पराजित ( "विशृङ्खलित सपना" कथासङ्ग्रहबाट )
उज्यालो खस्नु अघि नै उठ्नु, नुहाउनु, जप र पूजापाठ गर्नु र घाम झुल्कनु अघि पत्रपत्रिका पढिसक्नु सुरोजको दिनचर्या हो ।
ऊ हाइस्कुलमा पढ्दादेखि नै सबेरै उठ्ने र कोठाको काम गर्ने बानी परेको हो । कलेज पुगेपछि कार्यभार बढ्दै गयो, जागिर खाएपछि झनै बढ्यो र घरको अभिभावक बन्न परेपछि झनै बढ्यो । ऊसधँै कामले थिचिएको र समयको हतारोमा छ ।
सुरोज काम गर्न परे पनि कत्ति पनि बेखुसी छैन । बस बच्चाको तोतेबोली र श्रीमतीको मीठो मुस्कानमा र अफिसको काममा गाली नपरे ऊ प्रसन्न हुन्छ ।
बच्चा उठेपछि उनीहरूलाई एक एक ग्लास दूध र आफू चिया पिउँदै बच्चालाई पढाउने र आफू पनि पढ्ने सुरोजको आदत नै हो ।
बाबुहरूले धेरै पढून् र असल मानिस बनून् भन्ने चाहनाले सुरोज र उसकी श्रीमती बच्चाका चाहना सकी नसकी पूरा गर्न पछि पर्दैनन् । बच्चालाई मन मुटुुमा राख्छन् । दुुई बच्चा दुुई आँखाका नानी बनेका छन् ।
पाठक दाइले तिम्रा बच्चाको चेहराले नै धेरै विद्वान् बन्नेछन् भन्दा सुरोज निकै दङ्ग परेथ्यो । फुर्सद मिल्दा महान् र सङ्घर्षमा सफल भएका व्यक्तिहरूको जीवनी सुनाउने काम पनि उसले गर्दै आएको छ । मीठा मीठा कथा सुनाउँदै आएको छ ।
आज पनि सुरोज सबेरै उठ्यो र दिनचर्यामा सामेल भयो । पत्रिका पढिसकेपछि चियाको सुर्कोसँंगै एकमनले घरको काम र अर्को मनले अफिसको विषय सोच्न थाल्यो । मनभित्रका किताबका पानाहरूएक एक गरी पल्टिँदै गए ।
बच्चा उठिसेकेका छैनन् । भान्छामा बच्चाका खाजा बन्दै छ ।
अफिसमा प्रशासन शाखा प्रमुखले बिदा लिएका छन्, फस्र्ट आवरमै एउटा प्रस्ताव क्याविनेट पठाउनु छ ।
योजना अनुगमनको टिम बिहानैदेखि राष्ट्रिय समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन तयारीमा छ । एघार बजेसम्म प्रस्तुति तयार हुनुपर्छ । आफूले नहेरे काम कच्चा होला, आफै जिम्मेवार बन्नुपर्छ ।
टिरिरिङ........ फोनको घण्टी बज्यो । अनुगमन अधिकृत गोपालजीको रहेछ ।
‘सर विभागबाट आएको आँंकडा मिल्दैन, हामीले भन्दा डिजी सावले त्यति राम्रो रेस्पोन्स गर्नुभएन । हजुरले भन्नुप¥यो । दश बजेसम्म विवरण आइसक्नुप¥यो । फोनबाटै पाए पनि हुुन्छ ।’
काम फत्ते गर्न साँझ बिहान पनि फलो अप गर्नुपर्छ । कार्यालयमा मात्र खटेर कहाँ पुुग्छ र ! बारम्बार फलो अप गर्नुपर्छ । साथीहरूमा खै कामप्रतिको लगाव कसरी बढाउनुहोला ? फेरि केही साथीहरू त मन लगाएर काम गरिरहेका छन् । विचरा गोपालजी बिहानैदेखि काममा हुुनुहुन्छ । जनकजी पनि खटेर बस्नुहुन्छ ।
मोरङको कार्यालय प्रमुखप्रति सेवाग्राहीको धेरै शिकायत छ । लिखित उजुरी पनि छ । नेता र ट्रेड युनियनहरूउसैको पक्षमा छन् । निगरानी निकायले पनि देखेछ । गुनासोरहित सेवा हाम्रो प्रतिबद्धता । आजै सरुवा गर्नुपर्ने, आजै प्रशासन प्रमुख किन बिदा बस्नुपरेको होला ?कतै उनी पनि सरुवाको विपक्षमा त होइनन्?
