Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आमासँग कुरा गर्ने धोको ( विशृङ्खलित सपना” कथासङ्ग्रह बाट )

आमासँग कुरा गर्ने धोको ( विशृङ्खलित सपना” कथासङ्ग्रह बाट )

नेप्लिज डायस्पोरा

१२, आश्विन २०८१
images
आमासँग कुरा गर्ने धोको ( विशृङ्खलित सपना” कथासङ्ग्रह बाट )

आमासँग कुरा गर्ने धोको ( विशृङ्खलित सपना” कथासङ्ग्रह बाट )   

-गोपी मैनाली

 

“आमा शब्द उच्चारण गर्दा पनि आँखा रसिला भएर आउँछन् । अरूले आमाभन्दा पनि मेरी आमाको दुब्लो आकृति अघिल्तिर उभिन्छ र मतिरै हेर्न लाग्छ ।”

“नभएको कुराको मूल्य बढी हुन्छ । आमा मेरा लागि अब अप्राप्य रहर हो ।”

“तीस वसन्त पार गरेको छोराले साठी वसन्त पूरा गरेकी आमासँग धीत मर्ने गरी कुरा गर्ने समय पाएन । यसो भनौं, समय जुरेन । पढ्न, जागिर खान रोशी छाडेको छोरो र छोराछोरीको भविष्यका लागि रोशीको पाखापखेरामा दिनचर्या गर्ने आमा । चाडबाड र बिमारीमा मात्र संँगै हुने नियति । त्यसैले आमासँग धीत मर्नेगरी कुरा गर्ने समय आएन ।”

यसपालीको दशैँ आमाको अन्तिम रहेछ । आँखाभरि आँसु पार्दै दशैँपछिको बिदाइमा भन्नुभो –“तिमीहरू त आक्कलझुक्कल आएका छौ, निराश लागेका ठूला दाइहरू आएनन् । अर्को साल तिमीहरूले दशैँ मान्न पाउँदैनौ, दुख बार्नुपर्लाजस्तो छ । मेरा सपना बिग्रेका छन् ।”

मनभरि दुःख र शरीरमा रोग पालेर पनि दशैँका चार रात आमाले सकी नसकी आप्mनै हातले बनाएको खाना खुवाउनुभो । आमालाई थाहा थियो,उहाँकै हातको खाना हामी मन पराउँछौँ । त्यसैले हामीहरू घर जाँदा सकी नसकी आमा नै खाना बनाउन अघि सर्ने गर्नुहुन्थ्यो ।

‘तिमीहरूको अनुहार देख्दासम्म म कति खुसी हुन्छु । तिमीहरू भने बढ्दै गएपछि दसैंँ पनि आउँदैनौ । बेकार मधेश ल्याएछौ, यो बसको बाटो मेरा सन्तानका लागि टाढा भो । बरु रोशी नै ठीक थियो । आफ्नै समाज, आफन्तहरू…..।’ कुरा नसक्दै आमाको गला अवरुद्ध भयो । वातावरण स्तब्ध बन्दै गएकोमा प्रसङ्ग बदल्दै आमाले भन्नुभो– ‘बाबुहरू केसँग खाजा खाने ? दहीसँग कि मासुसँग ? रोशीको जस्तै बोडीको बिरौला बनाऊँ ?’‘युव मासु त्यति रुचाउँदैन । आलु भुटौँ त ?’

आमाको श्वासले आगो फुक्न सकेन, माहिली बहिनी प्रभा ढुङ्ग्री खोसेर आगो फुक्न थाली ।आमाको अनुहारमा वेदना थिए । रोगको सताइ र हामीलाई हुर्काउँदैमा आमा जीर्ण बनिसक्नुभएको थियो,तर छोराहरू भएसम्म पीडा र वेदना लुकाएर, दवाएर राख्ने आमाको बानी ! हामीमा त्यो अनुभूति नहोस् भन्ने आमाको चाहना !

आमा साँचै धर्ती लाग्थ्यो । एउटा स्थिर धर्ती भएर भरोसा दिनु आमाको जिन्दगी थियो । मायाबाहेक आमासँग अरू केही थिएन, जीर्ण शरीर, कुप्रिँदै गएको ढाड, खोपिल्टो परेको पेट, गाडिएका आँखा, तर आमामा ठूलो साहस थियो । त्यही साहसले हाम्रो भविष्य बनाउन चाहनुहुन्थ्यो । आमामा कुनै रहर थिएनन् । छोराहरूको पढाइ र प्रगतिबाहेक आमाको कुनै चाहना थिएन ।

अधिकृत भएपछिको कमाइले जोगवनीबाट टेरिपोसाको सामान्य साडी ल्याएको थिएँ । आमामा खुसीको सीमा रहेन । गगल्चिएको स्वरमा भन्नुभो – ‘बाबु यति महँगो साडी किन ल्याइस् ? सस्तो ल्याउनुपर्दैनथ्यो ?’

