राम लामा अविनाशीको `स्मृतिका बिम्बहरू´पढ्दा
– सरिता अर्याल
➝ लुकाउनै नसकिने जीवनको यथार्थ हो पीडा ।
➝ मानिसको जीवनमा समयले हठात् ल्याइदिने स्वभाविक सन्ताप हो पीडा ।
➝ यो दुख्छ , पोल्छ तापनि यसलाई सहनुपर्ने हुन्छ जुन समयको अन्तरालसँगै किनारा लागेर जाने कुरा हो पीडा ।
पीडा नहुने सायद नै संसारमा कोहि मानिस होलान् ! यस्तै पीडारुपी जेरीमा जेलिएर कोरियाको पुसान भन्ने ठाउँबाट अमेरिका आइपुगेकी कीमको जीवनीलाई कथानक पारामा ढालेर मर्मस्पर्शी संस्मरण लेख्न सफल भएका छन् रामलामा `अमेरिकामा लत्रिएको कोरियन जवानी´शीर्षकको संस्मरणमा।
पिडाको पोयो बनेकी कोरियन महिला किम लेखकसँग अमेरिकाको सन एन्टोनियोमा अवस्थित डेन्मन पार्कमा भेटिन पुग्छिन् । प्राय सँगै मर्निङ्ग वाल्क भेटिए भए पनि एक दिन कफी पिउँदै गर्दा लेखकले ७९ वर्षिय किमको अतित जान्न चाहन्छन् ।
किम प्रेममा असफल भएकी महिला रहिछिन् । किमका जीवनमा ठोकिन आएका पुरुषहरू र उनका असफल भएका प्रेम कहानीहरू एकपछि अर्को गर्दै प्याजका पत्र छुट्टिए झैँ लेखकका सामु पत्रपत्र छुट्टिन्छन् ।
एक बरिष्ठ पत्रकारको राम्री किममाथि गिध्दे नजर परेदेखि शुरु हुन्छ उनको जीवनमा आएका पुरुषहरूको लस्कर । धेरै पुरुषसित नजिक हुन पुगेकी किम अन्त्यमा क्यान्सरको शिकार भएपछि सफा पानीभित्र खेल्छु भनेर इनारमा खसेको भ्यागुतोले बाहिर आउन नसकेको कथा हाल्दै म त्यही भ्यागुतो हुँ भन्ने किमले आफ्नो दारुणिक कथा सुनाएपछि लेखकका साथसाथै पाठक पनि स्तब्ध हुन पुग्दछन् ।
मानिस संसारको जुन कुनामा पनि पुगोस् उसले आफ्नो संस्कृति, संस्कार र भाषालाई मनमस्तिष्कबाट बाहिर निकाल्नै सक्दैन । विदेशमा आफ्नो भाषाले मानिसलाई कसरी तान्दछ भन्ने कुरा किम र लेखकको सम्वादले प्रष्ट पारेको छ ।
बैदेशिक रोजगारीले नेपाली युवा पुस्तालाई कसरी तानिरहेको छ भन्ने विषयमा तल्लो बाटोबाट अधमरा भएर अमेरिका पुगेका खड्ग प्रतिनिधि पात्र हुन् ।खड्गसित गाँसिएको संस्मरणले लेखकका मात्र होइनन् सन एन्टोनियोमा रसाएका आँखा पढदै जाँदा पाठकका पनि आँखा रसाउन पुग्दछन् । र अन्त्यमा लेखक सँगसँगै पाठक पनि भन्न बाध्य हुन्छन् – “हरे हाम्रो देशको अवस्था , युवाहरूको वाध्यता, ढुकुरको जोडी जस्तो भएर जिन्दगी चलाउनु पर्ने बेलामा छुट्टिनु पर्ने कस्तो बिडम्वना !”