शाखाअधिकृतबाटै टिप्पणी उठाए भइहाल्यो नि !
हिजो ढिलासम्म होमवर्क गरेकाले होला, बाबुहरू अझै सुतेका छन् । लोडसेडिङले पनि बच्चाहरूको रुटिन नै बिगा¥यो ।
‘बाबु हो उठ । फ्रेस भएर खाजा खाइहाल । स्कूल जान ढिला होला ।’
बाबुहरूले खाजा खाइसकेपछि थोत्रो मोटर साइकलको उनीहरूलाई अघि र पछि राखेर सुरोज स्कूल पुग्छ ।
‘बाबु हो राम्ररी पढ, ज्ञानी बन । टाटा ।’
बत्तीको महसुल तिर्नुछ । पानी सकिएको छ, आजै एक ट्याङ्की पानी नकिनी भाको छैन । खानेपानीको धारामा पानी नआएको पनि सात वर्ष भयो । पानी आउने आशामा पैसा तिर्नुपरेको छ । कुनै दिन मेलम्ची अवश्य आउला भन्ने आशा ।
पहिला त ट्याङकरले भन्ने बित्तिकै पानी ल्याइदिन्थ्यो । अहिले त भाउ पनि बढ्यो, दशौंपटक फोन नगरी ट्याङ्कर पनि आउँदैन । ल्याउँदा पनि राती, निद्रा नै बिथोल्ने गरी । अरूलाई पनि यस्तै समस्या होला नि !
डेरा गर्ने विद्यार्थी के गर्दा होलान्? कठै शहरमा अवसर छ भनेर पढ्न आएका, चाहिने वेलामा न बत्ती छ, न धारोमा पानी ? बत्ती गएपछि लामखुट्टेले कति दुःख देलान्?
सरोजलाई भात खान पनि हतार छ । सधैँको हतारो । हतारमा खाँदा एकदुई गाँसमै अघाइहाल्छ ।
‘सधैँको हतार । फुर्सदले खाँदा हुँदैन र ? अफिसमा के छ ? दुई मिनेट ढिला हुँदा अफिस नै चल्दैन ?’ श्रीमतीको भनाइबाट सरोज झल्याँस्स हुन्छ । यो भनाइ र हतारो सधँैको हो तर आज ऊ किन हो कुिन्न छाँगाबाट खसेजस्तो भो । मनका पाना फेरि एकएक गरी उघ्रिए ।
मविना अफिस चल्दैन ? टाइफाइडमा डेढ महिना थलिँदा अफिस चलेन र ? जापानमा तालिममा जाँदा अफिस चलेन र ?
हो नचलेको जस्तै भयो । नारायण सरले मेरो अनुपस्थितिमा काम नभएकोमा अरू साथीलाई मजस्तै काम गर्न कति सम्झाउनुभयो रे १
जापान तालिममा रहँदा त भौतिक दूरी भएर पनि इमेलबाटै महत्त्वपूर्ण काम गरिएकै हो । बेलुकी दुईतीन घण्टा काम गरेकै हो । सबैले मलाई अफिसको पर्याय भन्ने गर्थे ।
फेरि सबैले अफिसको काम त हो नि भनेर सोचे अफिस कसरी चल्छ ?
‘होइन अफिस त चल्छ । जसरी पनि चल्छ । तिमी नकराउन । आत्मसन्तोषको लागि पनि काम गर्नुपर्छ । सबैले तिमीले जस्तो सोचे के गर्ने ?’
