बागलुङ जिल्लाको सदरमुकामा हाम्रो घर थियो । जन्मन म अलिकति मास्थिर रातामाटा गाउँमा जन्में, तर कर्मले सदरमुकामको बजारमा तान्यो । आजपनि बजारको त्यहि घरमा म बस्छु ।
त्यतिखेर म सानो सानो खिरिलो फुच्चे थिएँ । घर भित्र होसकी बाहिर ज-जसले जे जे भन्यो त्यहि-त्यहि मान्ने म थिएँ । अर्थात जसले जताजता तान्यो उतैउतै लतारियो भने सबैको प्यारो भईने रहेछ । म खुब लतारिएँ । त्यसैले सबैको प्यारो पनि भएँ ।
कसैले बेठिकलाई पनि ठिक हो भन् भन्यो भने ठिक हो भन्दिन्थें ! सेतोलाई कालो हो भन् भन्यो भने- हो हजुर आहा ! कस्तो कालो भन्दिन्थें । जे भनेपनि सहने, कसैको कुरा नकाट्ने भएपछि त म सबैको तानातानमा पर्थें । जसले पनि मैलाई खोज्थे मैलाई बोलाउँथे ।
हुँदाहुँदा म सबैको आँखाको नानीमा बस्ने सानो सानो प्यारो फुच्चे बनेछु । बाठो बाँङ्गो हुन भन्दा सोझो र प्यारो हुनुमा बहुत फाईदा पनि हुन्छ । बाठो कौवाको कथा त हामीलाई थाहै छ । लाटो सोझो र प्यारो (एस म्यान्) हुँदा बास्तवमा यसको फाईदा समयक्रममा पछि गएर मैलाई भयो । यो गन्थन पढ्दै तलतल जाँदा सोझोपनका फाईदाका कुराहरु पाउनु हुनेछ । अनेक किस्साहरु मैले सम्झने र लेख्ने प्रयास गरेको छु । ती किस्साहरुले तपाईलाई कतै हंसाउलान कतै रुवाउलान भन्ने मेरो ठम्याई छ ।
बजारको घर केवल बस्नको लागि मात्र थिएन । हाम्रो संयुक्त परिवार ठुलो थियो । जनशक्ति पनि प्रशस्त थियो । बिहानै बेलुकै एउटै भान्छामा सत्ताईस जनालाई हजुरआमाले खाना पस्केर खुवाउनु भएको मलाई राम्रै थाहा छ । गाउँमा खेतिपाती बजारमा व्यापार थियो । हाम्रो ठुलो परिवारका लागि आयश्रोतको बलियो आधार पनि थियो । यो घरको पुरापुर सदुपयोग पनि भएको थियो । बजारमा ऊ बेलाको हाम्रो व्यापार खाना खाजा खुवाउने त्यतिबेलाको आधुनिक होटल थियो । त्यतिबेला बागलुङमा पहिलो पटक बिबि आर्टले लेखेको साईनबोर्ड राखेर खुलेको र चलेको हाम्रै 'धौलागिरी होटल' हो । अझ अंग्रेजीमा 'Hotel Dhaulagiri' पनि लेखिएको थियो । यो देखेर कुईरेहरु पनि आउँथे ।
त्यसपछि साईनबोर्ड राखेर बुकी होटल, लालीगुराँस होटल हुँदै विभिन्न होटल खुल्दै गए । तत्कालिन युवराजधिराज वीरेन्द्र मुस्ताङतिरबाट घुम्दै आउँदा बागलुङ बजारको शिवधाराचोक स्थित श्यामप्रसादको घरमा खाना खाएर बसेका रहेछन । यसपछि श्यामप्रसादको होटललाई अलिखित रुपमा 'रोयल होटल' भनियो तर साईन बोर्ड कहिल्यै लेखेको देखिएन ।
हिंजोका दिनमा होटल गर्ने मान्छेलाई मान्छे नै नगन्ने, घृणा गर्ने गरिन्थ्यो । अचेल बैंकबाट ऋण लिन पनि होटल खोलिन्छ । उद्देश्य अनुरुप होटल चल्न सक्दैनन् । तैपनि होटल खोल्नेवाला एक्कासी पर्यटन उद्यमी कहलिन्छ । ऊ सम्मानित हुन्छ । चाँजोपाँजो मिलायो र मौकामा चौका हान्यो भने समानुपातिकमा सांसद हुँदै मन्त्री पनि पड्काई दिन्छ ।