रहर वा बाध्यता जे कारणले बिदेशिन पुगेका नेपाली हुन् उनीहरूले आफ्नो कला संस्कृति र संस्कार कहाँ बिर्सन सक्दछन् र ? नेपाली रेष्टुरेन्टमा सजाई सामान र चित्रहरूमा देखिएको नेपालीपनले नेपाली त के विदेशी पनि लोभिएको संस्मरण पढदा लाग्दछ विदेशमा खोलिएका यस्ता नेपाली रेष्टुरेन्टहरूले नेपाली खानामात्र पस्किदैनन् , आफ्नोपन, माया, भावना, पीडा , स्मृति र देशप्रेम पनि पस्किरहेका हुने रहेछन् ।
धेरै वटा देश घुमेर व्यापार व्यवसाय गरिसकेका लेखकले विदेशमा भएका नेपालीको मनमुटु छामिसकेका छन् ।
उनी भन्छन् – “नेपाली युवाहरूको सोच , लगनशिलता,आँट हिम्मतमा कमी छैन । यस्ता उदाहरणीय व्यक्तित्वहरू बेलायतमा फौजी, अमेरिकामा सुचना प्रविधि, स्वास्थ्य सेवामा शिक्षामा प्रशस्तै भेटिन्छन् । साधारण श्रमिकका रुपमा भएपनि नेपालीहरू इमानदार , लगनशील र मेहनती हुन्छन् भनेर त कतार सरकारले नै भनिसकेको छ । अरब, मलेसिया,अफ्रिका लगायत संसारका जुनसुकै देशमा पुगेका नेपालीको मेहनत र इमानदारीले प्रशंसा पाएको छ । विदेशमा शानदार इज्जत कमाएका यस्ता दिमाग तथा श्रमलाई खोई आफ्नो देश विकासमा लगाउन सकिएको ? रोजगारी दिने अलिकति भएका उद्योग पनि बन्द गरिए । न लगानीको वातावरण छ न प्रणालीले काम गर्छ । सभ्भावना रित्तिएर गएपछि मेरो देश के होला ? कति गहिरिएर सोचेका छन् लेखकले कत्रो चिन्ता छ देश प्रति ।
“उहाँ मेरो लागि सिङ्गो पुस्तकालय हुनु हुन्छ । उहाँको घरमा भएको एक बृहत् पुस्तकालयको समरी चिप्स हो उहाँको दिमाग ।” लेखकले यति बढाईचढाई गरेर आदर गरेको व्यक्तित्वको नाम हो प्रोफेसर दिपक सिम्खडा । लस एन्जलसमा नेपालीहरूले बनाएको मन्दिरको उद्घाटन समारोहमा अनुपस्थित रहनुको कारण बुझ्न फोन गर्दा सिम्खडाज्यूले दिएको उत्तरमा उहाँकी कान्छी बहिनी बितेको प्रसङ्ग एक वाक्यमा छ तर लेखकले त्यही एउटा वाक्यमा सिङ्गो संस्मरण नै बनाउन सक्नु सलाम छ लेखकको कलमलाई ।
हामीले चिनेको राम लामा अविनाशी सफल गीतकार हुन् । एउटा गीतकारलाई मीठो गीतले संसार नै भुलाएर गीतमा नैे डुबाइदिन्छ । भारतका निवर्तमान राष्ट्रपति डा एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड लिनका लागिे अमेरिकाबाट दिल्लीका लागि उडेका अविनाशीलाई प्लेनमा लता मङ्गेस्करको गीतका शब्दले दुख्ने गरी चिमोटे, लाज लाग्ने गरी कुरिकुरि गराए , शब्दहरूले घरी उचाले त घरी पछारे । यस्तो अनुभव गर्दै एउटा गायकको गीत सुनेर त्यसैमा डुबेर रातभर नसुती बिताउने साधारण मानिस कहाँ हुन सक्दछ र ? सफल गीतकार मात्र त्यसरी गीतका शब्दशब्दमा डुब्दछन् अविनाशी तिनै सफल गीतकारमा पर्दछन् ।
अमेरिका स्वप्न देश जहाँ जान हर कोही लालायित भएको पाइन्छ तर अमेरिकामै बस्ने लेखकको कलमले भन्दछ ➽ झट्ट हेर्दा अमेरिकाको पारिवारिक जीवन सुन्दर देखिन्छ । हो,सुन्दर त छ तर पँलासको फूलजस्तो । हेर्दा राम्रो देखिन्छ तर न नेपाली जीवनको बासना छ नत स्वाद नै । नेपाली पहिरन,भाषा र खानाको स्वाद बाहेक पनि नेपालीपनको आभास गराउने अन्य धेरै कुराहरू हुन्छन्, त्यो अमेरिकामा कहाँ पाउनु ? नेपाली संसारको जुनसुकै ठाउँमा पुगेर जतिसुकै प्रगति गरेपनि ऊभित्रको नेपालीपन मेटाउन सक्दैन र कुँडिन्छ । ऊ सधैँ मातृभूमिप्रतिको लगावमा रहिरहन्छ ।
गीतकार राम लामा अविनाशीलाई `स्मृतिका बिम्बहरू´नामक संस्मरणले आख्यानकार अविनाशी पनि बनाइदिएको छ । धेरै देश घुमेर त्यहाँ भेटिएका व्यक्ति, देखे भोगेका घटना र परिवेशलाई लिपिवद्व गरिएको यो संस्मरणमा पन्ध्र वटा संस्मरण छन् भने एक सय बासठ्ठी पेजमा उनका शब्दहरू फिंजिएका छन् ।
राम लामा अविनाशी आफूपनि व्यवशायी भएकोले होला उनका कलमले पनि बिदेशमा गएर कसरी व्यापार व्यवशाय गर्न सकिन्छ भन्ने कुरा सिकाएको छ ।
हुनत, नियात्रा र संस्मरण नितान्त यथार्थपरक हुन्छन्। यी विधामा काल्पनिकता देखिनु हुँदैन। राम लामा अविनाशीको ‘स्मृतिका बिम्बहरू’ पनि शुरुदेखि अन्त्यसम्म नै यथार्थमा डुबेर लेखिएको पाइन्छ । उनको मनले जे भन्यो त्यही कुरालाई लिपिबध्द गरेर कसैसित सम्पादन नै नगराई पुस्तक तयार पारेका हुन् कि भन्ने कुरा कतैकतैको लेखाइमा भेटिन्छ । जुन कुरा सम्पादन गरेर शिष्ट तरिकाले राख्न सकिन्थ्यो, त्यसलाई पुरुष अविनाशीले छताछुल्ल पारेका छन् । जे जस्तो भएपनि उनको लेखाइ सलल बगेको नदी जस्तै बगेको छ । आगामी दिनहरूमा राम लामा अविनाशीकृत अरू पनि निखारिएका आख्यानका पुस्तकहरू पढन पाइयोस् यही शुभकामना छ ।