Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

न्यायको मूल्य ( लघुकथा )

न्यायको मूल्य ( लघुकथा )

नेप्लिज डायस्पोरा

९, आश्विन २०८१
images
न्यायको मूल्य ( लघुकथा )

न्यायको मूल्य ( लघुकथा )

धर्मपुरको अदालतमा आज सन्नाटा थियो । हरिश आफ्नो कुर्सीमा थकित मुद्रामा बसेका थिए...  उनको श्रीमतीको बलात्कार र हत्या प्रकरणमा न्यायको आसमा ।कागजपत्र, प्रमाण, साक्षी सबै उनको पक्षमा थिए ।  

राजन ढिलो गरी महँगो सुटमा अदालतमा प्रवेश गरे, एक हातले सुनको घडी खेलाउँदै । उनको अनुहारमा सधैंजस्तो आत्मविश्वास थियो ... किन नहोस्, अन्तिम फैसला आज आउँदै थियो । उनले न्यायाधीशलाई नजरले मात्र अभिवादन गरे, मानौं कुनै पुरानो परिचय थियो ।

न्यायाधीशले प्रस्तुत मुद्दाको मिसिल पल्टाए, एकछिन घोत्लिए अनि अनुहारमा गम्भीरता ओढेर भने, “सबै प्रमाणको आधारमा यो अदालतले... राजनलाई निर्दोष ठहर्याउँछ।”

हरिशका वकिलले झस्किएर भने, “तर... श्रीमान!! प्रमाणहरू त स्पष्ट हाम्रो पक्षमा छन्!”

न्यायाधीशले मुस्कुराउँदै जवाफ दिए, “हो, प्रमाणहरू छन् । तर, प्रमाणहरू त तौलिन सकिन्छ नि, होइन र?”

बाहिर, पुरानो न्यायको मूर्ति उभिएको थियो.. तराजु एकातिर भारी भएर ढल्केको । ढल्केको पल्लातर्फ मुद्दाका बलिया प्रमाणहरू खोजी गरेको... देखिएन । प्रमाणको स्थान त माननीय श्रीमानलाई मन पर्ने चिजवस्तुले भरिएको रहेछ ।

-युवराज मैनाली  

images
प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - २२:०७:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend