केत पो हो कि ! त्यसकै यथार्थ स्वर, भाव, भाकामा आउन लागेको होकि !
आज त मामा माइजू मात्र स्वार्थमा अलमलिएको होइन, अरू हामी भान्जा भान्जीहरू, दिदी बहिनीहरू पनि ...। यही स्वार्थका, लोभका, कारण कताकता पूरै परम्परामा भैंचालो आए जस्तो लाग्छ । संस्कृतिमा पहिरो गए जस्तो लाग्छ । संस्कारमा धमिरा लागे जस्तो लाग्छ । व्यवहारमा ठूलै बाढी आए जस्तो लाग्छ । जता हेर्छु धुँदी लागे जस्तो । कालो बादलले ढाके जस्तो अँध्यारो छाए जस्तो । निराशाले पोते जस्तो लाग्छ, तैपनि दर चलेकै छ । नाच चलेकै छ । तीज आएकै छ ।
‘तीजको खाजा मिठो पोलेको तामाले नरोऊ भान्जी लिन आउँला भन्थे मामाले’
‘मामा आउँछन् भनेर झ्यालमा कुरी बसेथेँ किन आउँथे हाम्रा मामा माइजू छोडेर ?’
‘वर्ष दिनको तीजमा मामा लिन आएका अँधेरी खोलोले छेक्यो बरिलै’
हिंजोका गीतहरूमा त मामा-माइजूसँगै जोडिएका कुराहरू धेरै मात्रामाथिए । गुनासा थिए र स्नेहका भाव पनि थिए । खास गरी आफूले भोगेका पीडा दर्द, बुहार्तन, ईश्वरप्रतिको भक्तिभाव, पूजा आराधनाका विषय, सामाजिक विषयहरू बढी हुन्थे। ती बाहेक अन्य कुरा पनि हुन्थे तर तिनको मात्रा अलि कम हुन्थ्यो । आजका गीतमा त प्रायः निराशा, विरोध र विद्रोह देखिन्छन् । निराशा पोख्नुपर्ने अवस्था आएको देखिन्छ र गीतका प्रकारहरू, तिनमा अभिव्यक्त भावहरूमा पनि त्यस्तै कुरा देखिन्छन् ।
त्यति बेलाका गीतहरूमा विभिन्न अवस्थालाई सहजरूपमा प्रकट गरिन्थ्यो र तिनले मान्छेका मनमा घर गरेका हुन्थे । तिनमा सहजता, स्वाभाविकता पाइन्थ्यो ।
मैले तीनपीपले, बाटुले चउर, प्रभास, भगवती स्थान, टुँडिखेल, सतनचुली, तल्लीपीपल, बौघा, गुम्हा दमकडा, उराल्डाँडी, लगायतका धेरै ठाउँका तीज गीत सुनें, कतिपय ठाउँका नाच हेरें । धेरै ठाउँका गीतमा पाइने लयात्मकताको अनुभव गरें । तिनमा हुने प्रयोगलाई तुलना पनि गरिहेरें ।तिनमा भेटिने समानता र अन्तर पनि खोजिहेरें । तिनले नाचको ताललाई पार्ने प्रभावबारे पनि विचार गरें।
तीजको सम्झना हुने बित्तिकै सबैभन्दा पहिले मेरो मनमा आफ्नो बाल्यकाल र मावलको सम्झना हुन्छ । कुन्नि किन जीवनको उत्तरार्धतिर आइपुग्दा पनि सम्झनाले छोड्दोरहेनछ । बितेका दिन फर्कन्नन् भन्ने ज्ञान भएर पनि त्यतै लाग्दोरहेछ मन । मनमा एक खालको तरङ्ग आउने रहेछ । म त्यही तरङ्गबाट तरङ्गित हुन्छु ।
हरेक जनैपूर्णिमा, श्राद्ध, दशैं, चण्डीपूर्णिमा आदिमा जस्तै तीजमा म मावलीको स्मृतिमा डुब्छु । सबैजसो पुराना स्मृतिहरू ताजा भएर आउँछन् । सबैजसो पुराना नयाँ अनुहारहरू आँखा सामु सल्बलाउँछन् । पुरानो अवस्था र प्रकृति जस्ताको तस्तै जस्तो भएर देखापर्छ । बितिसकेका आफन्तका अनुहारहरू पनि जीवित जस्तै भएर आउँछन् । आहा मेरो मावली गाउँ चित्रेडाँडा !