आमालाई के थाहा यो साडीलाई मेरो एकहप्ताको तलब पनि परेको थिएन भनेर । धेरैबेरसम्म आमाका आँखा साडीमै थिए । खोपिल्टा परेका, बादल जमेका आँखा पातलो टेरिपोसाका सारीका राता सेता बुटृा हेरेर टलपल भइसकेका थिए । ‘बाबु ! यो साडी भए मेरो जीवनलाई पुग्छ ।’

के भन्नुभएको, मेरो मन अमिलो र काँपेको जस्तो भो तर केही भनिनँ । एकक्षणको विश्रामपछि कहिले चाहना व्यक्त नगर्ने आमाबाट इच्छाको आग्रह पोखियो– ‘हिउँदमा फुर्सद मिलाएर हामीलाई चारधाम लैजान ।’

‘चारधाम अलिपछि जाउँला, हुन्न आमा ? यो साल हिउँदमा मेरो जागिर लाग्छ ।’ आमालाई चित्त बुुझेन कि, कुनै प्रतिक्रिया जनाउनुभएन ।

दशैंका चार दिन आमासँग बिताएपछि हामी छुट्टिने दिन आयो । जागिरका लागि पनि काठमार्डौ आएर धरान जानुपर्ने ।

युवदाजु ! अञ्जु भाउजू, म, नारायण, राम र प्रभा बिदाइको टीका लगाएर निकासबाट बिदा भयौँ । गोपालको घरसम्म आएर आमा मौन उभिइरहनुभो । शोभालाई चकलेट खान पैसा दिँदा पो थाहा भो, आमाका गहभरि आँसु टलपलिएका थिए ।

‘पीर नमान्नु न आमा ! म धरानबाट लिन आउँला । हिउँदभरि त्यहीँ बसौँला । दन्तकाली, वराह क्षेत्र… ।’  मेरा शब्द पनि अभिव्यक्ति तुर्न समर्थ थिएनन् ।

होइन बाबु ! बुहारी नभएको डेरामा म कसरी बस्ने ? त अफिस गैहाल्छस् । शोभाको परीक्षा सकियोस्, तेरो विवाहपछि मात्र मलाई लैजालास् ।’आमाका प्रत्येक बोलीमा भावुकता मात्र होइन, कर्तव्य र गाम्भीर्य पनि हुन्थ्यो ।

फेरि केही भन्न त खोज्नुभो, तर सक्नुभएन । सायद आफ्नै रोगको कुरा । भनाँै कि नभनौँ भएर नभन्नुभएको आफ्नै रोगको कुरा हुनसक्छ ।

हामी पर पुगिञ्जेल आमा हामीलाई हेर्दै हुनुहुन्थ्यो । काँटाको चियापसलसम्म उहाँले हेरेको हामीले पनि ठम्यायौं । त्यसपछि दृश्यहरू अस्पष्ट हुँदै गए र हराए । सायद हामीहरू भल्वाइखोरबाट तामागढीका लागि जङ्गल नपसुन्जेल ठम्याए पनि, नठम्याए पनि हामीहरूलाई हेर्दै रहनुभयो ।

यस वर्ष आमाको आत्मविश्वास गिरेको थियो । बोलीतुरिँदैनथे । भन्न खोजेका कुराहरू सबै भन्नुहुन्थ्यो ।

कार्यालयको काममा आमालाई सम्झने काम गरिनँ । दिनभरि कार्यालयको काममा व्यस्त, यसो हिंडडुल  गर्दैमा समय बित्थ्यो । घरमा फोन थिएन । कामै नपरी हामीले कहिल्यै कुरा ग¥यौं र ? आमालाई पो आफ्ना सन्तानको माया, सन्तानले उनले जति माया कहाँ ग¥यौं र ? हिंड्ने वेलामा गला अवरुद्ध गरेकी, केही बताउन चाहेर पनि नबताएकी आमालाई मैले कुनै माध्यमबाट कुरा गर्नुपर्दैनथ्यो ?