‘यसो कहिले घर परिवार, बच्चाहरूका लागि पनि त समय दिए हुने नि१ स्टोनको अप्रेसन छ, दाँतको उपचार गर्नुछ । समय भए आँखाको अप्रेसन पनि गर्नु छ । कहिले काम हुन्न र अस्पताल जाने ?’
‘अफिसले के दिएको छ र ? न पुरस्कार न स्याबासी । कोही जान नचाहने अफिस हजूरको भागमा पर्दै आएको सबैलाई थाहा छ ।’
सुरोजको मन निकै तरङ्गित छ । प्रत्येक पुरुष असल पति र असल पिता बन्न चाहन्छ । असल राष्ट्रसेवक बन्न चाहन्छ । असल नागरिक पनि बन्नुपर्छ । यी कुराबीच सन्तुलन र सङ्घर्षको जीवन !
आफ्नो स्वास्थ्यको, परिवारको, बच्चाहरूको कसैको विषयमा पनि सोचिएन । यतिसम्म कि बैठक कोठाको ट्युव लाइट बिग्रिएको हप्ता नाँघिसक्यो । कपाल काट्न तीन सातादेखि एकघण्टा समय मिलेको छैन । मोटर साइकल सर्भिसिङको समय गुज्रेको तीन महिना नाघ्यो । शनिवार बच्चालाई पार्क, चिडियाघर लाने दिन पनि जुरेन । विचराहरूको शनिवारको मनोरञ्जन टम एण्ड जेरी र एनिमल प्लानेट हेरेर बित्छ । तारे जमीन पर सिनेमा हेर्न कति पटक भने । टेलिभिजन पनि नभएको भए?
अस्ति त सानोले पु¥याएरै सोध्यो ‘पापा शनिवार हजूरको होलिडे हुन्न ?’ हुन्छ भन्ने कि हुन्न भन्ने १ वैधानिकतामा काम गर्ने कि कर्तव्यमा काम गर्ने ? कर्तव्य परिवारप्रति पनि कि निजामती सेवाप्रति मात्र ?
तर के गर्ने कुनै न कुनै बहानामा अफिसमा कहिले को, कहिले को आउँदैनन् । काम रोक्नु पनि भएन । सबैलाई लोकतन्त्र आएको छ । सबैले नेता र युनियनको फेर समातेका छन् । साथीहरूले काम नगरेपछि कसैगरी फत्ते गर्नै प¥यो, शनिवार भनेर के गर्ने ?
सुरोज हतार–हतार कपडा फेर्छ । कपडा पनि धोएको त छ, आइरन गरेको छैन । जुत्तामा पालिस पनि छैन । टाइ मिलाउन पनि जान्दैन ।
डायरी र कलम सधैँका साथी । न मोइलिन्छ, न आइरन लगाउन नै पर्छ । न टाइमा जस्तो गाँंठो मिलउनु नै पर्छ ।
पौनेदश हँुदा पनि सुरोजको कार्यकक्ष खुलेको छैन । ‘पी ए हरिकृष्णजी ! कार्यालय सहयोगीहरू त अलि छिटै आएर कोठा खोले हुने नि? बाँकी काम, इमेल चेकजस्ता काम त भीडभाड हुनुअघि नै गर्ने हो ।’
‘होइन, मैले हतार गरे भन्दैमा उनीहरूले किन हतार गर्ने ? मलाई पो अफिस आउन जान गाडी छ, उनीहरू बसमा झुन्डिएर नै आउने होलान् । उनीहरूका पनि बालबच्चा र श्रीमती होलान् । भनेको समयमा तल माथि पर्न सक्छ नि ।’
‘तर योजना अनुगमनका गोपालहरू त बिहानै आएका छन् । धन्न उनीहरूजस्ता केही साथीहरू कामलाई नै जीवन मान्छन्, कामलाई नै प्रेरणा मान्छन् । उनीहरूले काम कति गरे, त्यही बसे भैगो नि दश–पन्ध्र मिनेट । कामको सुुपरिवेक्षण पनि र प्रोत्साहन पनि एकचोटि हुने ।’
‘कामको अर्जेन्सी र कामबाट एस्क्यूज लिने प्रवृत्तिबीच तालमेल कसरी मिलाउने ? कोही सधैँका एस्क्यूज मेकर, कोही सधैँभरि गोरु जोतिने ।’
कर्मचारीतन्त्र त्यसै आलोचित भएको हो र ? कर्मचारी भनेपछि कर्मकै आचरणमा रहनुपर्दैन ?