मेरा मावलीहरूका ती पुराना घर, मामा माइजूहरूका अनुहार ताजा भएर आउँछन् । यद्यपि अब आफ्नै उमेरले पनि नेटो काटिसकेको छ । सँगै डोर्याएर, बोकेर मावल लैजाने आमा, पीठमा बोकेर डाँडुमको एकल काठको डरलाग्दो साँघु तार्ने मावलकी हजुरआमा बिर्साउने बुबै भौतिक रूपमा अब रहनुभएन । मामा- माइजूहरू रहनुभएन । मावलीको पुरानो घर, स्थान त्यहाँको वातावरण सबै बदलिएर नौला भएका छन् ! घर अगाडिको कटहरको बोट घरमा उपेक्षित भएको बुढोमान्छे जस्तो देखिन थालेको छ। पहिले गोठ हुने ठाउँमा घर थपिएको छ । मामाहरूको सबैभन्दा पुरानो भित्ते घर भएको ठाउँमा अर्कै कसैले नयाँ घर बनाएको छ । कान्छो हजुरबुबाको पुरानो घर अब छैन, पुस्तकालय जस्तो थारो छैन । कहाँ छ र बाल्यकालमा खेले डुलेको मेरो त्यो मावल ? कहाँ छ त्यो घोडाको तबेला भएको थारो ? कहाँ छ केराको मचेटाबाट बनेको गरर्र गर्ने धारो ? कहाँ छ काउले गैराको पानी सँगाल्ने कोरण्डो ? र त्यहाँबाट मावलीमा आएको कुलो ? कहाँ छन् हामीले पैसा रोप्ने कुला, कुवाहरू ? कहाँ छन् दर्जनौं भेडाबाख्रा, गाईभैंसी पालिने खोर, गोठहरू ? तिनीहरू चर्ने र हामी खेल्ने गरेका फराकिला चउरहरू ? छैनन्, भएका पनि साँघुरिएका, खुम्चिएका छन् । भत्के बिग्रेका छन् । पुराना बाटाहरू साँघुरिएका, भाटिएका छन् ।
सोचसँगै मेरो ध्यान तिनाउतिर जान्छ । त्यो साँघु पनि छ कि छैन कुन्नि जहाँ हामी तल बढेर उर्लिरहेको तिनाउ देखेर पारि जाने आँट नआएर त्यसै बसिरहेका हुन्थ्यौं ! न खोलो तर्न सकिन्थ्यो न साँघुबाट पारि जान । डाँडुमतिरका कसैले तारि दिन खोज्यो भने पनि त्यसै कहालिएर फर्कन्थ्यौं र त्यहीं पर्खेर बस्थ्यौं । के पर्खन्थ्यौं कुन्नि ?
हाम्रो उमेरले पर्खेन । हाम्रो साँघु पुल खोला पर्खने क्रम पनि रोकिएन । पर्खँदा पर्खँदै देशमा विकास आयो । विकासले धेरै कुरा ल्यायो र धेरै कुरा उडायो पनि । तीनपीपले देखि राहुदी, आलेटोल तिलाहार हुँदै बेलटारी, उल्टेभित्तातिर लाग्ने डाँडुमको असाध्यै चल्तीको त्यो बाटो विकासले उडायो कि छ कुन्नि ! हाम्रा धेरैजसो पुराना धरोहरहरू त उडाएको, उडाउने गरेको छ । विकासले प्रसिद्ध चौखुट्टेको ठाँटी उडायो । चापपानीको ठाँटी पनि उडायो । ठटियाकै पनि भए जस्तो लाग्दैन । दोहोराको पनि बडो मुश्किलले धानिए जस्तो छ । मीठो पानी उम्रेको रानीचुँडीको कुवा उडायो । सपाङ्दे, गोविन्दे, अँधेरी, जुक्याहा, गाङ्दी खल्लुक्दीतिरका पानीका मूलहरू पनि अब छन् कि छैनन् ? भए पनि कति छन् कुन्नि ? उडायो कि !ठाउँ ठाउँका बाटाहरू, पर्खालहरू, चौपारी, बगैंचाहरू उडायो । बस्तीहरू, फाँटहरू, चरनहरू, उडायो । लाखौं लाख युवाहरूलाई उडायो र उडाउने क्रम जारी छ । विकासले धेरै कुरा यसरी नै उडाइसकेको छ र यो क्रम जारी छ ।
केही कुरा बाँकी भए जस्तै रूप फेरिए पनि उराल्डाँडी छ । प्रभास, भगवती स्थानहरू छन् र तीज पनि छ, । हो, तीजमा मावल जाने मेरो उमेर छैन, ममा त्यो बाल्यकालको रहर पनि रहेन, छैन । दर खाने दिन र त्यसको अनुशासन, त्यो आपसी स्नेह, सम्बन्ध आदि पनि छैनन् । रहर त उमेरले पनि हराउँदै गएको होला तर उम्मेद\ उम्मिद नभएपछि पनि रहर हराउने गर्दोरहेछ, त्यसैले त हराइरहेछन् हाम्रा रहरहरू ।
हो, हाम्रा ती रहरहरू हराए र तिनका ठाउँमा विकास आएको छ। विकासलेसारा देश ढाकेको छ। त्यही विकासले होला आजको मलाई, मेरो समाजलाई, मेरो देशलाई पाखा लगाएको छ । मेरा मावलीहरूलाई विभाजित गरेर लाखापाखा लाग्ने बनाएको छ । त्यसैले मावलै बदलिए जस्तो भएको छ, माहोलै फेरिएको छ, तैपनि मावल छ, मावली छन् । त्यहाँको सम्झना छ । मावल, माथि साबिक ठाउँमा अलिकति मात्र छ, अरू सबै तल वरपोखरातिर झरेको छ । वरपोखरा न मामा, न माइजूको मावल जस्तै न वरको, न पोखराको भएको छ ! थोत्राकोल थोत्रो कोल पनि नभएर रोए जस्तो भएको छ । त्यहाँको वरको बुढो रुख, अनि त्यति वेलादेखि आजसम्म पनि चलेको यो तीजको गीत -" तीजको खाजा मिठो पोलेका तामाले नरोऊ भाञ्जी लिन आउँला भन्थे मामाले" को सम्झना छ । सम्झना हो जीवनभर रहन सक्छ, रहन्छ ।