धरानबाट मेरो सरुवा राजविराजमा भएछ । बहालीको केही दिनपछि प्रभाको टीकाटालाका लागि म सिधै काठमाडौं आएँ । आमालाई यस विषयमा त्यति थाहा रहेनछ । टीकाको कामपछि म घर र जनकपुर हँुदै राजविराज जाने योजनामा थिएँ । बुवा श्यामदाजुको जागिरमा जनकपुर जानुभएकोले आमा अझै निस्सासिनुभएछ । पुरानो रोगले सताएका कारण पनि आमा आत्तिनुभाको रहेछ ।

कान्छो भाइ राम गर्भमा भएदेखिनै गोलाको रोग छ भन्नुहुन्थ्यो । राम बीसवर्षे जवान भैसक्दा पनि त्यो गोला के हो भनेर कहिले जाँचिएको थिएन । बुुवाले त जचाउनुभएन, हामी छोराहरूले पनि आमाको स्वास्थ्यको बारेमा केही गरेनौं । उसले गर्ला, उसले गर्दा भनेर आआफ्नै वृत्तिमा रमायौं । धेरै सन्तानकी साझा आमाप्रति साझा दायित्व, स्वैच्छिक दायित्व, अझ भनौं दायित्व नै बोध गरेनौं ।

श्याम दाजुको सरुवा तनहुँमा भएकोले काठमाडौं जाने क्रममा उहाँ पनि घर जानुभो । आमालाई लिएर म पुनः काठमार्डौ आएँ । प्रभाको विवाहको कुराले आमा खुसी भए पनि बाटोमै निकै बिमारी पर्नुभो । बोल्न र आँखा हेर्नसमेत सक्नुभएन । मोटरको सीटमा मुढोजस्तै सुत्नुभो ।

हेटौंडाबाट माथितिर लागेपछि जीर्ण र लुला हातले मलाई सुमसुम्याएर आँखा खोल्दै आमाले अर्को आग्रह राख्नुभो – ‘बाबु ! बानेश्वरमै घर बनाऊ न ! म यो बुढो शरीर लिएर कति दिन मुग्लान बसौं ?’ तर म  केही बोल्न सकिनँ । तराई टाढा भएकाले छोराहरू नआएका हुन् कि भन्ने आमालाई थियो । घर बनाउने सामथ्र्य ममा थिएन । कुन्नि किन हो ?आमालाई मैलै बनाएको बानेश्वरको घरमा बस्ने इच्छा रहेछ ।

सकी नसकी बोलेका यी बोली नै आमासँगको अन्तिम कुराकानी रहेछ । त्यसपछि आमाले आँखा खोलेर बोल्नै सक्नुभएन । मनका कुरा त्यति पोख्नै सक्नुभएन ।

यसअघि आमाले काठमाडौंमा बस्ने इच्छा कहिल्यै देखाउनुभएन, तर यसपटक तराई नफर्कने भनेपछि उहाँ निकै गलेको र आत्मविश्वास गिरेको लाग्नु स्वाभाविक थियो । युवदाजुलाई यो अशुभ सङ्केत लागेछ ।

केही दिनपछि आमालाई फेरि रोगले च्याप्यो । रुग्ण शरीर पूरै पहँेलो थियो, आँखा पनि पहेलाम्मे थिए । घरीघरी मात्र आँखा हेर्नुहुन्थ्यो । वरिपरि हामी बसेपछि चिम्लिएकै आँखामा पनि केही खुसीभाव तरङ्गित हुन्थे । हामी भने जन्डिसको घरेलु उपचारमा थियौँ ।

दिन गुज्रिँदै गए, तर आमा झनै गल्दै जानुभो । अल्ट्रासाउन्ड गर्ने निधो ग¥यौँ र केही पैसा पनि जोहो ग¥यौँ । ओइलाएको कर्कलोजस्तै आमालाई रामले पिठ्यूँमा बोक्यो, मैले रामलाई समाए, र ट्यक्सीतिर लाग्यौँ । ट्याक्सी भेटेपछि काखको सिरानीमा आमालाई राखेर हामीले क्षेत्रपाटी लाग्यौँ । बाल्यकालमा यसैगरी आमाको काख हामीलाई प्यारो, अहिले आँखा हेर्न नसक्ने आमालाई यस अवस्थामा पनि हाम्रो काख प्यारो१

डाक्टरले खिन्न मन लगाएर रिपोर्टमा सही गर्न असजिलो मानेपछि म झनै आत्तिएँ । किन डाक्टर सा’व …., के देखियो ।

‘आन्द्रा र कलेजोमा दाग… ट्युमर… क्यान्सर भैसकेजस्तो छ । बिग्रेर जे पनि हुनसक्छ ।’

एकछिनपछि फेरि भन्दै जानुभो – ‘छिटो अप्रेसन गर्नु, सर्जिकल केस हो । आस त कम छ । न निको भैहाल्छ कि !’