सधँै काममै समर्पित हुनेले के पाए?
काम नगर्ने, तर यो गरे त्यो गरे भनेर गरेको जस्तो देखाउने, प्रचार गर्दै हिंड्नेकै हावी छ । सधैँ जोतिने विचरा, उल्टो गाली खान्छ । प्रचार गर्ने, लुच्चाहरू नै ट्रेड युनियन र मन्त्रीका मानिस बन्छन् । अवसरको दुनो उनीहरू नै सोझ्याउँछन् । काममा जोतिनेहरू जोतिएका जोतिएकै छन् । उनीहरूलाई प्रेरणा जगाउन पनि मैले नै जोखिम मोल्नुपर्छ, कतिन्जेल सकिएला ?
काम गोपालजीहरूले गरे, मैले गरेको भनेर पो रिपोर्ट गर्छ शिव । यस्तै भनी–भनी मन्त्रीज्यूलाई के प्रभाव पारेथ्यो, विदेश नोमिनेशन नगरी भएन । मेरै हातबाट गोपालजीहरूलाई अन्याय गर्नुप¥यो १ कठै मबाट पनि न्याय नपाए कसले न्याय दिन्छ, कसले माया दिन्छ ? महानिर्देशक सरुवामा पनि यस्तै भयो । अरू कर्मचारीलाई पनि न्याय गर्न सकिएको छैन । होइन किन मन्त्रीहरू काम नगर्नेका पक्षमा हुन्छन् ?
होइन, सधैँ जोतिने, अफिसलाई नै कर्मघर सम्झने थोरैबाट नै प्रणाली धानिएको छ । काम त आत्मसन्तोषको लागि पनि गर्ने हो नि! काम गर्नेले के पाइन्छ भनेर सोच्छ र ?ऊ त काम मात्र गर्छ ।
‘साढे तीन महिना जगेडामा रहँदा काम नभएर कति छट्पटिनुपरेथ्यो ।’
चौरमा चुड्की गर्नेहरू गर्दै रहुन्, सेवाग्राही सरकारप्रतिको दायित्व पूरा गर्नैपर्छ । के पाए र पाइन गौण कुरा हो । थोरै भए पनि तलब पाइएको छ, राष्ट्रसेवा गर्ने अवसर छ, काम गर्ने अवसर पाइएको छ । यत्ति पनि नपाउने कत्ति छन् कत्ति १ नपाउनेहरूलाई नै यसको महत्त्व थाहा होला ।
हो त वीरबहादुरजीले ठीकै भन्नुभयो–जागिरमा भएर त आधा भए पनि खान पाइएको छ, जागिरमा नहुनेले त आधा पनि खान पाएका छैनन् । कति सटिक बोली वीरबहादुरजीको ! सबै अफिसमा कम्तीमा दश प्रतिशत यस्तै साथी भए कति आनन्द हुनेथ्यो १दश प्रतिशत त छन्, उनीहरूले अफिसलाई यहाँसम्म धानेका छन् ।
मध्याह्नपछि अफिसमा भीडभाड छ, डेलिगेशन, गुनासो, सरुवा, विज्ञापन । कोही त चिया खानमात्र पनि आएका, कति त पिए कोठामा ल्याङ खाएर बसेका, यस्ता साथीहरू त फुर्सदमा आए नि हुनि !ढिलो आउने साथीहरूको गुनासो झन धेरै छन् ।
‘टिरिरिरिङ.....।’
मन्त्रीज्यूको फोन रहेछ ।
‘हजूर नमस्कार । केही थियो कि ? म कार्यकक्षमै छु । काममा छु हजूर ।’
‘यतिवेलासम्म देखिनुभएन, आउनुभएन कि भनेर ।’
‘होइन हजूर, अघिनै आएँ । समीक्षा बैठकको प्रस्तुति तयार भयो, प्रस्ताव पनि पठाइसकँे । अर्जेन्ट काम सकेर हजूरकोमा निस्कन्छु, हुन्न ?’
‘मन्त्रीको बोलावटभन्दा अर्को अर्जेन्ट हुन्छ र ? ल ।’ फोन काटिन्छ ।
भीड पन्छ्याऊँ, काम गरौं कि मन्त्रीज्यूकोमा जाऊँ ?
होइन मैले जागिर खान पनि जानिनँ कि क्या १ संँधै यस्तै । काम गर्दा पनि तनाव, नगर्दा पनि तनाव । नीति नेतृत्व त उहाँहरूले लिए हुने नि१ जस अपजस आफैले लिए हुने नि !
हो मैले जागिर खान नजानेकै हो । जान्दथेँ त किन अरूले छाडेको मन्त्रालयमा मात्र पोस्टिङ ? विकलले काम पनि गर्दैन, चुड्की मारेरै बस्छ । लगातार विभूषण उसैले पाएको छ । निर्णय लेख्ने उही, आफ्नो नाम नभए लैख्दै लेख्दिन भनेछ । गत साल पनि उसले नै पाएको थियो ।
ऊ त तक्मा दिने ठाउँमै छ नि ?
सवलले उत्कृष्ट कर्मचारी पुरस्कार पायो ।
ऊ पनि पुरस्कार निर्णय गर्ने ठाउँमै छ नि ! फेरि ट्रेड युनियनको मानिस प¥यो ।
जीवन इकोनोमिक काउन्सिलरमा गयो, यसअघि पनि विदेशै थियो, प्रवल महावाणिज्य दूतमा । ऊ पनि पोहोरमात्र युरोपबाट पढेर फर्किएको होइन र ?
मैले पनि एउटा विदेशी डिग्री लिन पाएको भए ...१ बि ए, एमए. सबै प्राइभेट परीक्षा, सबैमा सेकेन्ड डिभिजन । यस्तो पढाइले त कन्फिडिएन्सी पनि हुँदो रहेनछ ।
होइन, मैले जस्तो आत्मसन्तोष मिल्ने गरी उनीहरूले काम गर्न पाएका छैनन् । धुलोमैलोका सेवाग्राही उनीहरूले चिनेका छैनन् । धेरै सेवाग्राही र दुःखी मानिसहरूले मलाई चिन्दछन् । उनीहरूले नेपालको संस्कृति, भूूगोल, जनजीवन र हिमाल पहाड, दूरदराजका दुःख चिन्न पाएका छैनन्् ।
चिनेर के फरक ? यो त फगत चित्त बुझाउने कुरा हो, आत्मसन्तोषको लागि,फगत आदर्श !
कुईइइइईय ढोका खोल्दै हरिकृष्णजी पस्नुहुन्छ – ‘सर ! पूर्व मन्त्रीज्यू डेलिगेशनसहित हुनुहुन्छ । अर्जेन्ट छ रे ! पठाआँै ?’
