पहिलो पटक रमाइलोसंग तीज मनाइयो स्विटजरल्याण्ड आएदेखि। यसका निम्ति दुई पात्रहरूलाई धन्यवाद दिनुपर्छ। विश्व स्वास्थ्य संगठनमा कार्यरत डा निर्मल कंडेल र राजदूत पत्नी ज्योति रिजाल सुवेदीलाई।
चाड नजिकिंदै जाँदा मन भने उतै नेपालतिर हुन्छ। तीजको बेलामा त झन् माइतिकै आँगन वरिपरी नै हुन्छ। शुरुको वर्षको तीज साह्रै नरमाइलो लागेको थियो। स्विटजरल्याण्डको सुन्दरता देखेर के गर्नु आफ्नो रनवन जस्तो रमाइलो कहाँ हुन्छ ? आफ्नो संस्कृति, चाडवाड विदेशमा असाध्यै धेरै झल्को आउने। मैलाई मात्र हो कि ?

निर्मल कंडेलले आफ्नै घरमा जेनेभावासी चेलीबेटीहरुलाई निम्तो गरेर मन फराकिलो बनाउनुभयो। स्वास्थ्यकर्मी भएर पनि खाना बनाउन रुचि राख्ने, सामाजिक संजालमा छलफल गर्न रुचाउने डा कंडेल र वहाँकी धर्मपत्नी जया कंडेलको आतिथ्यता, सबै नेपाली दिदीबैनी, दाजुभाईको तीजको नाचको रमाइलो बिर्सने नसकिने थियो।
जयाजी इलाहावाद गएर भारतीय शास्त्रीय संगीतमा नृत्य सिकेर आउनु भएको रहेछ। नेपाली दूतावास, अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली, जेनेभावासी बहुसंख्यक उपस्थितिले कार्यक्रम भव्य भयो। राजदूत राम प्रसाद सुबेदीले शुभकामना दिंदै नेपालमै पुगेको अनुभव सुनाउनु भएको थियो।
दर शुरु भएपछि राजदूत निवासमा राजदूत पत्नी ज्योति रिजाल सुबेदीले जेनेभावासी नेपाली हामी चेलीहरुलाई बोलाएर निकै न्यानो आत्मियता देखाउनु भयो। नेपाली परिकार, तीजको गीत, सबै नेपाली रातो सारीमा सजिएका नेपाली चेलीहरुको उपस्थितिले तीजको तिर्सना मेटाउन अलिअलि भए पनि सघाएको थियो।
मन नै हो सबैको, अझ सात समुद्र पारी बसिरहेका हामी चेलीहरुको। सानो मायामा ठूलो समुद्र देख्छौं।
हुन त यो तीज अमेरिकामा हराइरहेकी ममता काफ्लेको खबरले मन अमिलो बनाएर गयो। सामाजिक संजाल जताततै उनकै कुरा थियो। बिचरा वर्ष दिन पनि नपुगेकी छोरी, लगभग मारिएको निचोडमा पुगेपछि लोग्नेको ब्यबहार, पुलिसलाई प्रहरीले गरेको असहयोग सबै घटनाक्रमहरुले मन बिथोलिएको थियो।
मारे पाप पाले पूण्य भनेर विदावादी भएकी छोरी मारिएको खबर सुन्दा आमालाई कस्तो भयो होला ? अपराधको छानविन गरेर कारवाही गर्ला पुलिसले। अझै कतिसम्म हामी छोरी चेलीहरु यस्तो प्रताडनाको शिकार भैरहन पर्ने होला भनेर मनमा साह्रै कुरा खेल्छ। सानो छंदासम्म बाबु आमाको डर, पछि लोग्नेको डर, बूढेसकालमा छोराछोरीको डर। डरै डर त भयो भयो। लोग्नेले भनेजस्तो नहुँदा ज्यानै जाने खतरा। यो पुस्तौंदेखि महिलामाथि हुँदै आएको अत्याचार हो।
जेनेभामा तीजको निम्तोमा जाँदा पनि मलाई यो कुराले लखेटिरहेको थियो। ममताको हत्यारालाई हदै सम्मको कारवाही होस् र आउने वर्षहरुमा अरु ममताहरु मारिएको सुन्न नपरोस्।