डाक्टरलाई पनि विश्वास रहेनछ निको होला भन्ने !सबै कुरा नबताई रहस्यमा राखेकाले झनै डराएँ ।

रामले सोध्यो– यत्ति मात्र भनेँ –‘सर्जिकल केस रे !’

भोलिपल्ट शिक्षण अस्पतालमा भर्ना गरेपछि हाम्रो मनोविज्ञानले झनै हरेस खायो । आमाको मनले त पहिल्यै हरेस खाइसकेको थियो ।

हामी पालैपालो प्रतीक्षालयमा गएर आँसु पुछ्थ्यौँ, हामीले नदेख्ने गरी आमा आँसु पुछ्नुहुँदोरहेछ । राती निदाउँदा पनि कुर्ने छोराको हात समातेर निदाउनुहुन्थ्यो । छोरा साथ छ भन्ने भएपछि उहाँमा ठूलो आडभरोसा हुँदो रहेछ ।

सपनामा राक्षस आयो रे ! छोराको साथ छु भन्ने सोचाइमा राक्षसलाई मारि पिटिदिनुभएछ । मृत्यु पनि छोरासामु पराजित होला भन्ने विश्वास थियो आमामा ।

छिटो फैलिने खालको क्यान्सर भएको बायोप्सी प्रतिवेदन १ आमाको कलेजो क्यान्सरले पूरै खाइसकेको रहेछ । यो कुरा न आमालाई भन्न सक्याँै, न हँसिलो चेहरा उहाँलाई देखाउन नै सकियो । न उपचारमा कुनै उत्साह नै बाँकी थियो ।

हामीमा अवश्यम्भावी अशुभको प्रतीक्षा गर्नुबाहेक अर्कोे विकल्प थिएन । ‘निको भएपछि मनमा लागेका कुरा गर्ने’ आमाको धोको थियो ।

अस्पतालमा औपचारिकता पु¥याउन आउनेहरू नआए पनि हुने तर भन्न भएन त्यसो ।

केही हप्तापछि डाक्टरले घरै लगेर राख्ने सुझाव दियो । सोही अनुरूप आमालाई डिस्चार्ज गरियो । घरमा पीडा कम गराउन मर्फिनको इन्जेक्सन दिने र आमा बिचेत भएपछि अनुहार हेरेर बस्ने दिनचर्या सुरु भो । डाक्टरका अनुसार यो प्रक्रिया पाँच महिनासम्म चल्न सक्छ रे ! आमाको पीडा हेर्न नसकेर हामी भक्कानिन्थ्यौँ  तर निरूपाय !

डाक्टरले साहसपूर्वक भन्यो – ‘बिमारीलाई पनि सास्ती, तपाईंंहरूलाई पनि सास्ती, पैसाको पनि खर्च । अपरेसन गरेर टुङ्गोे लगाए जाति ।’

डाक्टरको आशय उपचार टुङ्ग्याउने थियो । त्यो प्रस्तावलाई हामीले सिधै लत्याइदियौ । ‘कुनै छोरा त्यति क्रूर हुनसक्छ ?’ ईश्वर हुनुपर्ने डाक्टरले किन यति क्रूर शब्द भनेको होला ! उपचार नलाग्ने भएपछि धर्मकर्मतर्फ लाग्नुुको विकल्प थिएन ।

घरमा धार्मिक पूजा प्रवचनहरू सुरु भए । पूजापाठ गरेको थाहा पाएपछि आमाको अनुहारमा थोरै चमक देखियो तर त्यो क्षणिक थियो, निभ्ने वेलाको दियोजस्तै ।

होस आएको वेलामा पीडामा पनि छोराछोरीकै चिन्ता छ आमामा । ‘म मर्छु जस्तो छ । देवलाई नबोलाऊ’ । ऊ इञ्जिनियर पढ्न रुस गएको थियो । ऊ आउँदा उसको पढाइ बिग्रला भन्ने थियो आमामा ।

‘राम, नारायण कहिले अफिसर होलान्?’

‘शोभा काखकी छोरी, अघिल्तिर पनि त्यति पर्दिन । यसको घर कहिले होला ?’