पठाइ दिनुस् ।
सुरोजजी ! तपाईंं जस्तो काम गर्ने मानिस मैले देखेको छैन । तपाईंंलाई के गर्नुपर्छ हामीलाई थाहा छ । समयमा हामी सम्झौँला ।
होइन,उहाँ किन त्यसो भन्नुहुन्छ ? म जगेडामा हँुदा चिनजान गर्न आएर पनि प्रशंसा गर्नुभा थ्यो । मन्त्री हुनु भो, तर त्यतिवेला बिर्सनु भो । पक्केै कुनै काम लिएर आएको हुनुपर्छ, नत्र पूर्वमन्त्रीले हामी कर्मचारीलाई यस्तो शब्द ...।
‘अहिले उहाँको सरुवा र यो निवेदन तत्काल फर्वार्ड गर्नुप¥यो ।’
सुरोजसंँग प्रतिक्रियाका धेरै शब्द थिएनन् ।
‘होइन मन्त्रीज्यू ! के भन्नुभएको । मैले कोसंँग के गुनासो गरँे र ? ठीकै छुु नि, काम गरेको छु । हजूरहरूले हिजो गरेको पनि देखेकै हो । कामका लागि अरू पृष्ठभूमि किन चाहियो र ? काम गर्नु त हाम्रो कर्तव्य नै हो । जनताको तिरो खाएपछि काम नगरेर हुन्छ ?’
‘अँ एउटा कुरा, उहाँ सुब्बा साहेवको सरुवा म पि आइ एस हेरेर, यस अघि कहाँ कहाँ बस्नुभएको छ, पास्ट रेकर्ड हेरेर गरांैला । सरुवा सिद्धान्त र समयमा गर्नुपर्छ, प्रणाली बसाउन हजूरहरूले पनि सहयोग गर्नुपर्छ ।’
राजनीति गर्नेलाई के थाहा कर्मचारी वृत्तिबाट एकपटक हटेपछि, वृत्ति अवधि सकिएपछि फेरि नेताजसरी कहिले वृृत्तिमा आउन सक्दैनन् । कम्तीमा उहाहरूले मलाई दुःख दिए भन्ने त रहेछ नि १ पश्चात्ताप त रहेछ नि !
यो पश्चात्ताप कामका लागि हो, पावरमा पुगेपछि भुलिहालिन्छ नि !सबै नेताहरूको साझाचरित्र ।
शक्तिमा पुगेपछि काम गर्नेलाई चाकडी गर्न आइनस् भनेर पेल्ने उहाँहरू नै त हो नि !
महत्त्वाकाङ्क्षीहरूअवसरवादी हुन्छन् । अवसरमा पुगेपछि सिद्धान्त र आदर्श भुल्ने पहिलो काम हो उहाँहरूको । उहाँहरू अभिनय धेरै गर्न जान्नुुहुन्छ ।
आ होस् ! परिश्रम र इमानमा बाँचेपछि कसैले केही भन्न सक्दैन । ढुक्क भएर बोल्न सकिन्छ । बोल्दा विवेक थाती राख्नुपर्दैन, यो जति ठूलो अरूउपलब्धि के ?
तर आदर्शले पेट भरिन्छ ? कहिलेकाँही त स्याबासी पाए पनि हुने नि !
म जत्तिको मानिसलाई पनि ‘गरिस्’ सम्म नभन्दा मलाई उहाँहरूले कसरी काम लगाउने ?अरूले पनि यस्तै नियति भोग्दै आएका छन् ? अझ ठूलो हैरानी । कि जागिर खानु भएन, जागिर खाएपछि जस्तो हुन्छ स्विकार्न प¥यो ।
सुरोजका छटपटी र व्यथाहरू मनभित्रै मडारिएका छन्, छचल्किएका छन् । कसलाई बताउने ? बताउने शब्द र सुन्ने साथी पनि छैनन् ।
रात परिसक्यो तर अर्जेन्सीका केही कामहरू बाँकी छन् । नसकी त घर जानु भएन नि !
थकान मुद्रामा, तर गर्नुपर्ने काम गरेकोमा मनभित्रको गर्वभावमा सुरोज निवास आइपुग्छ । र, भरेङबाटै श्रीमतीको नाम लिएर बोलाउँछ ।
‘होइन, आज पनि यति ढिलो ? होइन त्यो अफिसमा के छ ? पोहोर भूकम्प जाँदा पनि म एक्लै भएँ । भूकम्पपछि पनि डराएर चौरमा रहनुप¥यो ।’
सुरोज थकित र पराजित मुद्रामा निशब्द उभिन्छ !
फगत निशब्द !
-गोपी मैनाली