उहिले यो हुनु असंभव थियो । आफ्नो ससानो लगानी शीप क्षमता र जाँगर लगाएर ईमान्दारपुर्वक जीवन यापन गर्नेलाई प्रोत्साहन र हौसला दिनुको सट्टा दुरुत्साहित गरिन्थ्यो । आहा! कति मिठो ! भन्दै खाना खाने तर त्यहि मिठो खुवाउने होटलेलाई राम्रो भन्न कहिल्यै नजान्ने ऊ बेलाको सामाजिक बाताबरण थियो । अहिलेका अधिकाँश होटलका खानामा खानाको स्वाद केहिपनि छैन नक्कलि छ, आतिथ्यतामा हार्दिकता र आत्मियता पटक्कै छैन, आतिथ्यता छ त शुद्ध व्यापारी छ । तैपनि आहा ! मिठो खुवाउनु भो भन्दै धन्यवाद सहित पचास शयको नोट मुटुमा गाँठो पारेर बक्सिस (टिप्स) फाल्नुपर्छ ।
होटलका खानाका स्वादहरु घरकी मूलि बुढीबज्यैले पकाएको जस्तो अत्यन्त स्वादिलो हुन्थे । बजारमा पाईने सबैकुरामा शुद्धता हुन्थ्यो । त्यस्ता मिठामिठा खाना खाएर पनि नमिठो बचन सहँदै खातामा उधारो लेख्नुपर्ने चलन थियो । खाना खाईदियो भने राती सुतेको बेडचार्ज मुफतलालमा दिईन्थ्यो । पाहुनालाई राती बास बसेको पैसा लिनहुँदैन भन्ने सामाजिक नैतिक बन्धन थियो । त्यस्तो सुविधायुक्त सेवा पाउँदा पनि खाना खाएर भाग्ने पैसा नतिर्ने चलन पनि कम्ता थिएन ।
पाँचबर्षसम्म पनि खानासाना खाएको उधारो नतिर्नेलाई हाम्रो होटलको सूचना पाटीमा 'खाना खाएर पैसा नतिर्ने ज्युँदै मरेकाहरुको नामावली' शीर्षक लेखेर नाम प्रकाशित हुन्थ्यो । पसल भागको धूरी थाम्ने घरको बीच्चमा रहेको काठको मुख्य थाममा सूचना टाँस हुन्थ्यो । सूचना टाँस गरेको एकघण्टा भित्रैमा बजारभरी हल्ला फैलिन्थ्यो । यो सूचीमा नाम परेको थाहा पाएर पैसा नतिरेर लुकेर बसेकाहरु आँफै आएर रिसाउँदै पैसा तिरेर डटपेनले नाम मेटेर जान्थे । घटिमा रू.२७/- (सत्ताईस) र बढीमा रू. २२४/- (दुईशय चौबीस ) का सत्ताईसै जनाको नाम नजिकका सरकारी अफिसमा गै टाईप गराएर ल्याउने मै थिएँ । अहिले संझदा निकै हाँसो उठ्छ ।
अहिले जस्तो जिम्मेवार प्रशासनिक निकायमा बस्ने जिम्मेवार प्रशासकहरु जथाभावी होटलसोटलमा पसेर खाँदैनथे । चिनजान र हेलमेल बढीभयो भने न्यायिक प्रकृयामा आँचपुग्ने ठानेर जथाभावि सम्पर्कमा रहँदैनथे । समाजका सबै क्षेत्रमा शान्तिसुव्यवस्था र अमनचयन कायम राख्न प्रशासनिक क्षेत्र अत्यन्त गुप्त थियो । प्रशासनको यो तौरतरिकाका कारण समाजमा कानुनी राज कायम थियो भन्दा अत्तियुक्ति लाग्दैन । तत्कालिन प्रचलित ऐन नियम कानुन विपरित जाने कसैको हिम्मत हुन्थेन ।