‘म बितेपछि बुुवाको हालत के हुने हो ?‘

बिस्तारै आमाका बोलीहरू बेसुरा हुँदै गए । सांसारिकभन्दा भिन्न कुरा पनि बहकिन थाल्नुभो ।

आमालाई कुर्न नै भनेर काठमाडौं सरुवा मागेको थिएँ, तर सरुवा धुलिखेल भएको थियो । दिनभरि कार्यालयको काम र रातभरि मर्फिन डोजमा बिचेत आमासँग समय काट्दै गइयो । ती लामा र पट्यारिला रात, युवदाजु, म, नारायण, राम, कमला र पेरु आमाको वरिपरि घेरा लगाउनु, पेट र युरिनलको पाइप फेर्नु …। महिनौँ अनिँदोमा हाम्रा आँखा पनि गालातिर छन् कि जस्तो भान हुन्थ्यो तर पनि केही दिनका लागि सजीव तस्वीर हेरेर पनि थोरै दुःखसुखको अनुभव गरिरह्यौं ।

शनिवार आमाले वात्सल्य प्रकट गर्नुभो । ‘बाबु ! तँलाई चिसो लाग्यो जस्तो छ । गा¥होमा अडेस नलाग् । कति दिन भो नसुती जागा बसेको १’

फेरि थप्नुभो–‘धुलिखेलको क्वाटर राम्रो छ ? बिछ्यौना मिलाएर राख् …..।’

बोलीले पूरा साथ दिएन । सायद निको भएपछि बस्नुपर्छ भन्न बाँकी थियो । आमाको यो इच्छा यो जीवनमा कसरी पूरा गर्ने ? कि भनिदिऊँतपाईंंको कलेजो क्यान्सरले खाइसक्यो भनेर । होइन आत्मविश्वास झनै गिर्छ । बिमारीलाई सबै कुरा कहाँ बताउने !

काकाको घरतिर फर्केर आँसु पुछेँछु । आमाले थाहा पाउनुभएछ । सकी नसकी थप्नुभो – ‘किन रोएको बाबु ?’

जीवनको आखिरी क्षणमा पनि छोराछोरीप्रतिको कति माया । यो मायाको बदला हामीले के दिने ? के थाहा असामयिक यो परिस्थिति छिटै आउँछ भनेर । किन दश वर्षअघि उपचार थालेनौं ? आखिरी भएपछि माया गरेर, आँसु झारेर के नाटक गर्नु ?उपचार नलाग्ने भएपछि मात्र उपचार १उपचारको औपचारिकता । मायाको एकतर्फी शोषण । अब बचाउन सकिँदैन भनेपछि अस्पताल, उपचार, मर्फिन, काठमार्डौ, पूजापाठ …। सब औपचारिकता, अनावश्यक, बेतुक, बित्था, ढोँगी …।

के आमा धर्ती मात्र हो ? के जन्माउने र हुर्काउने मात्र आमाको दायित्व हो ? सन्तानको केही कर्तव्य नै हँुदैन, सिवाय दुःखदिने, पकाउन लगाउने, खाने …।

चारैतिरबाट काँडेतार लगाएर मृत्यु जित्ने हाम्रो प्रयास थिएन, तस्वीर हेर्नुभन्दा सजीव ‘आमा’ हेरेर बस्नु मात्र पनि हाम्रो रहर थियो । त्यसैले अप्रेसन गरेर केही दिनअघि आमालाई पीडामुक्त गर्ने विकल्प हामीले रोजेनौँ ।

अवश्यम्भावी खतराबाट निरीह बनेका हामीहरू वरिपरि बसेर रुन मात्र सक्थ्यौँ । यो दिनचर्याबाट आगन्तुकसमेत पट्यार मान्न थालिसकेका थिए ।

एक दिन मेरा अफिसका धेरै साथीहरू ह्वार्र एकैपटक हेर्ने आए । म स्टाफ कलेजमा तालिममा पनि सकी नसकी भाग लिइरहेको थिएँ । तालिमको बहानामा प्रत्येक दिन धुलिखेल धाउनुपर्दैन र त्यो समय आमासँग, आमालाई कुरेर बस्न पाउँछु भन्ने थियो । साथीहरूले आमालाई हेरेर सम्झाउन खोजे । आमा भने छोराका साथीहरू आएकोमा खुसी भावमा हुुुनुहुन्थ्यो । बोली त पुु¥याउन सक्नुभएन तर हरिकृष्णजी, द्रोण रसालीजीहरूसँग थोरै कुरा गर्न खोज्नुभो ।