यस्तो प्रशासनका कारण ब्यापार व्यवसायमा अधर्म उत्पन्न हुँदैन्थ्यो । नाफाघाटाको पनि धर्म थियो । व्यापारको पनि धर्म थियो । खाद्यान्नमा मिसावट गर्नु महापाप ठानिन्थ्यो । कृत्रिम अभाव श्रृजनागरी मूल्यबृद्धि गरेको थाहा पाए त्यस्ता व्यापारीलाई तत्काल कालोबजारी गर्नेको सूचीमा राखेर प्रचलित कानुन बमोजिम दण्डसँजाए हुन्थ्यो । व्यापारीहरु अधर्म गर्न डराउँथे ।
गाउँबाट उत्पादित बस्तुहरु बजारमा बेचेर घरको जोहो टार्थे गाउँलेले । गाउँलेहरु जति टाँठाबाठा भएर आएपनि बजारियाबाट ठगिन्थे । गाउँबाट बजारमा बिक्रि गर्न ल्याउने गाउँलेहरुले ल्याएको बस्तुको भनेजति मुल्य नपाएपनि वा ठगिएपनि अलिकति उब्रेको सामान पनि उही साहुजीलाई दिएर जान्थे । गाउँलेहरु दानी थिए । गाउँलेको तुलनामा हुनेखाने भएर पनि कतिपय बजारीया साहुजीहरु बास्तवमा छुच्चा थिए ।
त्यतिबेला नापतौलमा चलनचल्तिमा रहेका मानापाथी र शेर धार्नीका माध्यमबाट कतिपय साहुजीले गाउँलेलाई ठग्थे । साहुजीले गाउँले ठग्न आँफुसंग भएकी एउटै स्वास्नीलाई दुईटी बनाउँथे । गाउँलेलाई बिक्रिगर्न पर्योभने -ए कान्छि पाथी ले ! भन्दै उही स्वास्नीले सानो पाथी ल्याईदिने र बेच्ने अनि खरिद गर्न पर्यो भने - ए ठुलि पाथी ले ! भन्दै उही स्वास्नीले ठुलो पाथी ल्याईदिने र खरिद गर्ने गरेको कुराको निकै चर्चा हुन्थ्यो । यो सबै जानकार भएर पनि गाउँलेले कहिंकतै उजुरबाजुर वा कुनै गुनासो गर्दैनथे । त्यसरी ठगिंदा पनि गाउँलेले दान गरेर पुण्य मिलेको नै ठान्थे ।
-----------------------
बागलुङमा तत्कालिन धौलागिरी अञ्चलको अञ्चलाधिश कार्यालय, शाही नेपाली सेना, जिल्ला प्रहरी, अञ्चल प्रहरी गुल्म, जिल्ला हुलाक, घरेलु उद्योग, बागलुङ अस्पताल, पशु अस्पताल, नेपाल बैंक लि. र कारागार शाखा बाहेकका सबै सरकारी कार्यालयहरु भाडाको घरमा बस्थे । हाम्रो घरको वरिपरी नै एकाध बाहेक लगभग यि बाँकी सरकारी कार्यालयहरु भाडामा बस्थे । सरकारी अफिसलाई भाडायोग्य घर हाम्रै एरियामा थिए । बाहिरबाट आउने अधिकाँश सरकारी कार्यालयका कर्मचारी हाम्रै होटलमा आएर ठोक्किन्थे । जब हामीकहाँ उनीहरु आउँथे, म उनीहरुसंग सजिलै नजिकिन्थें । सबैको मायाँ पाउने त मेरो स्वभावै थियो । त्यसैले सबैले मायाँ पनि गर्थे ।
कसैबाट सुनेको थिएँ हुलाक टिकट संकलन गर्नेले प्रसिद्धि पाएको कुरा ! त्यहि टिकट संकलन गर्ने कुराले मलाई 'टच्' गरेको थियो । त्यतिबेला हुलाक टिकट बेगर चिट्ठी-पत्र आदान-प्रदान हुन्थेनन् । यि सबै जिल्ला हुलाक कार्यायले गर्थ्यो । त्यसैले जिल्ला हुलाक कार्यालयको भाऊ पनि चर्कै थियो । प्रत्येक कार्यालयमा दैनिक सयौं चिट्ठीपत्र आना-जाना गर्थे । चिट्ठीपत्रमा प्रयोग भएका टिकट मैले संकलन गर्न थालें । यसोगर्न थालेदेखि मलाई संझेर सप्पैले टिकट ल्याईदिन्थे । यो त्यहि सोझोपनको फाईदा थियो । यो क्रम निरन्तर निरन्तर चलिरह्यो । अत्यन्त दुर्लभ खालका टिकट पनि म संग भए । भारत बाहेक तेश्रो मुलुकका टिकट मुश्किलले भेटिन्थे । तर थिए । हुलाक टिकटमा अंकित तस्वीरहरुले त्यो देश समय र परिवेशको बारेमा जान्न बुझ्न मद्दत गर्थ्यो । त्यस्ता हुलाक टिकट मैले करिब दशबर्षसम्म निरन्तर संकलन गरेर राखेको थिएँ । यौटा प्लाष्टिकको थैलो हुलाक टिकटले भरिएको थियो ।
मेरा एकजना आदरणीय अंकलले त काठमाण्डौमा बस्दा एल्बममा फोटो सजाएर राखेझैं टिकटहरु राख्नुहुँदो रहेछ । वहाँले मैले जतनका साथ टिकट संकलन गरेको देखेर त्यो एल्बमनै मायाँपुर्वक मलाई ल्याएर दिनु भएको थियो । त्यसपछि मुल्यवान र महत्वपुर्ण टिकटहरु एल्बम बनाएर राख्न सिकेको थिएँ । एकातिर थैलोभरी अर्कोतिर एल्बमभरी पुराना टिकट देखेर म मख्ख थिएँ । यो देखेर अरुले पनि मलाई पुलकित गराउँथे । झन मख्ख पर्थें ।
यत्तिकैमा, विस्तारै म जान्ने बुझ्ने भएछु । जुन दिनदेखि रातलाई दिन भन्न सकिन, दिनलाई रात भन्न सकिन । कालोलाई कालै सेतोलाई सेतै भन्न थालें । हुने नहुने छुट्ट्याउन थालें । त्यसदिनदेखि म विस्तारै अप्रिय हुन थालें । दिनदहाडै चारैतिर अशुभ संकेतका काला झिल्काहरु देखिन थाले । नीलो आकाशमा अँध्यारा झिल्काहरु झर्न थाले । नीलो आकाशमा कालो बिजुलि चम्कन थाल्यो । चट्याङ पर्न थाल्यो । असत्यलाई सत्यले जित्न खोज्नु मेरो भूल भयो । सबै अशुभ मै माथि खनियो । बज्रपात भयो । मेरा दु:खले आर्जेका सबै हुलाक टिकट कालो बिजुलिको चट्याङ परेर खरानी परे । दुर्भाग्य, त्यो खरानीको एक चिम्टी अस्तुपनि मैले देख्न पाईन । त्यो संझेर अहिले पनि म भक्कानिन्छु ।
अहिले त बिर्सें तर त्यतिबेला हुलाक टिकट र हुलाकसंग संबन्धित धेरै विषयमा म जानकार थिएँ । ९ अक्टुवर १८७४ मा अन्तरराष्ट्रिय हुलाक संगठन र सन १९७४ मा नेपालले यसको सदस्यता प्राप्त गरेको कुरा त अहिले पनि कण्ठ छ । टिकट संकलन गर्ने शौखले विस्तारै समयक्रममा हुलाकमै जागिर खान लालायित गरायो ।
सौभाग्य भनौं या दुर्भाग्य, हुलाक सेवा समुहमा खुलेको रापअ तृतीय श्रेणीको पदमा परीक्षाको तयारी गर्दागर्दैमा नियतिले विदेशतिर हुत्त्यायो । तर बर्षेनी विश्व हुलाक दिवस नौ अक्टुवरका दिन माथिका यावत कुराहरु संधै मेरो स्मृतिमा ताजा बनेर आउँछन् । अन्त्यमा, मेरा मिठा नमिठा विस्मृतिलाई स्मृतिमा ल्याउने विश्व हुलाक दिवसको उपलक्ष्यमा सबैसबैमा शुभकामना ! धन्यवाद !!!
बागलुगं
हाल: मेरिल्याण्ड अमेरिका