बिमारीमा ‘चोथाले पेरु र लुम्री कमलाले घीन नमानी स्याहार गरे’ रे ! बोली बस्न लाग्दा आमाले बल्लबल्ल भन्नुभो । ‘भर्खर आएका अरूका छोरीले घीन झिँझो केही मानेनन् । छि छि भनेनन् ।’ पछि त म र दिदीबाहेक कसैलाई बिछ्यौनामा नबस्न सङ्केत गर्न थाल्नुभो । सायद उहाँको मनले यस धर्तीलाई छाड्दै थियो ।

अतिशय वेदनाबीच टुलुटुलु अकण्टक हेराइले कता कता हामीप्रति व्यङ्ग्य थियो कि ! ‘एकदर्जन छोराछोरी पाएर पनि एकदिन पनि सबैसँग रमाइलोमा बस्न नपाएकोमा, दुःख साट्न नपाएकोमा । केही भन्न बाँकी ती आँखाहरूमा अस्मेल वात्सल्य प्रेमले हामीलाई भिजाइरहेथ्यो । मनले कति कुरा सोचेका होलान् १कति रहर बाँकी थिए होलान् १ सबै छोरा अधिकृत भएको देख्ने आमाको सपना १प्रभा शोभाको राम्रो घर भएको देख्ने सपना १फगत छोराछोरीको सन्तोषलाई आप्mनो सुख सम्झेर साठी वसन्त काटेकी आमालाई एक वसन्तको अनुभव दिन सकेनौँ । बिमारी हुँदा पनि ढाँट्नुप¥यो बिसेक हुन्छ भनेर । घरबाट बिदा हुँदा छिटो आउँछौँ भनेर ढाँटेजसरी नै ।

निरीह र अनाशक्त हामी १युवदाजु, म, नारायण र राम चारभाइका बीच आमाको हिक्क हिक्कले रातभरि रुनु हाम्रो नियति थियो । दिनभरि आगन्तुको भीड भएपनि रातपरेपछि हामी चारजना मात्र हुन्थ्यौं । प्रतिदिन मृत्युसँग नजिकिँदै थियौँ । पेनकिलर–सलाइन–सि भी पी युरिनल पाइप आमालाई स्याहार गर्ने औजार बनेका थिए ।

‘आज धुलिखेल नजा है ! मलाई देख्न पाउने छाँट छैन आजबाट ।’ म छाँगाबाट खसेजस्तै भएँ । अनाशक्त भएर बस्नुमा आफैप्रति घृणा लाग्यो । जीवनप्रति विरक्ति र जन्मप्रति घृणा जाग्यो – ‘तैँले पढेर, बुझेर, पढाएर, हाकिम भएर केही गर्न सकिनस् । आमासँग एक दिन पनि दुःख साट्न सकिनस् ।’ मेरो आत्माले मलाई दोषी, अझ भनौं अपराधी घोषित गरिरहेको थियो । सायद अरू दाजुभाइलाई पनि यस्तै लागेको होला ।

इच्छा अनुसार नै मनपर्ने टेरिपोसा सारी सजाइदियौँ । छ जोर आँखाहरू आमा वरिपरि अन्तिम अवश्यम्भावी पराजयलाई कुरेर हेरिबसे । रात ढल्केर बिहानी हुनै लाग्यो । राम र पेरुलाई राखेर आँखाको विष मार्न पल्लो कोठामा गएका थियौं । राम आत्तियो र करायो । आमा केही बोल्न खोजे, तन्किए झैँदेखिनुभो । बोलायाँै, करायाँै तर आमा अन्तिम विश्रामका लागि बिदा भइसक्नुभएछ !

कसैले आमाभन्दा पनि मेरी आमाको दुब्लो र अस्पष्ट आकृति मेरा सामु उभिन्छ । आँखामा बादल पर्छन् र मुटु भक्कानिन्छ र, ईश्वरीय सत्ताप्रति घृणा जाग्छ । किन मृत्यु मेरा लागि नभएर हाम्री आमाका लागि पठायाँै ? मेरी महान् आमालाई किन पाँच–पाँच महिना पीडामा विचेत पा¥यौ ?

किन इच्छा लागेका कुरा पनि भन्न दिएनौ ?

कि ईष्र्या छ आफ्नै सिर्जनाप्रति ?

के आमा सन्तानका लागि मात्र बाँच्ने हो ?

-गोपी मैनाली

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०४:२३:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend